नबिल बैंकले स्थापनाको ४२औँ वर्ष पूरा गरेको छ । स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक बैंकिङको सुरुवागत गर्दै आएको यस बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
बैंकले यस ऐतिहासिक घडीमा ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको हो ।
विश्वास हाम्रो सम्पत्ति, नवप्रवर्तन हाम्रो डीएनएः अध्यक्ष निर्वाणकुमार चौधरी
वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले बैंकको विगत, वर्तमान र भविष्यको मार्गचित्र स्पष्ट पारेका छन् । विगत ४२ वर्षदेखि नबिल बैंकको मुटुमा केवल एउटा कुरा मात्र धड्किरहेको र त्यो कुरा ‘विश्वास’ भएको उनले बताए ।
अध्यक्ष चौधरीले भने, “आज नबिल बैंक ४२ वर्षको उत्कृष्ट यात्राको साक्षी बनिरहँदा म सम्पूर्ण ग्राहक, शेयरधनी, नियामक निकाय, साझेदार र हाम्रा समर्पित कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु । यो विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यो नै हाम्रो भविष्यको बलियो जग बन्नेछ ।”
उनले विगत चार दशकमा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठूलो परिवर्तन आएको चर्चा गर्दै नबिल बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको बरु सधैँ त्यसको नेतृत्व गरेको बताए । “हामीले आधुनिक बैंकिङको जग बसाल्यौँ । ‘एनबैंक’ एप मार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा आफूलाई स्थापित गर्दै ग्राहकको बैंकिङ अनुभवलाई पूर्ण रूपमा बदल्यौँ,” अध्यक्ष चौधरीले भने, “नेपालकै पहिलो निजी वाणिज्य बैंक स्थापना गर्दै हामीले उद्योग र लगानीकर्ताका लागि नयाँ ढोका खोल्यौँ । आज नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गरिरहेको छ । हामीले नवप्रवर्तन केवल अपनाउने मात्र गरेका छैनौं, यो नबिलको डीएनए मै छ ।”
आर्टिफिसियल इन्टेलिजेन्सको युगमा नबिलको नेतृत्वदायी भूमिका
अध्यक्ष चौधरीले बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युग अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को युगमा बैंक प्रवेश गरेको घोषणा गरेका छन् । एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनःपरिभाषित गरिरहेको उनको भनाइ छ ।
नबिल बैंकले यस परिवर्तनमा केवल सहभागी मात्र नभई यसको नेतृत्व गर्ने तयारी गरिसकेको जानकारी दिँदै उनले भने, “एन बैंकको अबको विकासमा एआईलाई केन्द्रविन्दुमा राखिनेछ । यसले बैंकिङ सेवालाई अझ स्मार्ट र व्यक्तिगत बनाउनेछ । यसबाट द्रुत कर्जा प्रवाह, उत्कृष्ट जोखिम व्यवस्थापन, बौद्धिक ग्राहक अनुभव, व्यापक वित्तीय समावेशीकरण र मजबुत सुरक्षा प्रणालीको विकास हुनेछ । प्रविधि जतिसुकै बौद्धिक बने पनि हाम्रो मूल उद्देश्य सधैँ मानवीय भावना र मूल्यमान्यतासँगै जोडिनेछ, किनकि बैंकिङ केवल वित्तीय कारोबार मात्र होइन, यो सपनाहरू साकार पार्ने, उद्यमीहरूलाई सघाउने, परिवारको भविष्य निर्माण गर्ने र नेपालको समृद्धिमा योगदान दिने माध्यम हो ।”
तिव्र वित्तीय वृद्धि र रणनीतिक कार्यसम्पादन
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले बैंकको सुखद यात्रामा अनवरत साथ र सहयोग दिने सम्पूर्ण सरोकारवालाहरूप्रति आभार प्रकट गरे । सन् १९८४ मा नेपालकै पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको यो यात्रा आज लाखौँ ग्राहकको अटुट विश्वास र हजारौँ कर्मचारीको निष्ठाका कारण यो गौरवमय उचाइसम्म आइपुगेको उनको भनाइ छ ।
