निर्माण क्षेत्रका श्रमिकलाई १७४० ज्याला दिनैपर्ने: सामाजिक सुरक्षा, पर्व बिदा र भत्ता अनिवार्य

spot_img
spot_img

नेपालको निर्माण क्षेत्र सबैभन्दा धेरै अनौपचारिक क्षेत्र मानिन्छ । खासगरी, निर्माण व्यवसायीले कामदार तथा श्रमिकका लागि आफूखुशी पारिश्रमिक तोक्ने, उनीहरुलाई नगदमै भूक्तानी दिने, बीमा लगायतका जोखिम बहनका उपाय नअपनाइने र उनीहरुको सामाजिक सुरक्षाको कुनै ग्यारेन्टी नहुने जस्ता कुराहरुका कारण निर्माण क्षेत्र अनौपचारिक मानिँदै आइएको छ ।

तर, अब भने सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने आयोजनामा काम गर्ने श्रमिकको पारिश्रमिक तोक्नुका साथै श्रमिकको सामाजिक सुरक्षालाई पनि अनिवार्य बनाएको छ । यसका लागि हालै मात्रै प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । यो कार्यविधि कार्तिक १७ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भइसकेको छ ।

श्रमिकको श्रेणी, पारिश्रमिक र सामाजिक सुरक्षा
कार्यविधिले सार्वजनिक खरिद प्रक्रियाबाट सञ्चालन हुने आयोजनामा काम गर्ने श्रमिकको न्यूनतम ज्याला, सामाजिक सुरक्षा, बीमा र कार्यस्थलको सुरक्षासम्बन्धी व्यवस्था स्पष्ट गरेको छ । रोजगारदाताले स्थायी, अस्थायी, आकस्मिक, मौसमी, आंशिक र दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई काममा लगाएको पहिलो दिनदेखि नै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउनुपर्नेछ । ज्याला पनि बैंक खातामार्फत भूक्तानी गर्नुपर्नेछ ।

कार्यविधिले निर्माण (फिल्ड) श्रमिकलाई ५ श्रेणीमा विभाजन गरेको छ । पहिलो श्रेणीमा अदक्ष (स्वीपर, कार्यालय सहयोगी आदि) लाई राखिएको छ । उनीहरुको दैनिक ज्याला १ हजार ४५० रुपैयाँ, सामाजिक सुरक्षामा रोजगारदाता र राज्यले गर्ने १०/१० प्रतिशत योगदान बापतको २९० रुपैयाँसहित कुल १ हजार ७४० रुपैयाँ तोकिएको छ ।

यस्तै, दोस्रो श्रेणीमा आधारभूत कालिगड (अदक्ष) (सुरक्षा गार्ड, हलुका सवारी चालक, ज्यामी आदि)लाई राखिएको छ । उनीहरुको दैनिक ज्याला १ हजार ६ सय र रोजगारदाताले सामाजिक सुरक्षामा गर्नुपर्ने १० प्रतिशत योगदान बराबर १६० रुपैयाँ तथा सरकारले गर्नुपर्ने १० प्रतिशत योगदान बराबर थप १६० रुपैयाँ गरेर कुल १ हजार ९२० रुपैयाँ तोकिएको छ ।

तेस्रो श्रेणीमा अर्धदक्ष सहयोगी तथा सेवाकर्मी (सुरक्षा गार्ड, हलुका चालक, सहायक मिस्त्री, अपरेटर आदि)लाई राखिएको छ । उनीहरुको दैनिक पारिश्रमिक १ हजार ७५० रुपैयाँ, रोजगारदाता र सरकारको तर्फबाट सामाजिक सुरक्षामा गरिने १०/१० प्रतिशत योगदान बापत थप ३५० रुपैयाँ गरी कुल २ हजार १ सय रुपैयाँ हुनेछ ।

चौथौँ श्रेणीमा दक्ष कालिगड तथा सहायक सुपरिवेक्षक (डकर्मी, प्लम्बर, मेसिन/कम्प्युटर अपरेटर, गणक आदि)लाई राखिएको छ । रोजगारदाताले उनीहरुलाई दैनिक १ हजार ९ सय रुपैयाँ पारिश्रमिक दिनुपर्नेछ । यसमा सरकारले सामाजिक सुरक्षाबापत १९० रुपैयाँ थप दिनेछ भने रोजगारदाताले पनि १९० रुपैयाँ नै सामाजिक सुरक्षाबापत योगदान दिनुपर्नेछ । यसरी चौथौँ श्रेणीका श्रमिकको पारिश्रमिक दैनिक कुल २ हजार २८० रुपैयाँ पुग्नेछ ।

