जनवरी, फेब्रुअरी र मार्च, अप्रिल महिना पर्यटकीय सिजन मानिन्छ । खासगरी दशैँ तिहार जस्ता चाडवाड लगत्तैको सिजन बैशाखसम्म कायम रहन्छ । त्यसमा पनि माघ र फागुन महिना अझ बढी पर्यटक भित्रिने महिनामा पर्छन् । फागुन महिनामा पदयात्रामा आउने पर्यटक बढी हुन्छन् ।
तर, यसपाली फागुनको २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले त्यस दिन पर्यटकका लागि (पर्यटन व्यवसायीहरुका लागि) निर्वाचन आयोगले विचित्रको प्रावधान ल्याइदिएको छ । आयोगले चुनावका दिन पर्यटकलाई होटल बाहिर जान रोक लगाएको छ । जबकी, निश्चित दिन सम्मका लागि निश्चित निश्चित गन्तव्यमा घुमफिर गर्ने पूर्व तयारी र तालिकासहित पर्यटकहरु आएका हुन्छन् । निर्वाचन आयोगले यो विषयमा ख्याल नै नगरी फागुन २१ गते पर्यटकलाई होटलमै राख्नुपर्ने प्रावधान ल्याएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार निर्वाचनका दिन पर्यटकहरु एयरपोर्टबाट होटल र होटलबाट एयरपोर्टसम्म मात्रै जान पाउँछन् । अर्थात्, त्यो दिन नेपाल आउने पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलसम्म मात्रै जान पाउँछन् । यस्तै, उक्त दिन नेपालबाट फर्किने पर्यटकहरु होटलबाट एयरपोर्ट जान पाउँछन् । यसका लागि आयोगले पासको व्यवस्था गरेको प्रवक्ता भट्टराई बताउँछन् ।
आयोगमा अनलाइन निवेदन दिएपछि आयोगले विमानस्थलसम्म जान पास उपलब्ध गराउनेछ । जिल्ला प्रशासन कार्यालयबाट पनि पास लिन सकिने आयोगले जनाएको छ ।
कारण के ?
आयोगको प्रावधान अनुसार निर्वाचनका दिन ट्राभल कम्पनीहरुले आफूले ल्याएका पर्यटकलाई होटलमै राख्नुपर्ने छ । उनीहरुलाई कहीँ कतै घुमफिरमा लैजान पाइने छैन ।
निर्वाचन आयोगका अनुसार अहिले असामान्य परिस्थितिमा हुन गइरहेको निर्वाचन भएकाले सुरक्षाको जोखिमलाई ध्यान दिनुपर्ने भएकाले यो नियम लगाइएको हो । आयोगका प्रवक्ता भट्टराईले विदेशी पर्यटकहरुको सुरक्षालाई ध्यानमा राखेर आयोगले निर्वाचनको दिन (फागुन २१ गते) पर्यटकहरुलाई होटलमै राख्नुपर्ने र घुमफिरमा लैजान नपाउने निर्णय नै गरिसकेको जानकारी दिएका छन् ।
यता, पर्यटन व्यवसायीहरुका अनुसार फगुनको तेस्रो र चौथो हप्तामा मात्रै करिब ४५ हजार पर्यटक नेपाल भित्रिने अनुमान छ ।
काठमाडौँ बाहिर रहेकालाई के गर्ने ?
आयोगले पर्यटकलाई निर्वाचनका दिन होटलमै राख्नुपर्ने भनेपनि काठमाडौँ बाहिर (ट्रेकिङ र घुमफिर गन्तव्यमा) रहेका पर्यटकलाई ल्याउनुपर्ने हो कि होइन भन्ने प्रष्ट नपारेको ट्राभल एजेन्सीहरुको भनाइ छ । होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले पनि अहिले ट्रेकिङको सिजन भएकाले ट्रेकिङमा गइसकेका पर्यटकहरुको हकमा के हुने भन्नेमा आयोगले ‘क्लियर’ नगरेको बताएका छन् ।
‘पर्यटन भनेको काठमाडौँ मात्रै होइन नि, अहिले ट्रेकिङको सिजन छ, पर्यटकहरु देशका विभिन्न गन्तव्यमा गइरहेका छन् । उनीहरुलाई काठमाडौँ ल्याउनुपर्ने हो कि होइन भन्नेमा चाहिँ आयोगको नियम क्लियर भएन’ अध्यक्ष शाहले भने, ‘अब एक वर्ष अगाडिदेखि बुकिङ गरेर आउन तयार भएका पर्यटकहरुलाई ल्याउने कि नल्याउने भन्ने पनि अन्योल छ ।’
विगतमा पर्यटन बोर्डसँग समन्वय गरेर पास जारी हुने र त्यसलाई हेरेर स्थानीय प्रशासनले अनुमति दिने गरेको भएपनि यसपाली निर्वाचन आयोगले ‘रिक्स’ देखेर विगतको अभ्यास छोडेको पर्यटन व्यवसायीहरुको अनुमान छ । ‘हामीले निर्वाचनका दिन पर्यटकलाई कसरी सेवा दिने भनेर लेखेरै निर्वाचन आयोगमा कुरा राखेका थियौँ, विगतकै जस्तो पासको प्रबन्ध गर्ने र सेवा दिने भन्नेमा आयोग पनि सुरुमा पोजेटिभ नै थियो’ एक जना पर्यटन व्यवसायीले भने, ‘तर, अन्तिममा आएर त्यो दिन होटलमै राख्नुपर्ने भनिदियो । सायद असामान्य अवस्थामा हुन लागेको निर्वाचन भएकाले आयोगले रिक्स लिन नचाहेको होला । तर, यो पर्यटनमैत्री चाहिँ भएन ।’













