भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति पुर्याएसँगै भविष्यमा जलविद्युत् आयोजनाको बीमा प्रीमियम बढ्न सक्ने जोखिम देखिएको छ । बाढीले बीमा कम्पनी र पुनर्बीमा कम्पनीमाथि थप वित्तीय दबाब सिर्जना गरेको छ । जसका कारण आगामी दिनमा जलविद्युत् आयोजनाको बीमा शुल्क, जोखिम मूल्यांकन र बीमा सर्तमा परिवर्तन आउन सक्ने संकेत देखिएको छ ।
भोटेकोशी बाढीबाट १२ वटा ऊर्जा आयोजना प्रभावित भएका छन् । सरकारको प्रारम्भिक द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए) प्रतिवेदन अनुसार बाढीबाट ६७० मेगावाटका आयोजनाहरु प्रत्यक्ष प्रभावित छन् । ऊर्जा तथा ग्रिड प्रणाली पुनःस्थापनाका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ ।
क्षतिको पूर्ण विवरण आइनसके पनि प्रारम्भिक तथ्यांकले नै बाढीका कारण जलविद्युत् क्षेत्रले ठूलो आर्थिक नोक्सानी ब्यहोरेको देखाउँछ । यद्यपी, क्षतिको यकिन विवरण संकलन र मूल्यांकनको काम अझै बाँकी रहेको छ ।
२६ अर्बको बीमा दाबी
भोटेकोशी बाढीपछि बीमा कम्पनीमा परेको दाबीको प्रारम्भिक आकारले पनि क्षतिको गम्भीरता देखाएको छ । नेपाल बीमा प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीमा झण्डै २६ अर्ब रुपैयाँको दाबी परिसकेको छ ।
तर, दाबी गरिएको रकम र बीमा कम्पनीले अन्तिम रूपमा भुक्तानी गर्नुपर्ने रकम एउटै हुँदैन । क्षतिको वास्तविक सर्वेक्षण, बीमा पोलिसीका सर्त, बीमांकित रकम, कटौतीयोग्य रकम लगायतको अध्ययन पछि मात्रै मात्रै वास्तविक दायित्व देखिनेछ ।
यसअघि २०८१ असोज अन्तिममा आएको बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजनामा ठूलो क्षति भएको थियो । त्यसबेला प्रभावित आयोजनाले इन्जिनियरिङ तथा सम्पत्ति बीमाअन्तर्गत करिब ११ अर्ब ४० करोड रुपैयाँ बराबरको बीमा दाबी माग गरेका थिए ।
गत वर्षको ल्हेन्दे खोलाको बाढीले पनि आयोजनामा क्षति पुर्याएको थियो । अघिल्ला यी घटनाका दायित्व पूर्ण रूपमा टुंगिन नपाउँदै बीमा कम्पनीहरुमा अर्को ठूलो आर्थिक दायित्व थपिएको छ ।
प्रीमियम बढ्ने जोखिम
निर्जीवन बीमा कम्पनीका अधिकारीहरुका अनुसार पछिल्लो विपत्तिका कारण जलविद्युत आयोजनाहरुको बीमा प्रीमियम बढ्ने जोखिम बढेको छ । निर्जीवन बीमा व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लका अनुसार अब पुनर्बीमा कम्पनीले नै नेपाली जलविद्युत् क्षेत्रको जोखिम, विगतका दाबी र भविष्यमा हुन सक्ने प्राकृतिक विपद्को सम्भावनालाई हेरेर बीमाको सर्त पुनरावलोकन गर्न सक्छन् । उनका अनुसार अन्तराष्ट्रिय निर्जीवन बीमा कम्पनीहरुले अब प्रीमियम बढाउन सक्ने सम्भावना बढेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि भोटेकोशी बाढी पश्चात लेखेको समाचारमा पुनर्बीमा कम्पनीले हिमाली क्षेत्रमा बाढी लगायतको जोखिमलाई ध्यानमा राख्दै बीमा सर्त कडा पार्न, प्रीमियम बढाउन वा कभरेज घटाउन सक्ने सम्भावना औंल्याइएको छ ।
पुनर्बीमा कम्पनीले जोखिम बढी देखेर प्रीमियम बढाएमा त्यसको प्रभाव नेपालका बीमा कम्पनीले लिने बीमा शुल्कमा पर्न सक्छ । विशेषगरी बाढी, पहिरो, हिमताल विस्फोटजन्य बाढी तथा नदी कटानको जोखिम भएका क्षेत्रमा रहेका आयोजनाको बीमा गर्दा थप जोखिम प्रीमियम जोडिन सक्ने सम्भावना रहन्छ । तर, सबै आयोजनाको प्रीमियम एउटै अनुपातमा भने नबढ्न सक्ने बीमा व्यवसायीहरु बताउँछन् ।










