प्रहरीले शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनलाई चुनदेवीबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार नै उनी प्रक्राउ परेको खुलेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार दिपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.को शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर विक्री गरी करिब रु. ४९,१९,८६५.९० ( उनन्चास लाख उन्नाईस हजार आठ सय पैसठ्ठी रुँपैया नब्बे पैसा) कानून बिपरित नाफा आर्जन गरेको देखिएको छ । साथै उनले अन्य TMS User प्रयोग गरी आपसी खरिद-विक्री तथा आफन्त / सम्बद्ध संस्था बीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको पनि खुलेको छ ।
साथै कर्पोरेट डेभलपमेन्ट बैंक लि. को शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले सोहि ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भि जाँचबुझ प्रतिवेदन समेतको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आज काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको र थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ । अब प्रहरीले थप अनुसन्धान गरि पर्याप्त आधार र प्रमाण भेटेको खण्डमा जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्छ ।
कसुर प्रमाणित भए के हुन्छ सजाय ?
अग्रवालमाथि धितोपत्र ऐनको २०६३ को दफा ९७ (ग) बमोजिम कसुर गरेको आरोप छ ।
यस दफा अनुसारको कसुर गर्नेलाई एकलाख रुपैंयादेखि तीनलाख रुपैंयासम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराई दिनु पर्नेछ ।
साथै अग्रवालले ऐनको दफा ९४ (क) र (ख) बमोजिम कसुर गरेको आरोप छ । यस दफा अनुसारको कसुर गर्नेलाई पचास हजार रुपैया देखि एकलाख पचास हजार रुपैंयासम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानी नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराई दिनु पर्नेछ ।
उनीमाथि दफा ९५ बमोजिम पनि कसुर गरेको आरोप छ । यस दफा अनुसार कसुर गर्नेलाई पचास हजार रुपैया देखि एकलाख पचास हजार रुपैंयासम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानी नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराई दिनु पर्नेछ ।









