नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘नेपाल पर्यटन वेलनेस रिल प्रतियोगिता २०२६ ’ मा कोशी प्रदेशबाट मिना कुमारी राउत विजेता भएकी छिन् । सात प्रदेशबाट एकएक जना गरी ७ जना विजेता छनोट गरिँदा कोशीबाट राउत विजेता भएकी हुन् ।
त्रिभुवन विश्वविद्यालयमा योग विज्ञानमा स्नातकोत्तर गरिरहेकी राउत विगत एक दशकदेखि योगमा आवद्ध भएर योग प्रशिक्षकको रुपमा समेत काम गर्दै आएकी छिन् । उनले दक्षिण एसियाली स्तरमा योगसँग सम्बन्धित विभिन्न प्रतियोगितामा सहभागी भई स्वर्ण पदक समेत प्राप्त गरेकी छिन् ।
राउतले सन् २०२३ मा आयोजित तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकी थिइन् । त्यसपछि सन् २०२४ मा सम्पन्न प्रथम भारत नेपाल योगासन खेलकुद च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् ।
राष्ट्रिय योग खेलकुद च्याम्पियनसिप २०२४ मा पनि उनले स्वर्ण पदक जितिन् । उत्कृष्ट प्रदर्शनका आधारमा सोही प्रतियोगितामा उनलाई ‘मिसयोगी २०८०’ उपाधि समेत प्रदान गरिएको थियो ।
उनले सन् २०२५ मा आयोजित १६औं विश्वकप अर्थात् विश्व योगासन खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यसैगरी सातौ राष्ट्रिय योगासन प्रतियोगिता २०८२ मा पुनः स्वर्ण पदक जितेकी थिइन् ।
ट्रेकिङ गाइडसमेत रहेकी राउत विभिन्न हिमाली क्षेत्रमा योग ट्रेकिङ गराउँदै आएकी छिन् । उनले २०२४ मा नेपाल माउन्टेन एकेडेमिबाट ट्रेकिङ गाइडको तालिम लिएकी थिइन् । राउतले विदेशीहरुलाई योग ट्रेकिङ गराउँदै नेपालको पर्यटन र वेलनेसमा टेवा पुर्याउदै आएकी छिन् । विदेशी र नेपालीहरूलाई अनलाइन र फिजिकल योग, साउन्ड हिलिङ सिकाउँदै र पर्यटकलाई नेपाल घुमाउँदै आएकी छिन् ।
राउतको भिडियोमा आवाज दिएर गरिमा काफ्लेले, भिडियो खिचेर अर्जुन भुसाल र सुमन आचार्यले सहयोग गरेका थिए भने भिडियो सम्पादनमा मदन कार्की अर्जुन भुसाल र मिडिया फोकस प्रा. लि. ले गरेको थियो।
प्रतियोगिताअन्तर्गत मधेशबाट सुमित्रा आचार्य, बागमतीबाट एरिक नकर्मी, गण्डकीबाट रोशन ढकाल, लुम्बिनीबाट भास्कर महर्जन, कर्णालीबाट सन्तोष बुढा र सुदूरपश्चिमबाट हिमालय भट्ट विजेता घोषित भएका छन् । प्रत्येक विजेताले नगद ७५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी, जुरी अवार्डतर्फ आशा पौडेल छनोट भएकी छन् । उनले नगद २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् ।
प्रतियोगितामा रञ्जीत श्रेष्ठ, कैलाश कार्की, ‘घुमन्ते बुढाबुढी’, किरण अधिकारी र आश्रितलाई ‘स्पेसल मेन्सन’ सम्मान प्रदान गरिएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार प्रतियोगितामा नेपालभरका १११ जना सिर्जनाकर्ताले सहभागिता जनाएका थिए । सहभागीहरूले हिमालयको प्राकृतिक सौन्दर्य, योग, ध्यान, साउण्ड हिलिङ, आयुर्वेद, आध्यात्मिक पर्यटन तथा प्रकृतिमा आधारित उपचार प्रणालीलाई समेट्दै वेलनेस पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका रील तयार गरेका थिए ।
प्रतियोगिताका प्रविष्टिको मूल्याङ्कन चलचित्र निर्देशक मिनबहादुर भाम र वेलनेस विज्ञ शोभिता सिम्खडाले गरेका थिए ।
बोर्डले प्रतियोगिताले नेपालको मौलिक वेलनेस परम्परा र सचेत जीवनशैलीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न योगदान पुर्याएको विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिने जनाएको छ ।









