राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले ४०० के.भीको पश्चिम सेती-न्यू अत्तरिया ( दैजी) विद्युत प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले प्रसारणलाइन निर्माणको अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिइसकेको छ ।
विभागले आज मङ्सिर १० गते सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र आफ्नो लिखित राय प्रतिक्रिया दिन आग्रह गरेको छ।
यो प्रसारणलाइन सुदूरपश्चिम प्रदेश अन्तर्गतको डोटी जिल्लाको शिखर नगरपालिका वडा नं. १०, बनलेकमा प्रस्तावित पश्चिम सेती सबस्टेसनदेखि सोही जिल्लाको जोरायल गाउँपालिका, डडेलधुरा जिल्लाको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका तथा कन्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं. २ मा नेपाल विद्युत प्राधिकरणबाट प्रस्तावित न्यू अत्तरिया ( दैजी) सबस्टेसनसम्म रहने छ । प्रसारणलाइनको कुल लम्बाई ६८ किलोमिटर रहने छ।
यस प्रसारण लाइनको भोल्टेज ४,००,००० भोल्ट, डबल सर्किट रहने र १,५०० मेगावाट सम्मको विद्युत शक्ति प्रसारण गर्न सकिनेछ । यो प्रसारण लाइनको लम्बाई जम्मा ६८ कि.मी. हुनेछ जसमा १५७ वटा टावरहरू निर्माण गरिने छन् । टावरको उचाई अधिकतम ५१.४३ मी. सम्म रहने तथा टावरहरू बीचको दुरी १४९.०२३ मी. देखि ८३९.०८६ मी. सम्म हुनेछ । आयोजना निर्माणका लागि कूल ३१२.३५ हेक्टर जमिन आवश्यक पर्नेछ, जसमध्ये टावर र सबस्टेसन क्षेत्रका लागि १९.९७ हेक्टर जग्गा आवश्यक पर्दछ । यस बाहेक विद्युत मार्गको अधिकार क्षेत्रभित्र (Right of Way) अन्तर्गत २९२.०८ हेक्टर र शिविर तथा भण्डारण क्षेत्रका लागि ०.३ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ ।
प्रसारण लाइनको क्षेत्राधिकार (RoW) विद्युत नियमावली, २०५० मा तोकिए बमोजिम न्यूनतम दुरीमा नघटाई प्राविधिक दृष्टिकोणबाट ४६ मी. (मध्य विन्दुबाट २३ / २३ मी. दायाँ बायाँ) कायम गरिनेछ । प्रसारण लाइनको निर्माण कार्य २.५ वर्षभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ ।
प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा विद्युत ऐन, २०४९ को दफा २४ बमोजिम भू-क्षय, बाढी, वायु प्रदूषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिने कम्पनीले जनाएको छ ।









