Monday, February 10, 2025
spot_img

मन्दीले शहरभरी झुण्डिएको ‘ताला’ कसरी खुल्ला ?

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले गरेको अध्ययनलाई आधार मान्ने हो भने अहिले काठमाडौँ उपत्यकाको व्यवसायिक अवस्था ‘ताला झुण्डिएको शहर’का रुपमा चित्रित हुन थालेको छ । कोभिड–१९ को महामारी र त्यसयता लिइएका नीतिगत प्रावधान तथा स्थानीय तहहरुको धरपकडले काठमाडौँ उपत्यकाका २० हजार साना व्यवसायीहरु (खासगरि सडक व्यापारी) पलायन भएका छन् ।

त्यसो त, काठमाडौँ महानगर क्षेत्रभित्र मात्रै फुटपाथमा व्यापार गर्नेहरुको संख्या १० हजारभन्दा बढी रहेको तथ्यांक छ । यस क्षेत्रमा काम गर्ने एक संस्था ‘एकिकृत शहरी विकास केन्द्र’ले गरेको एउटा अध्ययनको प्रतिवेदनले पनि विस्थापित हुनुअघि काठमाडौँका फुटपाथमा १० हजारभन्दा बढीले व्यापार गर्ने गरेका थिए । उक्त संस्थाले काठमाडौँका १ सय १० वटा अनौपचारिक व्यापारिक केन्द्रहरूमा अध्ययन गरेर उक्त तथ्याङ्क तयार पारेको थियो ।

स्वरोजगार संघ, स्वतन्त्र सडक व्यापार श्रमिक संगठन, नेपाल सडक व्यापार ट्रेड युनियन लगायतका संस्थाका अनुसार काठमाडौँ उपत्यकाभित्र ३० हजारभन्दा बढी सडक व्यवसायी रहेको र काठमाडौँ महानगरभित्र मात्रै त्यस्ता व्यवसायीको संख्या १० हजार थियो । यीमध्ये अधिकांश विस्थापित भइसकेका छन् ।

सटर व्यापारी र फुटपाथ व्यवसायीको टसल

सडकमा व्यापार गर्नेहरुका कारण आफूहरुको व्यवसाय चौपट भएको सटरमा व्यवसाय गर्नेहरु दाबी थियो । सटरवालाहरु सडक तथा फुटपाथका व्यवसायीलाई हटाउनुपर्छ भन्ने गर्दथे । काठमाडौँ महानगरले जब फुटपाथ व्यवसायीहरुलाई हटाउन थाल्यो, तब सटरवालाहरु खुशी भए । तर, फुटपाथबाट व्यवसायीहरूलाई हटाएपछि आफूहरु रातारात मालामाल बनिन्छ भन्ने सोच राखेका सटरमा व्यापारीको हविगत पनि अहिले चिन्ताजनक छ ।

फुटपाथ व्यवसायीहरु पलायन हुन थालेको वर्ष दिनमै सटर व्यवसायीहरुको पनि पलायन सुरु भयो । चुलिँदो आर्थिक मन्दीले गल्लीका सटर मात्रै होइन, व्यवसायिक मल र कम्प्लेक्सकै पसलहरुसमेत चल्न छोडे । काठमाडौँको बल्खुस्थित एक व्यवसायिक भवनमा मात्रै अहिले ९ वटा पसल बन्द भइसके ।

‘यहाँ मोबाइल फोन, टेलर्सदेखि जुत्ताचप्पलका भव्य पसलहरु थिए, अहिले मुस्किलले १३ वटा चलेका छन्’ उक्त भवन भित्रकै एक जना व्यवसायी भन्छन्, ‘हामी चाहिँ बजारमा गएको उधारो उठ्ने आशा र बैंकलाई किस्ता तिर्न मात्रै बसेका छौँ, श्रीमती भाषा (जापानिज भाषा) सिक्न थालिसकिन् ।’

उनका अनुसार स्वयम्भूको खुड्किला नै पिच्छे रहने फुटपाथका घडीदेखि मोबाइलका ग्लास फेर्ने पसल, बल्खुको बस स्टेशन आसपास उभिएर मोबाइलका ग्लास फेर्ने र घडी बेच्नेहरु तथा सुन्धारा आसपासमा समेत यस्तै काम गर्नेहरुले त्यहाँबाट सामान लैजान्थे । अहिले यो क्रम ठप्प जस्तै भएको छ ।

‘हाम्रा साथीहरु (जो सटरमा व्यवसाय गर्छन्)ले फुटपाथ व्यापारी हटेदेखि हामीलाई सजिलो हुन्थ्यो भन्ने गर्थे, अहिले उनीहरु हटाइए तर आफ्नै हविगत ओरालो लागेको हरिणको जस्तो भएको छ’ ति व्यवसायी भन्छन्, ‘व्यवसाय भनेको साइकल हो, हाम्रा लागि फुटपाथ व्यवसायीहरु साइकलको एउटा पाङ्ग्रो जस्तै थिए । तर, अहिले यो पाङ्ग्रो घिस्रिन पनि नसक्ने गरि पम्चट भएको छ ।’

विदेश पलायन

काठमाडौँको बागबजारमा स्टेशनरी पसल चलाइरहेका एक जना न्यौपाने थरका व्यक्ति केही दिन अगाडी मात्रै दुबई उडे । पेप्सीकोला क्षेत्रमा इन्टरनेट वितरण गर्ने एक कम्पनीमा कार्यरत घिमिरे थरका व्यक्ति (उक्त कम्पनीमा केही हिस्सा उनको पनि थियो) पनि सोमबार मात्रै विदेश गए ।

