केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो आयो । आयल निगमले अभाव छैन भनेर प्रष्टिकरण नै दिनुपर्यो । त्यसपछि नेपालगन्ज र धनगढीमा पनि यो समस्या देखियो । अहिले राजधानी काठमाडौँमा पनि उपभोक्ताले ग्यास पाउन छोडेका छन् ।
सिलिण्डर ‘होल्ड’ हुँदा समस्या
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार अहिले आयात वा ढुवानीको समस्या नभई उपभोक्ताको घर–घरमा सिलिण्डर ‘होल्ड’ हुँदाको असर देखिएको हो । मध्यपूर्वी देशमा चर्किएको युद्धका कारण इन्धनको आपुर्तिमा समस्या सिर्जना हुन सक्ने भन्दै आयल निगमले फागुन २९ गतेदेखि ७.१ किलोग्रामको ग्यास मात्रै बजार पठाउने नीति लियो ।
आपुर्ति क्रमशः सहज हुँदै गएपछि असार ३१ गतेबाट भरी (१४.२ किलो) सिलिण्डर ग्यास बजार पठाउन थालियो । तर, त्यसअघि नै ग्यासको आपुर्ति प्रभावित हुने त्रासले विगतमा एउटा सिलिण्डर राख्नेले अहिले २ वटा र विगतमा २ वटा राख्नेले अहिले ३ देखि ४ वटा सिलिण्डर राख्ने गरेको डिलरहरु बताउँछन् । जसका कारण १४.२ किलोकै भरी सिलिण्डर ग्यास बजार पठाउने भनिएपनि सिलिण्डरहरु उपभोक्ताको घर घरमा होल्ड भएकाले अहिलेको समस्या सिर्जना भएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द बताउँछन् ।
‘भारतबाट सामान्य अवस्थामा जति आउने हो, त्यति आइरहेकै छ । तर, सिलिण्डर होल्ड भएका कारण उद्योगले ग्यास भर्न नपाउँदा अहिलेको अवस्था सिर्जना भयो’ उनी भन्छन्, ‘देशभरी १ करोड ५० लाख सिलिण्डर छन् । तिमध्ये ५० लाख जति विभिन्न होटल तथा रेष्टुरेन्टमा होलान्, बाँकी १ करोड घरायसी ग्राहकले नै खपत गर्ने हुन् । अहिले ठूलो संख्यामा सिलिण्डर होल्ड हुँदा ग्यास भर्न पाइएन ।’
समस्या समाधान हुँदा २ देखि ३ महिना लाग्ने
उद्योगी चन्दका अनुसार नेपालमा ७.१ किलो ग्यास बिक्री गर्ने नियम बनाइएपछि ग्यास बुलेटमै होल्ड गर्नुपर्ने बाध्यता आईप¥यो । सिलिण्डरको संख्या उहीँ मात्रामा खपत भएपनि आधा सिलिण्डर मात्रै बिक्री गर्न भनिएपछि ग्यासको खपत घट्यो । फागुन २९ देखि अहिलेसम्म करिब ४५ हजार मेट्रिक टन ग्यास कम आएको अध्यक्ष चन्दको भनाई छ । ‘यो भारतले नपठाएर, आपुर्तिमा अवरोध भएर होइन’ उनी भन्छन्, ‘खपत कम भएकाले आयात कम भयो ।’
अब अहिले आयात सामान्य अवस्थाकै सरह भइरहे पनि फागुन २९ देखि असार ३१ सम्मको आधा सिलिण्डर नीतिका कारण देखिएको प्रभाव समाधान हुन २ देखि ३ महिना लाग्ने उनको भनाइ छ । यसका लागि सामान्य अवस्था सरह अहिले भइरहेको आयातले मात्रै नपुग्ने र थप १ लाख मेट्रिक टन ग्यास चाहिने अध्यक्ष चन्द बताउँछन् ।
‘एकैपटक थप एक लाख मेट्रिक टन ल्याउन सम्भव हुँदैन । भारतले पनि पठाउन सम्भव छैन’ उनी थप्छन्, ‘अब मासिक रुपमा २०/२५ प्रतिशतका दरले आयात बढाउँदा २ देखि ३ महिना लाग्छ । हामीले यस्तो समस्या आउँछ भनेरै सरकारलाई ७.१ किलोको नियम लामो समय लागू नगरौँ भनेका थियौँ ।’
सहज हुन एक साता लाग्न सक्छ : निगम
नेपाल आयल निगमले पनि आधा सिलिन्डरबाट पुरा सिलिन्डरमा जाँदा केही समस्या देखिएको स्वीकार गरेको छ। आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भारतबाट माग अनुसार नै पर्याप्त ग्यास आयात भईरहेको छ। उनका अनुसार ग्यास आयातमा कुनै समस्या छैन ।
तर हालै ७.१ किलो ग्यास अर्थात आधा सिलिन्डर ग्यासबाट १४.२ किलो ग्यास अर्थात् पुरा ग्यास वितरण हुन थालेपछि केही समस्या देखिएको उनले बताए। उनका अनुसार अहिले उपभोक्तामा ग्यास सिलिन्डर होल्ड भएको छ। होल्ड भएका सिलिन्डर बाहिर आएसंगै ग्यास सहज रुपमा नै उपलब्ध हुने उनको भनाई छ। उनका अनुसार होल्ड भएका ग्यास सिलिन्डर बाहिर आएर ग्यासको उपलब्धता पूर्ण रुपमा सहज हुन ७ देखि १० दिन लाग्न सक्ने अनुमान गरिएको छ। उनका अनुसार असार ३१ पछि आधा सिलिन्डर ग्यास भरिएको छैन ।
आयल निगमले अहिले ग्यास उद्योगहरुसँग दैनिक रिपोर्ट लिन थालेको छ । कुन उद्योगले कुन डिलरलाई कति मात्रामा ग्यास दिइएको छ भन्ने विवरण निगमले हरेक दिन संकलन गर्ने गरेको छ ।
इरान र अमेरिका बीचको तनाव पुनः बल्झिन खोजेको र इन्धनको आपुर्तिमा फेरि अवरोध हुन थालिसकेका समाचारहरुका कारण उपभोक्ताले अनावश्यक रुपमा ग्यासको सञ्चय गर्दा सिलिण्डर अभाव हुने जोखिम बढेको भन्दै आयल निगमले आपुर्तिमा कुनै समस्या नरहेको बताउँदै अनावश्यक रुपमा ग्यासको सञ्चय नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।