अन्तिम एवम् पाँचौ श्रेणीमा उच्च दक्ष तथा सुपरिवेक्षक (फोरम्यान, हेभी अपरेटर, सब–इन्जिनियर आदि)लाई राखिएको छ । उनीहरुको दैनिक पारिश्रमिक २ हजार रुपैयाँ हुनेछ । यसमा सरकारले २ सय र रोजगारदाता कम्पनीले थप २ सय गरी ४ सय रुपैयाँ सामाजिक सुरक्षाबापत थप प्राप्त हुनेछ । यसरी पाँचौ श्रेणीका श्रमिकले कुल मिलाएर दैनिक २ हजार ४ सय रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

सरकारले यस कार्यविधिमार्फत आयोजनाको काममा खटिने श्रमिकको त्यस्ता आयोजना तथा कार्यक्रममा वस्तु आपुर्ति गर्ने उद्योग, कलकारखाना, बिक्रेता वा उत्पादक अन्तर्गतका श्रमिकको पनि न्यूनतम् पारिश्रमिक तोकेको छ । उनीहरुलाई पनि पाँच तहमा श्रेणी छुट्याएर मासिक पारिश्रमिक तोकिएको छ ।

जस अन्तर्गत पहिलो श्रेणीमा आधारभूत सहयोगी (अदक्ष) (स्वीपर, कार्यालय सहयोगी आदि) लाई समेटिएको छ । उनीहरुको न्यूनतम् पारिश्रमिक मासिक २७ हजार १७२ रुपैयाँ र सामाजिक सुरक्षा योगदान २० प्रतिशतबापत ५ हजार ४३५ रुपैयाँ गरि कुल ३२ हजार ६०७ रुपैयाँ तोकिएको छ ।

दोस्रो श्रेणीमा आधारभूत कालिगड (अदक्ष) (सुरक्षा गार्ड, हलुका चालक, ज्यामी)लाई समावेश गरिएको छ । उनीहरुको मासिक पारिश्रमिक ३० हजार ३७३ रुपैयाँ र सामाजिक सुरक्षा योगदान २० प्रतिशतबापत ६ हजार ७५ रुपैयाँ गरि कुल ३६ हजार ४४८ रुपैयाँ तोकिएको छ ।

तेस्रो श्रेणीमा अर्धदक्ष सहयोगी तथा सेवाकर्मी (सुरक्षा गार्ड, हलुका चालक, सहायक मिस्त्री, अपरेटर) आदिलाई समेटिएको छ । यस श्रेणीका श्रमिकलाई रोजगारदाताले मासिक पारिश्रमिक ३२ हजार ७०१ रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनुपर्नेछ भने सामाजिक सुरक्षा योगदानबापत २० प्रतिशत बरबर ६ हजार ५४१ गरि उनीहरुले मासिक कुल ३९ हजार २४२ रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

चौथौँ श्रेणीमा दक्ष कालिगड तथा सहायक सुपरिवेक्षक (मेसिन/कम्प्युटर अपरेटर आदि)लाई समेटिएको छ । उनीहरुको मासिक पारिश्रमिक ३६ हजार १९२ रुपैयाँ र २० प्रतिशत सामाजिक सुरक्षा योगदान बराबर ७ हजार २३९ रुपैयाँ गरि कुल ४३ हजार ४३१ रुपैयाँ तोकिएको छ ।

पाँचौ श्रेणीमा उच्च दक्ष तथा सुपरिवेक्षक (फोरम्यान, हेभी अपरेटर, सुपरभाइजर, सब–इन्जिनियर, लेखापाल आदि)लाई राखिएको छ । उनीहरुको मासिक पारिश्रमिक ३८ हजार २०३ रुपैयाँ र २० प्रतिशत बराबर सामाजिक सुरक्षा योगदानबापत थप ७ हजार ६४१ रुपैयाँ गरि कुल ४५ हजार ८४४ रुपैयाँ तोकिएको छ ।

