पैसाको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरु सुरक्षाको दृष्टिकोणले जति संवेदनशील हुन्छन्, गरगहनाको किनबेच गरिने सुनचाँदी पसलहरुलाई पनि त्यति नै संवेदनशीलताको दृष्टिले हरिनुपर्ने हो । तर सुन पसल खोल्न न कतैबाट स्वीकृति लिनुपर्छ, न कसैको बलियो नियमनमा बाँधिनु नै पर्छ । केवल एउटा फर्म दर्ता गरेपछि निर्धक्क कारोबार गर्न पाइन्छ ।
वडाको सिफारिस लिएर स्थानीय वाणिज्य कार्यालयमा दर्ता गर्न गएपछि सुन पसल दर्ता हुन्छ । गहना पनि आफैँले बनाएर बेच्ने हो भने घरेलु कार्यालयमा दर्ता हुँदा पुग्छ । त्यसपछि आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर लिनुपर्छ ।
यत्ति गरेपछि अर्को व्यवसायीसँग सुन किनेर कारोबार गर्न त्यो पसल योग्य हुन्छ । वा, सुनचाँदी वा गहनासँग सम्बन्धित व्यवसायिक संगठनमा आवद्ध भएपछि ति संगठनबाट उसले सुनको सिफारिस पाउन थाल्छ । संघको सिफारिस बोकेर गएपछि बैंकबाट सिँधै सुन पाइन्छ । यसरी सहजै दर्ता र कारोबार गर्न सकिने भएकाले पछिल्लो समय बजारमा मात्रै होइन, गल्ली–गल्लीमा गहना पसल खुल्ने क्रम बढिरहेको छ ।
‘हिजोका कालिगढ मालिक भए’
सुनचाँदी व्यवसायीहरु भने पछिल्लो समय गहना पसलहरु बढ्नु स्वभाविक ठान्दछन् । खासगरी, केही वर्ष सुनचाँदी पसलमा कालिगढका रुपमा काम गरेका व्यक्तिहरु अहिले क्रमशः आफैँ व्यवसायी बन्न थालेको उनीहरुको भनाइ छ ।
‘कालिगढहरु क्रमशः व्यवसायी बन्न थाले । पहिला जस्तो ऋण पाउन गाह्रो छैन, सहजै ऋण पाउन थालेपछि पहिलाका कालिगढहरु स्वभाविक रुपमा व्यवसायतर्फ मोडिए’ सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य भन्छन्, ‘अनि जनसंख्या बढेको छ, गरगहनाको डिमाण्ड पनि बढेको छ । डिमाण्ड बढेपछि पसलहरु थपिनु स्वभाविक नै हो ।’
उनका अनुसार विगतमा सुन पसल र कारखाना (गहना बनाउने ठाउँ) फरक फरक हुने भएकाले पनि पसल थोरै देखिन्थे । अहिले पसल र कारखाना साथमै हुने गरेका छन् ।
व्यवसाय बढ्यो, विवरण बुझाउने घटे
आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ सम्मको तथ्याङ्क अनुसार देशभरमा २६ हजार ८५ वटा सुनचाँदी तथा पत्थरको कारोबार गर्ने फर्म तथा कम्पनी छन् । तर, हरेक वर्ष कर तथा कारोबार विवरण बुझाउने फर्म भने घट्दै गएकोमा विभागको चिन्ता छ ।
विभाग स्रोतका अनुसार कुल दर्ता देखिएका (कारोबार सुरु गर्न प्यान लिएका)मध्ये ३९ प्रतिशतले विवरण नै बुझाउँदैछन् । हरेक आर्थिक वर्ष सकिएपछि कारोबार र कर विवरण बुझाउनुपर्ने भएपनि ६१ प्रतिशत पसल/फर्म/कम्पनीले मात्रै विवरण बुझाउने गरेको विभागको तथ्यांक छ ।
त्यसरी विवरण नबुझाउने फर्महरुलाई कसरी खोजी गर्ने भन्नेमा पनि विभागले खासै ध्यान लगाउन सकेको छैन । ‘कोही व्यवसाय नै छोडेर हिडेका हुँदा रहेछन्, कोही चाहिँ पसल आफन्तलाई जिम्मा लगाएर विदेश पुगेका हुँदा रहेछन्’ विभागका एक अधिकारी भन्छन्, ‘हामीले सम्बन्धित क्षेत्र हेर्ने आन्तरिक राजस्व कार्यालयमार्फत बुझ्दा यस्तो रिपोर्ट पाउने गरेका छौँ ।’
साथै, विगतमा राजस्व कार्यालयबाट प्यान नम्बर लिएका तर अहिले विवरण नुझाउने पसल तथा फर्महरुले कतै अनौपचारिक रुपमा कारोबार पो गरिरहेका छन् कि भन्ने आशंकामा विभाग देखिएको छ । अब त्यसरी विवरण नबुझाउने पसलहरुलाई खोज्न ‘फिल्ड’मै निस्कने तयारी गरिएको बताइन्छ ।
सुरक्षा संवेदनशीलता पनि उस्तै
बैंक तथा वित्तीय संस्थामा पर्याप्त सीसीटीभी क्यामेरासहित सुरक्षाका लागि सेक्युरिटी गार्डहरु पनि राखिएको हुन्छ । तर, नेपालका सुनचाँदी एवम् गरगहना पसलमा हुनुपर्ने जति सुरक्षा प्रबन्ध नदेखिने ग्राहकहरु नै गुनासो गर्छन् ।
सुरक्षाका लागि पसलको भित्र र बाहिर एक–एक वटा सीसीटिभी क्यामेरा राख्नुपर्ने नियम व्यवसायीहरुले आफैँले राखेका छन् । तर यो मात्रै पर्याप्त हुँदैन भन्नेमा आफूहरु सचेत रहँदा–रहँदै पनि सुरक्षा गार्ड राख्न सकिने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् । ‘कुनै एउटा निश्चित क्षेत्रमा भएका सुनचाँदी पसलहरुले मिलेर एरियाकै रेखदेख गर्न एक दुइ जना सुरक्षा गार्ड राख्न चाहिँ सक्छन्, तर पसलैपिच्छे यो सम्भव हुँदैन’ एक जना काठमाडौँका व्यवसायी भन्छन्, ‘तर एकै ठाउँमा गहना पसल भएको बजार न्यूरोडबाहेक अर्को छैन ।’









