नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। संघले बधाई दिँदै पूँजी बजारका विभिन्न नीतिगत तथा व्यावहारिक सुधारतर्फ विशेष ध्यानाकर्षण गराएको छ।
संघका अध्यक्ष एस.पी. चौलागाईले हस्ताक्षर गरेको पत्रमा नेपालको धितोपत्र बजारको विकास, विस्तार, आधुनिकीकरण तथा संस्थागत सुदृढीकरणमा नेप्सेले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख छ। यस्तो गरिमामय संस्थाको नेतृत्वको जिम्मेवारी पाएकोमा संघले शुभकामना व्यक्त गरेको जनाएको छ।
पत्रमा नेपालको पूँजी बजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री, विश्वसनीय र लगानीकर्तामैत्री बनाउनु आजको अपरिहार्य आवश्यकता भएको उल्लेख छ। आम लगानीकर्ताको हित संरक्षण, निष्पक्ष प्रतिस्पर्धी मूल्य निर्धारण, कारोबार प्रणालीको विश्वसनीयता, बजारको तरलता अभिवृद्धि र लगानीकर्ताको विश्वास पुनःस्थापना गर्नु वर्तमान समयका प्रमुख चुनौती रहेको संघको ठहर छ।
पत्रमार्फत संघले नयाँ नेतृत्वसमक्ष देहायका विषयमा विशेष ध्यानाकर्षण गराएको छ:
- नेप्से परिसूचक गणना प्रणालीलाई वास्तविक कारोबारयोग्य शेयरको अवस्थासमेत प्रतिबिम्बित हुने गरी पुनरावलोकन तथा सुधार गर्ने
- अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र भरपर्दो कारोबार प्रणाली विकास गर्ने
- दोस्रो बजारमा लगानीकर्ताको सहज पहुँच तथा कारोबार स्वतन्त्रता सुनिश्चित गर्ने
- बजारको तरलता र कारोबार विस्तारका लागि आधुनिक वित्तीय उपकरण तथा संस्थागत सहभागिता प्रवर्द्धन गर्ने
- शेयर राफसाफ तथा भुक्तानी प्रणालीलाई थप छिटो र प्रभावकारी बनाउने
- बजारको पारदर्शिता, सुशासन र लगानीकर्ता संरक्षणलाई सुदृढ गर्न आवश्यक नीतिगत तथा व्यावहारिक सुधार गर्ने
नयाँ नेतृत्वप्रति विश्वास
संघले नेप्सेको नयाँ नेतृत्वले संस्थागत सुशासन, व्यावसायिक कार्यक्षमता, प्रविधिगत आधुनिकीकरण र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा स्थापित गर्नेमा विश्वास व्यक्त गरेको छ। साथै, नेपालको पूँजी बजारमा आबद्ध लाखौँ लगानीकर्ताको हित संरक्षण गर्दै बजारलाई देशको आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधार बनाउने अभियानमा संघ नेप्से तथा सम्बन्धित नियामक निकायसँग रचनात्मक सहकार्य, नीतिगत सुझाव र संस्थागत समन्वयका लागि सदैव तत्पर रहेको व्यहोरा पनि पत्रमा उल्लेख छ।
सुवेदीको कार्यकाल नेपालको पूँजी बजारको इतिहासमा सुधार, आधुनिकीकरण, पारदर्शिता र लगानीकर्ताको विश्वास पुनःस्थापनाको महत्वपूर्ण कार्यकालका रूपमा स्थापित होस् भन्ने शुभकामना संघले व्यक्त गरेको छ।









