आशुतोष इनर्जी लिमिटेडले मङ्सिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले गोरखा र लमजुङ जिल्लाका प्रभावित स्थानीयलाई ६ लाख कित्ता शेयर निष्काशन गर्नेछ। जस मध्ये ३ लाख कित्ता अति प्रभावित लमजुङको दुधपोखरी गाउँपालिकाको वडा नम्बर १ र २ तथा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ र ३ का स्थानीयलाई निष्काशन हुनेछ। त्यस्तै बाँकि ३ लाख कित्ता लमजुङको दुधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिका, तथा गोरखाको अजिरकोट गाउँपालिका बाँकी स्थानीयलाई निष्काशन हुनेछ।
स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा मङ्सिर २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्ने छन्।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ६० हजार कित्ता शेयर निष्काशन गर्नेछ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा मङ्सिर १७ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डले कार्तिक २० गते कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले लमजुङमा ८.६३ मेगावाट क्षमताको चेपेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ असोज देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।










