उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न मुलुकबाट नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर चिह्न’ (एनएस) अनिवार्य बनाइनुपर्ने बताएका छन् ।
नेपाल गुणस्तर परिषद्को बैठकमा गुणस्तर मापनका मापदण्ड सुधार गर्ने, बजार अनुगमन प्रभावकारी बनाउने र गुणस्तरहीन वस्तु आयातमा नियन्त्रण गर्ने विषयमा भएको छलफलमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
‘उपभोक्ता हितलाई ध्यानमा राख्दै नेपाली बजारमा आउने वस्तुमा नेपाल गुणस्तर अनिवार्य लागु हुने गरी अविलम्ब कार्य प्रारम्भ गर्नुपर्ने भएको छ,’ मन्त्री भण्डारीले भने, ‘नेपालमा दैनिक उपभोग्यदेखि औद्योगिक प्रयोजनका धेरै सामान विदेशबाट आयात भइरहेका छन् । तीमध्ये धेरै वस्तु गुणस्तरहीन छन्, जसको प्रत्यक्ष असर आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र आर्थिक हानिमा देखिएको छ । त्यसैले अब नेपाल आउने वस्तुहरूमा अनिवार्य रूपमा नेपाल गुणस्तर लागु गरिनु अत्यावश्यक छ ।’
उक्त बैठकमा नेपालमै उत्पादन हुने वस्तुहरूमा कसरी ‘नेपाल गुणस्तर चिह्न’ प्रदान गर्ने, गुणस्तर मापनका मापदण्ड सुधार गर्ने, बजार अनुगमन प्रभावकारी बनाउने तथा गुणस्तरहीन वस्तु आयातमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समेत छलफल भएको छ ।
नेपाल गुणस्तर परिषद् अन्तर्गत उपभोक्ता हितका लागि प्रभावकारी नीति निर्माण तथा गुणस्तर अनुगमन प्रणाली बलियो बनाउने विषयमा मन्त्रालयले प्राथमिकता दिइरहेको समेत बैठकमा उल्लेख गरिएको थियो ।












