एभरेष्ट कलर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ८२.३० प्रतिशतले बढेर १ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा५९ लाख ४६ हजार रुपैयाँ मात्र थियो।
यस अवधिमा कम्पनीको उत्पादन बिक्रीको आम्दानी ७७.७३ प्रतिशतले बढेर ७ करोड ३५ लाख पुगेको छ। कम्पनीको संचालन नाफा ६० लाख ६८ हजारबाट बढेर १ करोड ३९ लाख पुगेको छ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी १४.४६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२०.१० रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ पुगेको छ। रिटेन अर्निंग र रिभ्यालुएसनमा रिजर्भमा ६ करोड २ लाख रहेको छ।
कम्पनीले खैरहनी – ३, चितवन स्थित कारखानाको क्षमता अभिवृद्ध गर्न अत्याधुनिक मेशिन तथा उपकरण थप जडान गर्ने कार्य सम्पन्न भईसकेको जनाएको छ। घरेलु बजारमा आफ्नो उपस्थिति मजबुत बनाउन र ब्राण्डको उपस्थिति दरो बनाउन बजार विस्तार तथा ब्राण्ड प्रवर्द्धनका लागि डिलर नेटवर्क विस्तार गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्दा प्रचलित कानून तथा निष्काशन सम्बन्धी विवरणपत्रमा उल्लेखित उद्देश्यबमोजिम प्राप्त रकमको उपयोग गरिरहेको जनाएको छ। यस अन्तरगत मेशिन तथा उपकरण खरीद, ढुवानीका लागि ट्रक खरीद कार्य सम्पन्न भईसकेको र अफिस उपकरण, सवारी साधन खरीद कार्य आवश्यकतानुसार क्रमिक रुपमा भईरहेको कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार मुख्य कार्यालय र विराटनगर शाखाको लागि जग्गा खरीदको प्रक्रिया अघि बढाईएको छ ।










