नेपाल–चीन प्रमुख व्यापारिक नाका ‘तातोपानी’लाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि कूटनीतिक पहल गर्न सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको यो नाकालाई र्पूा क्षमतामा सूचारु गर्नुपर्ने व्यवसायी र सरोकारवालाको जोड छ ।
बिहीबार नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा बागमती प्रदेशका मन्त्री, पूर्व सांसद, परराष्ट्रविद्, स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।
छलफलमा सहभागीहरुले राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको तातोपानी नाका लामो समयदेखि आंशिक रूपमा मात्र सञ्चालन हुँदा व्यवसायी र स्थानीय नागरिक मर्कामा परेको गुनासो गरेका थिए । उनीहरूले नाका पूर्ण रूपमा खुलाउन संघीय सरकारको तर्फबाट पर्याप्त कूटनीतिक चासो नदेखिएको भन्दै तत्काल उच्चस्तरीय कूटनीतिक पहल सुरु गर्न आग्रह गरेका थिए ।
छलफलमा निवर्तमान सांसद माधव सापकोटा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले आफूहरूले चिनियाँ राजनीतिक नेतृत्वसँग तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा चीनमा भेटवार्ता गरेर फर्किएको जानकारी गराएका थिए । उनका अनुसार चिनियाँ पक्षले तातोपानी नाका पूर्ण रूपमा सुचारु गर्ने विषयमा सकारात्मक थियो । नाका नजिकैको ‘इको पहिरो’ का कारण पटक–पटक सडक अवरुद्ध हुने समस्याप्रति चिनियाँ पक्षले चासो देखाएको सापकोटाको भनाइ छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहायत्री पौडेलले भोटेकोशी बाढीले निम्त्याएको जस्तो विपत्ति भविष्यमा नदोहोरियोस् र नदी किनारका बस्तीका बासिन्दा त्रासमा बाँच्नु नपरोस् भनेर प्रदेश सरकार संवेदनशील भएर काम गरिरहेको बताए ।










