१७औँ संस्करणको ‘नाडा अटो शो’ भदौ ३ गतेबाट ८ गतेसम्म आयोजना हुँदैछ । हरेक वर्ष दशैँ, तिहार जस्ता ठूला चाडवाडको मुखैमा आयोजना हुने ‘अटो शो’ले ‘फेस्टिभ भाइप्स’ पनि दिँदै आएको छ । सवारी साधनका आयातकर्ता कम्पनीहरुले विभिन्न अफर ल्याउने त छँदैछ, साथमा अटोमोबाइल्स इन्डष्ट्रिमा आएका नयाँ नयाँ टेक्नोलोजी प्रस्तुत गर्ने थलो पनि नाडा अटो शो बन्दै आएको छ ।
यसपालीको ‘नाडा अटो शो’मा खास के आउँदैछ ? भिजिटर्सले विगतको भन्दा के फरक पाउने छन् ? र अटो शोबाट नाडाले दिन चाहेको सन्देश के हो ? लगायतका विषयमा बिजनेश पानाले नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीसँग कुराकानी गरेको छ ।
‘नाडा अटो शो’ अटोमोबाइल्स पारखीको पर्खाइको शो बन्ने गरेको छ । यसपालीको तयारी चाहिँ कहाँ पुगेको छ ?
नाडा अटो शो अब केवल अटोमोबाइल्स व्यवसायीहरुको मात्रै शो होइन । यो नेपालीहरुकै एउटा चाड, उत्सव र वार्षिक क्यालेन्डर नै बनिसकेको छ । यसकारण हामीले विगतको गरिमा कायम राख्दै, अझ बढी भव्य कसरी बनाउने भनेर हामी अहिले त्यसैको तयारीमा छौँ ।
अटो शो प्रदर्शनी पनि हो । यो भनेको गाडी, मोटरसाइकल र अरु अटो कम्पोनेन्टहरु हेर्ने, बुकिङ गर्ने स्थल पनि हो । व्यवसायीहरुले वर्षभरीमा बिक्री हुने सवारी साधनको ४० प्रतिशतभन्दा बढी बुकिङ लिने र बिक्री गर्ने भनेकै यहीँ समयमा हो ।
यसकारण हामीले यसलाई चुस्त दुरुस्त राख्ने गरी तयारीलाई भव्य रुपमा अघि बढाइरहेका छौँ । सिङ्गो नाडा अहिले यसमा केन्द्रित भएको छ ।
यसवर्ष अटो शो हेर्न आउने अवलोकनकर्ताहरुले विगतको भन्दा के फरकपनको अनुभव गर्न पाउलान् ?
मैले अघि पनि भने, अटो शो एउटा प्रदर्शनी पनि हो । यो कुरालाई हामीले बिर्सनु हुँदैन भनेर सकेसम्म नयाँ नयाँ प्रविधिहरु भित्र्याउने काम नाडाले हरेक वर्ष गर्दै आएको छ । यसैकारण हामीले यसपाली UNITREE रोबोट्स् र Deepal eVTOL UAV (उड्ने ट्याक्सी) जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिलाई भित्र्याउँदैछौँ ।
नाडाले जे पनि गर्छ, ‘बिग ब्याङ्क क्रियट’ गर्छ । यसपाली हामीले देखाउन लागेको प्रविधि जस्तो बिग ब्याङ्क यो दशकमा अर्को केही पनि हुन्छ जस्तो लाग्दैन । त्यसको प्रत्यक्ष अनुभव यसपालीको नाडा अटो शोले दिलाउने छ ।
उपभोक्ताहरुको चाहना बढ्दो छ, अहिलेको पुस्ता आफैँ पनि टेक्नोलोजी फ्रेण्डली छ । उनीहरुका आवश्यकतालाई अटो शोमार्फत कसरी सम्बोधन गरिन्छ ?
मेरा लागि उपभोक्ता भनेका भगवान हुन् । म सेल्स एण्ड मार्केटिङ ब्याकग्राउण्डबाट आएको व्यक्ति भएको हुनाले हामी जहिल्यै पनि ‘कस्टमर इज गड’ भन्ने कुरामा विश्वास गर्छौँ । यसकारण के गर्दा उपभोक्ताको इच्छा, चाहना र आकांक्षा अनुसारका टेक्नोलोजीहरु ल्याउन सकिन्छ भनेर हामीले ब्यापक छलफल पनि गर्यौँ । नाडाले जहिल्यै पनि उपभोक्ताका इच्छा, आकांक्षालाई समेट्दै आएका छ ।
यसमा उहाँहरुले पाउने नयाँ नयाँ प्रविधिसँगको साक्षात्कार होस् की, नयाँ नयाँ ब्राण्डहरु होस् की, नयाँ नयाँ स्किमहरु हुन् । वा, अवलोकन गर्दा पाउने स्टलको स्तर नै होस् । यी सबैमा हामीले उपभोक्तालाई केन्द्रमा राखेर यसपाली अटो शो आयोजना गर्दैछौँ ।
‘नाडा अटो शो’को ‘टार्गेट पिपुल’ चाहिँ को हुन् ?
