Wednesday, June 10, 2026
spot_img

इरान युद्द: महँगीको ठूलो मारमा पर्दै नेपाली, रेमिट्यान्स घटे समस्या झन् विकराल

spot_img
spot_img

इरानमा जारी द्वन्द्व (अमेरिका-इजरायलसँगको तनाव) र पश्चिम एशियाको अस्थिरताका कारण अन्तर्राष्ट्रिय तेल बजारमा तीव्र उछाल आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य एकै पटक दोहोरो अंकले बढाएको छ । पेट्रोलको मूल्य लिटरमै १५ रुपैयाँले बढेर १५७ रुपैयाँबाट १७२ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य लिटरमै १० रुपैयाँले बढेर १४२ रुपैयाँबाट १५२ रुपैयाँ प्रतिलिटर पुगेको छ । मट्टीतेलमा पनि प्रतिलिटर १० रुपैयाँको वृद्धि भएको छ ।

नेपाल आयल निगमले आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै घाटा खाएर भएपनि पेट्रोलियम पदार्थको मूल्य बढ्नु पर्ने जति नबढाएको जनाएको छ । निगमका अनुसार भारतबाट आएको खरिद मूल्यकै तुलनामा मूल्य कायम गर्ने हो भने पेट्रोलको मूल्य प्रतिलिटर १८८ रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर १९६ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य २१ सय २६ रुपैयाँ कायम हुने छ । यदि इरानमा जारी द्वन्द्व निरन्तर चलेमा १५ दिनमै नेपालमा पेट्रोलियम पदार्थको यो मूल्य कायम हुन सक्छ ।

अब इन्धनको मूल्य बढेसंगै यसको प्रभाव पूरै अर्थतन्त्रमा पर्ने देखिएको छ । नेपालले आफूलाई चाहिने जति सबै पेट्रोलियम पदार्थ भारतबाट आयात गर्छ र भारतले अन्तर्राष्ट्रिय बजारबाट (कच्चा तेल) किन्छ । इरान-इजरायल द्वन्द्वले होर्मुज जलमार्गमा आपूर्ति प्रभावित भएपछि कच्चा तेलको मूल्य बढेको छ । आयल निगमले हरेक १५ दिनमा भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यको आधारमा मूल्य समायोजन गर्छ । युद्द निरन्तर चलेमा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने निश्चित छ ।

सार्वजनिक यातायातको भाडा बढ्ने

डिजेल मुख्य इन्धन भएकाले अब बस, माइक्रो, ट्याक्सी सञ्चालकहरूले भाडा बढाउने छन् । यातायात व्यवसायीहरुले तत्काल भाडा समायोजनको माग गरिसकेका छन् । यातायात व्यवस्था विभागले पनि भाडा समायोजनको लागि आवश्यक छलफल थालिसकेको छ । केही दिनमै सार्वजनिक यातायातको भाडा बढ्ने निश्चित जस्तै छ । यसबाट काठमाडौं उपत्यकासहित देशभर दैनिक लाखौं यात्रु प्रभावित हुनेछन् । स्कूल, अस्पताल र कार्यालय जाने सर्वसाधारणको दैनिक खर्च बढ्नेछ ।

ढुवानी खर्च बढ्ने र वस्तुको मूल्य आकाशिने

डिजेलको मूल्य बढेसंगै ट्रक, कन्टेनर, जिप जस्ता सामान ढुवानी गर्ने यातायातको लागत बढ्छ । तरकारी, फलफूल, चामल, चिनी जस्ता दैनिक उपभोग्य वस्तुको ढुवानी महँगो हुँदा बजार मूल्य स्वतः बढ्छ । किसानबाट शहरसम्म ल्याउने लागत बढेपछि तरकारीको मूल्य २०-३० प्रतिशतसम्म उकालो लाग्न सक्छ । औद्योगिक कच्चा पदार्थ र निर्माण सामग्रीको मूल्य पनि प्रभावित हुन्छ । यसले सबै उपभोग्य वस्तुको मूल्य बढाउने छ ।