बौद्धिक तथा व्यावसायिक श्रमिकलाई पनि ५ श्रेणीमा वर्गीकरण गरेर पारिश्रमिक तोकिएको छ । पहिलो श्रेणी आधारभूत (प्रशासनिक)को मासिक तलब ५४ हजार ६ सय (सामाजिक सुरक्षामा सार्वजनिक निकाय र रोजगारदाताको योगदानसहित) तोकिएको छ ।

दोस्रो श्रेणीमा राखिएको अधारभूत (प्राविधिक)को मासिक पारिश्रमिक ७६ हजार ४४० रुपैयाँ (सामाजिक सुरक्षामा सार्वजनिक निकाय र रोजगारदाताको योगदानसहित) तोकिएको छ । तेस्रो श्रेणीमा राखिएको विशेषज्ञ (पाँच वर्ष अनुभव भएको) कर्मचारीको तलब मासिक १ लाख २० हजार १२० रुपैयाँ तोकिएको छ । यो पनि सामाजिक सुरक्षामा सार्वजनिक निकाय र रोजगारदाताको योगदानसहितको कुल पारिश्रमिक सुविधा हो ।

चौथौँ श्रेणीमा ५ वर्षदेखि १० वर्ष सम्मको अनुभव भएका विशेषज्ञ विज्ञ भनेर वर्गीकरण गरिएको छ । उनीहरुको मासिक पारिश्रमिक सामाजिक सुरक्षामा सार्वजनिक निकाय र रोजगारदाताको योगदानसहित कुल १ लाख ६३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

१० देखि १५ वर्ष सम्मको अनुभव भएकालाई पाँचौ तहमा राखिएको छ । उनीहरुलाई ‘विशेषज्ञ टिम लिडर’ भनिएको छ । कार्यविधिले उनीहरुको मासिक पारिश्रमिक सामाजिक सुरक्षामा सार्वजनिक निकाय र रोजगारदाताको योगदानसहित कुल २ लाख ७ हजार ४८० रुपैयाँ निर्धारण गरेको छ ।

छैठौँ श्रेणीमा १५ वर्षभन्दा माथिको अनुभव भएकालाई ‘विशेषज्ञ टिम लिडर’ नै भनिएको छ भने उनीहरुको मासिक पारिश्रमिक २ लाख ६२ हजार ८० रुपैयाँ तोकिएको छ । यो पनि सामाजिक सुरक्षामा सार्वजनिक निकाय र रोजगारदाताको योगदानसहितको दर हो ।

चाडपर्व खर्च र बिदा अनिवार्य
कार्यविधिले श्रमिकले सरकारी सेवा सरह चाडपर्व बिदा र खर्च पाउने प्रावधानसमेत प्रष्टसँग उल्लेख गरेको छ । कार्यविधिको अनुसूची (१) ३ (ग) मा ‘उल्लेखित न्यूनतम् मासिक पारिश्रमिकका अतिरिक्त प्रचलित कानून बमोजिम सरकारी सेवा सरहका चाडपर्व खर्च, बिदा, भत्ताहरुसमेत रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउनुपर्नेछ’ भनिएको छ ।

रोजगारदाता कम्पनीले श्रमिकलाई कार्यस्थलमा व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराउने, प्राथमिक उपचारको व्यवस्था गर्ने लगायतका जिम्मेवारी पनि पूरा गर्नुपर्नेछ । कार्यस्थलमा दुर्घटना भए घाइतेको उद्धार, उपचार र बीमा दाबी प्रक्रियामा रोजगारदाताले सहजीकरण गर्नुपर्नेछ । यदि, न्यूनतम पारिश्रमिक नदिने र सामाजिक सुरक्षामा योगदान नगर्ने रोजगारदातालाई कालोसूचीमा राख्न सम्बन्धित निकायले सिफारिस गर्न सक्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जलवायु वित्तसम्बन्धि उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

टर्कीएमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष...

८२.३० प्रतिशतले बढ्यो एभरेष्ट कलरको खुदनाफा, ईपीएस १४.४६ रुपैयाँ

एभरेष्ट कलर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज आइतबार पनि सुनको भाउ घटेको छ । अघिल्लो...

यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायूको आंशिक प्रभावका कारण आज देशका हिमाली र...

एनपीएलमा आज दुइ खेल हुँदै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज...

छठ पर्वको मुख्य दिन आज

छठ पर्वको आज मुख्य दिन हो । आज साँझ...