नेपाल धितोपत्र बोर्डले २०८१ माघ ३ गतेबाट लागू हुनेगरि साना तथा मझौला संगठित संस्थाको धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०८१’ लागू गर्यो। साना तथा मझौला कम्पनी अर्थात् एसएमईलाई आकर्षित गर्न नेपाल धितोपत्र बोर्डले यो नियमावली ल्याएको थियो ।
जस अनुसार २५ करोडसम्म चुक्ता पुँजी भएका कम्पनीको आइपीओ यो नियमावलीको व्यवस्था अनुसार आउने परिकल्पना गरिएको छ। तर नियमावली आएको १० महिनासम्म पनि साना तथा मझौला कम्पनीले यस नियमावलीको व्यवस्था अनुसार आईपीओ ल्याउन त् परै जाओस् प्रक्रिया सुरु गर्न समेत पाएका छैनन् । त्यसको मुख्य कारण हो नियमावलीले भने अनुसार विनियमावली तयार नहुनु ।
धितोपत्र बोर्डले नियमावलीको आवश्यक कार्यान्वयनको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई पत्राचार गरेको थियो। अर्थात् बोर्डले नेप्सेलाई विनियमावली बनाउन भनेको थियो । नेप्सेले साना तथा मझौला संगठित संस्थाको धितोपत्र सूचीकरण तथा कारोबार विनियमावली, २०८१ को मस्यौदा तयार पारिसकेको छ। सो मस्यौदा नेप्सेको संचालक समितिमा पेश पनि भईसकेको छ । तर नेप्सेको संचालक समितिबाट अझै विनियमावली पारित भएको छैन ।
नेप्सेको व्यवस्थापनले २०८२ वैशाखको अन्तिम साता मै सो विनियमावलीको मस्यौदा संचालक समितिमा पेश गरेको थियो। तर सोहि समयमा नेप्सेको अध्यक्ष पद रिक्त भयो। त्यस समय नेप्सेको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल थिए । मन्त्रिपरिषद्को वैशाख ३१ गतेको बैठकले उनै पौडेललाई सचिवमा बढुवा गर्यो । पौडेल सचिवमा बढुवा भएपछि नेप्सेको संचालक समितिको अध्यक्ष पद रिक्त भयो। पौडेल नेप्सेको अध्यक्ष पदमा रहिरहेको भए गत जेठ मै नेप्सेको संचालक समितिबाट विनियमावली पारित भएर स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाउने तयारी थियो। त्यस समयमा अन्य संचालकले पनि विनियमावलीको मस्यौदा अध्ययन गरिसकेका थिए। तर अध्यक्ष पद नै रिक्त भएपछि सो समयमा विनियमावली पारित गर्ने प्रक्रिया अगाडी बढेन।
अर्थ मन्त्रालयले लामो समयसम्म नेप्सेमा अध्यक्ष नै पठाएन । तत्कालीन अर्थ मन्त्री रहेका विष्णु पौडेलले भदौ २० मा बल्ल नेप्सेको अध्यक्षमा हेमन्त बस्याललाई नियुक्ति दिए । नेप्सेमा राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने अन्य संचालक समिति सदस्य पनि हेरफेर भए। नेप्सेमा स्वतन्त्र संचालक पनि नियुक्त गरियो। बस्याल अध्यक्ष भएर आईसकेपछि नेप्सेको संचालक समितिमा विनियमावलीको मस्यौदा फेरी पेश भएको छ। सबै जस्तो संचालकहरु नयाँ आएकोले उक्त मस्यौदा अध्ययनको लागि समय लागेको नेप्सेका एक संचालकको भनाइ छ। संचालक सदस्यहरुले अध्ययन गरेर सुझाव दिएपछि फेरी संचालक समितिमा छलफल गराएर विनियमावली पारित गरि स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाउने उनको भनाई छ।
तर नियमावली आएको १० महिनासम्म पनि विनियमावली पारित भएर नआएपछि विनियमावलीको व्यवस्था अनुसार आईपीओ ल्याउन लागेका एसएमई कम्पनीहरु निराश बनेका छन् । स्वस्तिक एग्रो लगायतका केही कम्पनीले एसएमई नियमावलीको व्यवस्था अनुसार आईपीओ निकाल्ने तयारी गरेका छन् । तर लामो समयसम्म विनियमावली नै नआउँदा यी कम्पनी अन्योलमा छन् ।
के छ नेप्सेले तयार पारेको विनियमावलीको मस्यौदामा ?