शान्तिनगरमा रेडिमेड कपडाको पसल चलाइरहेकी सुवेदी थरकी एक महिला पनि पार्लरको काम गर्न विदेशिइन् । उनकी बहिनी पनि सँगै उडिन् ।

कोटेश्वरको महादेवस्थान नजिकै पार्लर चलाएर बसेकी सोफिया आलेमगर पनि सकेसम्म जापान र त्यहाँ जान सम्भव नभए युएई जाने तरखरमा छिन् । शान्तिनगरमा व्यवसाय चलाइरहेकी शर्मिला केसी पसल बेचेर जुनसुकै देश भएपनि जाने तयारी गर्दैछिन् ।

दोलखाका किरण खड्काले लामो समय अटो पार्टस् पसलमा काम गरे । २०७७ सालमा उनले आफैँले व्यवसाय गर्ने हिम्मत गरेर हात हाले । तर, अहिले व्यवसाय चौपट भएपछि उनी पठाओ चलाइरहेका छन् । उनले पनि मलेसिया जानका लागि म्यानपावरमा पासपोर्ट बुझाइसकेका छन् ।

यी केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । आफ्नै देशमा व्यवसायी बन्ने सपना बोकेका उनीहरु असफलताको भारी बोकेर विदेशिने लाइनमा उभिएका छन् ।

कोरोना महामारी लगत्तैको अन्तर्राष्ट्रिय रुपमै चुलिएको मन्दीले साना तथा मझौला व्यवसायीहरुको पलायन बढाएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवाल बताउँछन् । उनका अनुसार महँगो ब्याजदर र व्यवसायीको संरक्षण नगर्ने अस्थिर नीतिका कारण मुलुकभर ५० प्रतिशत व्यावसायिक सटर खाली भइसकेका छन् । व्यवसायबाट विस्थापित भएकामध्ये ८० प्रतिशत विदेशिएको उनको अनुमान छ ।

संकट टार्ने ‘अचुक’ उपाय के हुन सक्छ ?

काठमाडौँसहित देशका मुख्य व्यापारिक केन्द्रदेखि जिल्ला सदरमुकाम सम्मका साना व्यवसायीहरुको पलायन डरलाग्दो छ । व्यवसायी नै नभएपछि उद्योगको हालत पनि उस्तै छ । यस्तो बेलामा गत जेठ १५ गते सार्वजनिक भएको आर्थिक वर्ष २०८१/०८२ को बजेट उद्यम व्यवसायका लागि ‘अचुक बुटी’का रुपमा आउने अपेक्षा उद्यमी व्यवसायीहरुको थियो । तर, बजेटले साना मझौला व्यवसायीका कुरै समेटेन ।

केही दिन अघि मात्रै राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याएको छ । त्यसबाट केही सहजताको आशामा व्यवसायीहरु थिए । उक्त मौद्रिक नीतिले व्यापार गर्न कर्जा लिएकाहरूको उठिबास लाग्ने क्रम केही हदसम्म रोक्ने विश्वास लिइएको छ । यद्यपी, यो पनि पूर्ण नरहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताइसकेका छन् ।

अर्थतन्त्रका जानकारहरुका अनुसार अहिलेको अवस्था लम्बिन नदिन सरकारले साना मझौला उद्यम व्यवसायलाई आधारभूत संरक्षण गर्नुपर्छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदानमध्ये लघु, घरेलु तथा साना उद्योगको योगदान ९० प्रतिशतभन्दा बढी छ । अहिलेको निराशा चिर्न मौद्रिक नीतिले केही हदसम्म सहयोग गरेको र त्यसले सकारात्मक उर्जाको सञ्चार गराएको भन्दै अब साना तथा मझौला उद्यम व्यवसायहरुको प्रवद्र्धनका लागि उनीहरुलाई संरक्षण गर्न सरकारले लगानी नै गर्ने खालको दीर्घकालिन नीति आवश्यक रहेको जानकारहरु बताउँछन् ।

‘ठूला, साना, मझौला सबै उद्योगहरुको प्रवद्र्धन गर्दै मूलभूत रुपमा साना र मझौला उद्यम व्यवसायको उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र युवा पलायन रोक्ने कार्यक्रम नै आजको आवश्यकता हो’ नेपाल उद्योग वाणिज्य महासंघका एक जना पूर्व अध्यक्षले भने, ‘अहिले आशा पलाएको र उद्यमी व्यवसायीको आत्मविश्वास केही बढेको चाहिँ छ । तर, उद्यम व्यवसाय र अर्थतन्त्रले लय समातिसकेको अवस्था चाहिँ होइन । यद्यपी, पछि पछिल्लो सत्ता समिकरणले उद्यमी व्यवसायीलाई उत्साहित बनाएको छ । मूल कुरा स्थिर सरकार नै हो ।’

- Advertisement -

spot_img

नेपालमा बण्ड मार्केटको विकासका लागि गोष्ठी शुरू, विश्व बैंकका विज्ञ पनि सहभागी

नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (IFC) को...

एस.के. इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्रि...

संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना बनाउन दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण...

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा छुट

कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी...

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३ वटा कम्पनीको...