यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीको भाडादर समायोजना (वृद्धि) गर्न माग गरेको छ । नेपाल आयल नियमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको भन्दै महासंघले वैज्ञानिक विधिबाट भाडा समायोजन गर्ने प्रावधान अनुसार भाडादर समायोजन गर्न माग गरेको हो ।
महासंघले पेट्रोलियम पदार्थको उच्च मूल्य र सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकहरुलाई आधार मानी भाडादर समायोजन गर्ने प्रावधान अनुसार तत्काल वैज्ञानिक विधिबाट संघीय रुटको भाडादर यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तरगतको भाडा सात वटै प्रदेश मन्त्रालयबाट समायोजन गर्न माग गरेको हो ।
महासंघका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गरेरै यातायात व्यवस्था विभागले कानून बमोजिम संघीय रुटको पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा वा मूल्य घट्दा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्दै आएको स्मरण पनि गरेका छन् । तर, २०६५ सालमा लागू गरिएको वैज्ञानिक प्रणाली अनुसारको भाडादर समायोजनको विधि अहिले कार्यान्वयनमा नरहेको भन्दै महासंघले असन्तुष्टि पनि जनाएको छ ।
‘विगत २०८१।९।२२ गतेदेखी मूल्य समायोजन नभएको र भाडा समायोजन गर्दा सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकहरुलाई आधार बनाई मूल्य समायोजन गर्नको लागी २०६५ सालमा वैज्ञानिक विधिबाट भाडा समायोजन गर्ने प्रावधान भएकोमा लामो समयदेखी भाडा समायोजन नभएको हुँदा हालसम्मको पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धि र सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकहरुलाई आधार मानी तत्काल वैज्ञानिक विधिबाट संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तरगतको भाडा सात वटै प्रदेश मन्त्रालयबाट यथाशिघ्र समायोजन गरिदिन हुन यसै प्रेश विज्ञप्तिमार्फत नेपाल सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ’ विज्ञप्तिमा भनिएको छ ।










