अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) लटरी चिट्ठा कार्यक्रमलाई तत्कालका लागि स्थगित गरेको छ। यो कार्यक्रमलाई ‘ग्रिन कार्ड लटरी’ पनि भनिन्छ, जसले कम आप्रवासन भएका देशका नागरिकहरूलाई अमेरिकामा स्थायी बसोबासको अवसर प्रदान गर्दथ्यो।
गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यो निर्णय ब्राउन युनिभर्सिटी र एमआईटीमा भएको गोलीकाण्डसँग जोडेर घोषणा गरेकी छिन्। गोलीकाण्डका संदिग्ध क्लाउडियो मानुएल नेभेस भालेन्टे सन् २०१७ मा डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको थिए र ग्रिन कार्ड प्राप्त गरेको खुलेको थियो।
यो निलम्बनले डीभी कार्यक्रमअन्तर्गत चलिरहेका आवेदनहरूको प्रक्रिया रोकेको छ। डीभी कार्यक्रमले वार्षिक रूपमा करिब ५०,००० देखि ५५,००० ग्रिन कार्ड वितरण गर्दथ्यो।
नेपाली पनि प्रभावित
नेपाल डीभी लटरीमा सबैभन्दा बढी सहभागी हुने देशहरूमध्ये एक हो। हरेक वर्ष लाखौं नेपालीले डीभी भर्दछन् र हजारौंले जितेर अमेरिका जाने अवसर पाउँछन्। उदाहरणका लागि, डीभी–२०२५ मा ३,८६१ जना नेपाली छनोट भएका थिए भने डीभी–२०२६ मा पनि नेपालका लागि छुट्टै कटअफ नम्बर तोकिएको थियो। यो निलम्बनले नेपालीहरूको अमेरिका बसाइँको सपनामा ठूलो धक्का लाग्ने भएको छ।
ट्रम्प प्रशासनले यो कार्यक्रमलाई लामो समयदेखि सुरक्षा जोखिमको रूपमा हेर्दै आएको थियो। यद्यपि यो निलम्बन कानुनी चुनौतीको सामना गर्न सक्ने बताइएको छ।