हामीले माथि पनि कुरा गर्दा भन्यौँ, नाडा अटो शो केवल नाडाको मात्रै कार्यक्रम होइन । यो भनेको नेपालीकै एउटा चाड भइसकेको छ । चाड कुनै निश्चित वर्गको मात्रै हुँदैन, सबैको हुन्छ । नेपालमा बस्ने सबैका लागि नाडा अटा शो हो ।
मेरा लागि, व्यवसायिक दृष्टिकोणबाट कुरा गर्ने हो भने अटो शोमा अवलोकनकर्ताहरु आएर नाडाका सदस्यहरुले राखेका स्टल भिजिट गर्ने, बुकिङ गर्ने, खरिद गर्ने विषय पनि उत्तिकै महत्वको विषय हो । यो पाटो त छँदैछ, तर नाडा अटो शो सबै नेपालीहरुको शो हो ।
प्रतिस्पर्धा कै शैलीमा अर्को संस्थाले पनि शो आयोजना गरेको छ । सायद निमन्त्रणा आएरै होला, तपाई पनि अवलोकनका लागि जानु भएको थियो । आफैँ गएर हेरेको हुनाले त्यो शो र नाडाले गर्ने शोमा तुलनात्मक रुपमा के फरक हुन्छ ?
नेपालमा विगतको अभ्यासहरु हेर्ने हो भने धेरै एक्स्पोहरु भए, कार्निभलहरु भए । तर, नाडा जहिल्यै पनि भिन्न र उत्कृष्ट रहँदै आएको छ । नाडाले जहिल्यै पनि प्रविधि र उपभोक्तालाई केन्द्रमा राखेर शो आयोजना गर्दै आएको छ । जब नाडाले केही चिज गर्छ, अटो सेक्टरलाई अघि बढाउनका लागि नै गर्छ ।
हामीले यसपाली नवप्रवर्तन तर्फको बाटोमा मुलुकलाई कसरी लैजान सकिन्छ भन्ने सोचेर त्यसै अनुसार तयारी गरेका छौँ ।
अहिले पनि कुल जनसंख्याको ७ प्रतिशतले मात्रै गाडी चढिरहेको छ । तर पनि गाडीको संख्या धेरै भयो भनेर बेलाबेला बहस निकालिन्छ । यसमा नाडाको धारणा के हो ?
नाडाले दशकौँदेखि भन्दै आएको विषय हो, अटोमोबाइल्स भनेको अब विलासिताको साधन होइन, आवश्यकताको साधन हो । हामीले बारम्बार भन्दै आएको यो विषय जुन दिन सम्बोधन हुन्छ, त्यतिबेला हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुमा गाडी, बाइकको सहज पहुँच पुग्न सुरु हुनेछ ।
यसका लागि नाडाले देशको उच्च नेतृत्वसँग, सम्बन्धित मन्त्रालयसँग पटकपटक छलफल गरेको छ । हामीले गरेको पटकपटकको छलफलकै कारण केही हदसम्म नीतिगत स्थिरता पनि हुन सुरु भएको छ । यसपालीको बजेटले पनि केही हदसम्म नीतिगत स्थिरताको प्रत्याभूति गरेको छ । विद्युतीय गाडीमा करका दर बढ्ने हल्ला ब्यापक थियो, तर सरकारले कर बढाएन । यो भनेको नाडाले बारम्बार गर्दै आएको छलफलकै उपलब्धि हो ।
यसपालीको अटो शोबाट पनि हामी अटोमोबाइल्स व्यवसायी भनेका देशका मेरुदण्ड हुन् भन्ने सन्देश दिन चाहन्छौँ ।
अन्तिममा, अटो शोका सन्दर्भमा दिनुपर्ने सन्देश के छ ?
म अध्यक्ष भएर आएपछि दोस्रो पटक नाडा अटो आयोजना हुँदैछ । यसपाली हामीले फरक अनुभूति दिलाउने गरी नविनतम् प्रविधिलाई आम नेपालीमाझ प्रस्तुत गर्दैछौँ ।
नाडा अटो शोमा आउँदा आफूलाई रुची लाग्ने केहीँ न केहीँ चिज अवश्य पाइन्छ । देशलाई ठूलो योगदान दिने क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था भएकाले नाडाले यस क्षेत्रमा गर्न चाहेका सुधारहरु समेत हेरिदिनु होला र सुझाव तथा सल्लाह पनि दिनुहोला भन्न चहान्छु ।
भिडियोः













