ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बैंकले बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूलाई तत्काल खाद्यान्न एवं बासस्थानको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सघाउ पुर्याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।
बैंकले सामाजिक उत्तरदायित्वलाई राष्ट्रिय संकट र विपद्को घडीमा नागरिकको घाउमा मलम लगाउने मुख्य कर्तव्यका रूपमा लिँदै आएको छ। यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्हरूमा बैंकले अग्रपंक्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको छ।











