मध्य भोटेकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीले ६ करोड १२ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ९१ लाख खुद घाटामा थियो।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८१ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले आफ्नो १०२ मेगावाटको आयोजनाबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि मात्र पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो । विद्युत बिक्रीबाट आम्दानी हुन थालेसंगै कम्पनी नाफामा गएको हो।
विद्युत बिक्रीबाट आम्दानी हुन थालेसंगै कम्पनीले ऋण पनि तिर्न सुरु गरेको छ। कम्पनीले आयोजना निर्माणको लागि कर्मचारी संचय कोषबाट ऋण लिएको थियो। जसको ब्याज पुंजीकरण सहितको दायित्व १५ अर्ब ५१ करोड ५७ लाख रहेकोमा कम्पनीले २०८२ पुस मसान्तमा कोषलाई पहिलो किस्ता वापत ५६ करोड ८० लाख ऋण तिरेको छ।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको र्पति शेयर आम्दानी २ रुपैयाँ २ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ९४ रुपैयाँ ४४ पैसा रहेको छ। कम्पनीको चुक्ता पुंजी भने ६ अर्ब रहेको छ ।
कम्पनीका अध्यक्ष तुलसीराम ढकाल हुन् हुन् भने प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी रहेका छन् ।