विनियमावलीले खास गरि साना तथा मझौला संगठित संस्थाको धितोपत्रको सूचीकरण, सम्झौताको ढाँचा तथा विवरण, सूचीकृत सङ्गठित संस्थाको वर्गीकरण, सूचीकरण, खारेजी र पुनः सूचीकरण, कारोबार एकाइ तथा बोर्ड एकाइ, मूल्य निर्धारण प्रक्रिया, कारोबार गर्ने स्थान र समय, खरिद तथा बिक्री आदेश, कारोबार सञ्चालन प्रक्रिया तथा मूल्य परिवर्तन सीमाबारे प्रष्ट व्यवस्था गर्नु पर्ने थियो ।
यस्ता कम्पनीको आईपीओ भर्दा पनि न्युनतम ५०० कित्ता नै भर्नु पर्ने व्यवस्था छ र आईपीओ पर्नेलाई पनि न्युनतम ५०० कित्ता नै पर्ने छ। विनियमावलीको प्रस्तावित मस्यौदा अनुसार यस्ता कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्दा पनि न्युनतम ५०० कित्ता नै कारोबार गर्नु पर्ने छ । यस्ता कम्पनीको सेयरको न्यूनतम कारोबार इकाई (बोर्ड लट) ५०० कित्ता हुने मस्यौदामा उल्लेख छ। ५०० कित्ता भन्दा भन्दा कम परिमाणको धितोपत्र अड लट हुने र त्यस्तो धितोपत्रको कारोबारलाई अड लट कारोबार भनिने छ । अड लट कारोबारलाई धितोपत्रको कारोबार मूल्य परिवर्तन सीमा र बजार सूचकांकगणनामा समावेश गरिने छैन ।
त्यस्तै यस्ता कम्पनीको शेयर कारोबारको लागि ब्रोकरले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन गर्न आवश्यक शत प्रतिशत रकम आदेश दिने ग्राहकबाट अग्रिम रूपमा लिनु पर्ने व्यवस्था मस्यौदामा छ ।
यस्ता कम्पनीको शेयर कारोबारको लागि पनि प्रि ओपन सेसन १०:३० देखि ११ बजेसम्म हुने र निरन्तर कारोबार सत्र ११ बजेदेखि ३ बजेसम्म हुने छ। नियमित सत्रमा अपरान्ह २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ ।
प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रहने गरी गर्नुपर्नेछ । निरन्तर कारोबार सत्रमा पहिलो कारोबार गर्दा प्रारम्भिक सत्रमा कायम मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रहने गरी आदेश प्रविष्ट गर्नु पर्नेछ ।
प्रारम्भिक कारोबार सत्रमा कारोबार नभएका धितोपत्रका हकमा निरन्तर सत्रको सुरु मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्ट गर्नु पर्नेछ । धितोपत्रको मूल्यमा अघिल्लो दिनको अन्तिम मूल्यको दश प्रतिशत भन्दा घटी वा बढी हुने गरी धितोपत्रको कारोबार हुने छैन ।
निरन्तर कारोबार सुरु भएको एक घण्टाभित्र नेप्से एसएमई परिसूचक चार प्रतिशतले घटी वा बढी भएमा बिस मिनेटका लागि कारोबार बन्द हुने छ । निरन्तर कारोबार सुरु भएको दुई घण्टा भित्र नेप्से एसएमई परिसूचक छ प्रतिशतले घटी वा बढी भएमा चालिस मिनेटका लागि करोबार बन्द हुने छ । निरन्तर कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से एसएमई परिसूचक आठ प्रतिशतले घटी वा बढी भएमा सो पश्चात सो दिनको कारोबार बन्द हुने छ।
यो विनियमावलीलाई पहिले नेप्सेको संचालक समितिले पारित गर्नु छ, र नेपाल धितोपत्र बोर्डको स्वीकृत गर्नु पर्छ । त्यसपछि नेप्सेले तोकेको मितिबाट यो लागु हुने छ।









