आज असोज ५ गते सोमबार शेयर कारोबार नहुने भएको छ। नेप्सेको भेन्डर कम्पनी YCO को टिएमएस प्रयोग गर्ने ७२ वटा ब्रोकर कम्पनीको टिएमएस नचलेपछि नेप्सेले आजको लागि कारोबार स्थगित गरेको हो ।
वाईकोका अनुसार ७२ कारोबार सदस्य कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रा.लि.मा आश्विन ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि पहल भइरहेको भएतापनि हालसम्म समाधान भएको छैन। २४ घण्टा बितिसक्दा पनि समस्या समाधान नभएपछि आजको लागि कारोबार नै बन्द भएको हो ।
यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले र आजको नियमित कारोबार सत्रलाई स्थगन गरिदिन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत निवेदन दिएको भन्दै नेप्सेले कारोबार स्थगित गर्ने निर्णय गरेको हो ।
नेप्सेका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार आजको कारोबार स्थगित गरिएको हो। यसबाट पर्न गएको असुविधा प्रति नेप्सेले आफु क्षमा प्रार्थी रहेको उल्लेख गरेको छ।