साथै यस्तो अवस्थामा आम उपभोक्तालाई भविष्यमा दैनिक उपभोग्य वस्तु नपाइएला भन्ने चिन्ताले सताउँछ । यसो हुँदा उनीहरुले भोलिको लागि भनेर आवश्यक भन्दा बढी खरिद गर्न खोज्छन् । जसले गर्दा ति सामग्रीको आपूर्ति शृंखला बिथोलिएर बजारमा ति सामग्रीको अभाव समेत हुन जान्छ ।

महँगीले सताउने

इन्धन मूल्यवृद्धि ‘कस्ट-पुस इनफ्लेसन’ को मुख्य कारण बन्छ । खानेपानी, विद्युत्, औषधि र अन्य क्षेत्रमा समेत अप्रत्यक्ष प्रभाव पर्छ । नेपाल राष्ट्र बैंकको मुद्रास्फीति लक्ष्य ५-६ प्रतिशत छ, तर यो वृद्धिले महँगी बढ्ने देखिन्छ । लामो समयसम्म द्वन्द्व चलेमा महँगी नियन्त्रण गर्न कठिन हुन्छ । महँगीको प्रत्यक्ष मारमा निम्न र मध्यम वर्ग धेरै प्रभावित हुने छन् ।

सबै सामानको मूल्य बढेपछि निश्चित आम्दानी भएकाहरुले अब पहिलेको भन्दा कम सामान किन्न सक्छन् । यसलाई ‘रियल इनकम’ घट्ने भनिन्छ । दैनिक ज्यालादारी मजदुर, निम्नवर्गीय परिवार र पेन्सनधारी सबैभन्दा बढी मारमा पर्छन् । खर्च बढ्दा बचत शून्य हुन्छ, ऋण बढ्छ र स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकतामा कटौती गर्नुपर्ने बाध्यता आउँछ । महँगीले गरिबी दर बढाउने र सामाजिक असन्तुष्टि निम्त्याउने जोखिम छ ।

वरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीका अनुसार अहिलेको इरान युद्दले ७० प्रतिशत नेपालीहरूलाई सोझो र अति गम्भीर प्रभाव पर्नेछ । जसमा अति विपन्न र तल्लो मध्यम वर्ग समेटिन्छ । २८ प्रतिशत मध्यम वर्ग पनि युद्दको कारणबाट प्रभावित हुने उनको भनाई छ ।

रेमिट्यान्स कम भएमा थप मार

नेपालको अर्थतन्त्र रेमिट्यान्समा अत्यधिक निर्भर छ । मध्यपूर्व देशहरुमा ठूलो संख्यामा नेपाली कामदार छन् । द्वन्द्व लम्बिएमा रोजगारी गुम्ने, नयाँ श्रम स्वीकृति रोकिने र रेमिट्यान्स आधा घट्न सक्ने अनुमान छ । जसबाट विदेशी मुद्रा सञ्चिति घट्छ, आयात गर्न कठिन हुन्छ, बैंकिङ लगानी घट्छ र घरेलु उपभोग घट्छ । यसले महँगी नियन्त्रणलाई झन् चुनौतीपूर्ण बनाउँछ र नयाँ सरकारलाई आर्थिक संकटको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेल छोटो समयमा इरानको द्वन्द्व समाधान नभएमा करिब ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुने बताउछन् । उनका अनुसार मध्यपूर्वका १७ वटा देशमध्ये १५ वटा देशबाट नेपालमा रेमिट्यान्स भित्रिने गरेको छ । यसमा पनि मध्यपूर्वका ४ वटा देशहरुबाट भित्रिने रेमिट्यान्सको हिस्सा कुल रेमिट्यान्समा ३५ प्रतिशत छ । समग्र देशमा तत्काल यसको समस्या नदेखिएपनि रेमिट्यान्स पठाउनेहरुको घरमा भने तत्काल समस्या देखिने उनको भनाई छ।

