बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसधारणलाई ८ लाख ६३ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा २३ लाख ५१ हजार ५ सय ६० जनाले आवेदन दिएका थिए । जस मध्ये २३ लाख ५ हजार २ सय ३३ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ८६ हजार ३ सय २० जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले सोलुखुम्बुको सोलु खोलामा १९.८ मेगावाट क्षमताको अप्पर सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० असारदेखि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीको अध्यक्ष गणेश कार्की हुन् भने अन्य संचालकमा यम कुमार श्रेष्ठ, हिरेन्द्र मान प्रधान, सोनाम छेरिङ शेर्पा, र पेम्बा गेल्बु शेर्पा रहेका छन्। कम्पनीका सीइओ समन मानन्धर हुन् ।










