सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरिन्छ ।
दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रूपमा घरपरिवारका सदस्यहरूले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन छ ।
सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने आस्थाको पर्व छठ शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको छ । पहिलो दिन ब्रतालुहरूले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् ।
तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ । यो दिनलाई सौझकारक पनि भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व समापन हुन्छ ।
सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।