उनका अनुसार युद्दको असर पर्यटनमा पनि पर्ने छ । ६ महिनाको अवधिमा ६ लाख पर्यटक आउँदा मध्यपूर्वबाट आउने पर्यटक कम भएपनि सोहि बाटो हुँदै आउने पर्यटक बढी रहेकाले यसको असर पर्यटन क्षेत्रमा समेत देखिने उनको भनाइ छ । मध्यपूर्वको द्वन्द्वको कारणले इन्धनको मूल्य बढ्ने र त्यसको असर उत्पादन मूल्यमा पनि गएर जोडिने उनको तर्क छ । सुनचाँदीको माग बढ्ने र विदेशी विनिमय सञ्चितिमा पनि यस द्वन्द्वले प्रभाव पार्ने उनले बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली पनि मध्यपूर्वमा लाखौँ नेपालीहरु कार्यरत रहेको र युद्ध लम्बिए त्यसको सोझो असर नेपालीहरुको रोजगारी र रेमिट्यान्समा पर्ने बताउँछन् । उनका अनुसार रेमिट्यान्स र बाह्य रोजगारीसहित विश्व आर्थिक अनिश्चितताले पर्यटन क्षेत्रमा समेत असर पार्ने जोखिम छ ।

विद्युतलाई प्राथमिकता नदिनु गल्ती: व्यवसायी पाण्डे 

व्यवसायी प्रबलजंग पाण्डे युद्द लम्बिदै जाँदा विश्वको आपूर्ति शृंखलामा गम्भिर धक्का लाग्ने बताउँछन् । केही समय नाकाबन्दीमा जस्तो आत्मनिर्भरमुखी अर्थतन्त्रको कुरा गरेर राष्ट्रवादी हुने तर छिट्टै ति विषय बिर्सने गरेको गरेको भन्दै उनले दीगो र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता औल्याएका छन् ।

यदि कृषिमा आत्मनिर्भर भएको भए, यदि सरकारले पेट्रोलियम पदार्थको राजश्वको लोभ नगरेर विद्युतीय सवारीलाई अझ प्राथमिकता दिएको भए, ग्यासलाई विद्युतीय चुलोले विस्थापित गरेको भए, केही मात्रामा भएपनि पेट्रोलियम पदार्थ र ग्यास उत्खनन गर्न सकेको भए, काठमाडौँ तराई विद्युतीय रेलमार्ग संचालन गर्न सकेको भए अहिलेको युद्दको असर नेपाल र नेपालीलाई कम पथ्र्यो भन्ने उनको भनाइ छ ।

विदेशबाट पठाएको रेमिट्यान्सबाट आयात गर्ने गरिएको, आयातबाट सरकारले राजश्व उठाएको पैसाले तलव दिनु परेको उनी बताउँछन् । उत्पादनमा जोड नदिँदा मुलुक आर्थिक रुपमा खोक्रो भईसकेकोले यस्तो अवस्थामा विदेशमा काम गरिरहेका सबै नेपाली देश फर्केर रेमिट्यान्स ठप्प भए मुलुक कहाँ पुग्ला भन्ने चिन्ता व्यवसायी पाण्डेको छ ।

समग्रमा हेर्दा इरान द्वन्द्व चाँडै समाधान नभएमा महँगीको मार अझ बढ्नेछ र रेमिट्यान्स घटेमा देशले ठूलो आर्थिक झट्का बेहोर्नु पर्ने हुन सक्छ । सरकार, व्यवसायी र उपभोक्ता सबैले सतर्क रहनुपर्ने समय आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोराही सिमेन्टको ४ करोड कित्ता बढी शेयरको लकईन अवधि असारमा सकिँदै

घोराही सिमेन्ट इन्डस्ट्रीज लिमिटेडको ४ करोड कित्ता बढी शेयरको...

एमसीसी अन्तर्गत दुई नयाँ सबस्टेशन र २९७ किलोमिटर प्रसारणलाइन निर्माण सुरु

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज...

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...
spot_img