“यस ऐतिहासिक उपलब्धिको उत्सव मनाउँदै गर्दा, हामी हाम्रा ग्राहकरु र राष्ट्रका लागि दिगो मूल्य सिर्जना गर्न थप आत्मविश्वास, नविनता र प्रतिबद्धताका साथ भविष्यतर्फ हेरिरहेका छौं । हामी केवल बैंकिङ सेवा दिने संस्था होइनौं, हामी तपाईंका सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार हौं । हाम्रो लागि यही हो बैकिङ एण्ड बियोन्ड,” सीईओ ज्ञवालीले भने ।
ग्राहकहरूको बदलिँदो बैंकिङ अपेक्षा र दिगो विकासको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बन्ने दृढ संकल्प लिएको छ । देशको आर्थिक विकासका लागि रणनीतिक र उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लगेको बैंकले हालसम्म विभिन्न क्षेत्रमा गरेको कर्जा लगानीको अवस्था पनि सार्वजनिक गरेको छ ।
जस अन्तर्गत कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड, लघु, घरेलु, साना तथा मझौला उद्योगमा ४५ अर्ब ९२ करोड र पर्यटन क्षेत्रमा ११ अर्ब, १० करोड लगानी रहेको बैंकले जनाएको छ ।
प्रमुख वित्तीय सूचकांकमा अभूतपूर्व प्रगति
विगत ४२ वर्षको अवधिमा बैंकले वित्तीय बजारमा आफ्नो अभूतपूर्व उपस्थिति जनाएको छ । आर्थिक वर्ष २०४१÷०४२ मा बैंकको कुल नेटवर्थ २ करोड ८० लाख र खुद नाफा १० लाख रहेकामा चालू आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेटवर्थ ७० अर्ब ८३ करोड र खुद नाफा ६ अर्ब ७६ करोड पुगेको छ ।
यस्तै, सुरुआती चरणमा १४ करोड ६० लाख मात्र रहेको निक्षेप संकलन बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड पुगेको छ भने कर्जा प्रवाह पनि १३ करोड ३० लाखबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड पुगेको छ । कुल सम्पत्ति पनि २६ करोड ९० लाखबाट बढेर ७ खर्ब १८ अर्ब ४२ करोड पुगेको छ
२ शाखा र १४४ कर्मचारीबाट सुरु भएको सेवा सञ्जाल अहिले देशैभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २ हजार ४६९ दक्ष कर्मचारीहरूसम्म विस्तार भई २६ लाखभन्दा बढी ग्राहकहरूमा सेवा प्रवाह भइरहेको बैंकले जनाएको छ ।
वार्षिकोत्सवका विशेष योजना र अफरहरू
ऐतिहासिक ४२औँ वार्षिकोत्सवलाई उत्सवमय बनाउन नबिल बैंकले ४२ दिन लामो विशेष प्रवर्द्धनात्मक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका योजनाहरू सार्वजनिक गरेको छ ।
१) पुनःनिर्माण घर कर्जा योजनाः हेटौँडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारका कारण प्रभावित भएकाहरूका लागि लक्षित गरी बैंकले यो योजना ल्याएको हो । आधार दरमा मात्र ०.५ प्रतिशत प्रिमियम ब्याजदर थप गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
२) लकर र गेटवेमा छुट अफरः बैंकले लकर सेक्युरिटी डिपोजिट, क्रेडिट कार्ड, डेबिट कार्ड र इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपिजी) जस्ता सेवा लिन चाहने ग्राहकका लागि विशेष योजना ल्याएको छ । लकर सेक्युरिटी डिपोजिट सुविधा लिन चाहने ग्राहकले ४२ प्रतिशत छुट पाउने छन् भने इपिजी सेवा लिन चाहने ग्राहकले १५ हजार रुपैयाँको इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।
३) क्रेडिट र डेबिट कार्ड अफरः क्रेडिट कार्डका लागि आवेदन दिने ग्राहकले आवेदन शुल्क र एक वर्षको सदस्यता शुल्कमा पनि छुट पाउनेछन् । यी सुविधाहरू बैंकको वार्षिकोत्सवको अवसरमा ४२ दिनसम्म लागू हुनेछन् । डेबिट कार्डका हकमा भने वार्षिकोत्सवकै दिन आवेदन दिने ग्राहकले चार वर्षसम्म डेबिट कार्ड प्रयोग गर्न पाउनेछन् ।









