नेपाल वित्तीय संस्था संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा २ असोज २०८३ गते काठमार्डौंमा सम्पन्न भएको छ । साधारण सभाले संघको विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
साधारण सभाले सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठलाई नेपाल वित्तीय संस्था संघको अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै नेपाल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया उपाध्यक्ष चयन भएका छन् भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ महासचिव चयन भएका छन्।
गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ र इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल जोशी कार्यसमिति सदस्य चयन भएका छन् ।
संघका निवर्तमान अध्यक्ष सुनिल पन्तले आफ्नो कार्यकालमा संघको नेतृत्व गर्दै संघलाई थप सुदृढ, प्रभावकारी र संस्थागत रूपमा अघि बढाउन पु¥याउनुभएको महत्वपूर्ण योगदानप्रति संघले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। पन्तले आगामी दिनमा संघको तत्कालीन निवर्तमान अध्यक्षका रूपमा निरन्तर संघसँग आबद्ध रही नयाँ कार्यसमितिलाई आवश्यक मार्गदर्शन प्रदान गर्ने संघले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिले नेपालका वित्तीय संस्थाहरूबीचको समन्वय, सहकार्य र संस्थागत एकता थप सुदृढ गर्ने, सदस्य संस्थाहरूका साझा विषय तथा समस्याहरूलाई प्रभावकारी रूपमा सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने तथा वित्तीय क्षेत्रको समग्र विकासका लागि नेपाल राष्ट्र बैंक, नेपाल सरकार तथा अन्य सम्बन्धित सरोकारवाला निकायहरूसँग थप प्रभावकारी र रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।











