नेपाली अटो बजारमा ५० लाख मूल्यसम्मका विद्युतीय कार अहिले अधिक रुचाउन थालिएको छ । खासगरी, केही वर्ष ‘इन्ट्री लेवल’का ईभी कुदाइसकेकाहरुले यो सेग्मेन्टका कारमा बढी रुची देखाएको पाइन्छ । अटोमोबाइल्स बजारमा अहिले यो सेग्मेन्टमा तीव्र प्रतिस्पर्धा पनि देखिएको छ ।
विभिन्न कार ब्राण्डहरुसँग ५० लाख मूल्यभित्रै पाइने गजबका मोडलहरु छन् । जसले नेपाली बजारमा चर्चा पनि बटुलिरहेका छन् । पछिल्लो समयका चर्चामा रहेका ५० लाखसम्ममा उपलब्ध हुने ३ ब्राण्डका मोडलबारे यहाँ चर्चा गरिएको छ ।
स्काईवेल बीई११
नेपाली बजारमा ठूलो ईभी एसयूभीका रुपमा परिचय बनाएको स्काईवेल बीई११ मा शक्तिशाली मोटर र फराकिलो सिट पाउन सकिन्छ । ठूलो परिवार र लामो यात्राको लागि यो ईभी निकै उपर्युक्त मोडल हुन सक्छ ।
यसमा ५१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री पाउन सकिन्छ । यसले ८० किलोवाटको डीसी फास्ट चार्जर सर्पोट गर्छ । जसबाट यो ब्याट्री ३५ मिनेटमै ७० प्रतिशतभन्दा बढी चार्ज हुने कम्पनीको भनाइ छ । यसले एकपटकको फूल चार्जमा ४१० देखि ४२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । १५० किलोवाट क्षमताको शक्तिशाली मोटर पावर भएको यो ईभीको ग्राउण्ड क्लियरेन्स १८० एमएम हाराहारी छ । यसलाई बिक्रेता कम्पनी एलआरआर मोटर्सले यो सेग्मेन्टमा नेपाली बजारमा उपलब्ध एसयूभी मध्येकै सबैभन्दा लक्जरी एसयूभी भन्ने गरेको छ ।
यसको मूल्य ४९.९९ लाख रुपैयाँ रहेको छ । गाडीको साइज, क्षमता र धेरै स्पेसले गर्दा अहिले यो ईभी नेपाली अटो पारखीको रोजाई बन्न थालिसकेको छ । कम्पनीले ‘नाडा अटो शो’का क्रममा बुकिङ गरेका ग्राहकहरुलाई अहिले धमाधम गाडी डेलिभरी दिइरहेको छ ।
बिवाईडी एट्टो २
बिवाईडी एट्टो–२ नेपाली बजारमा चल्तीको मोडल हो । एट्टो २ को प्रिमियम भेरियन्टमा ५१ किलोवाट आवरको ब्लेड ब्याट्री पाउन सकिन्छ । यसलाई डीसी फास्ट चार्जरबाट ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले दाबी गरेको छ । यसले ३४५ किलोमिटर रेन्ज दिने बताइन्छ ।
१०० किलोवाट क्षमताको मोटर पावर भएको एट्टो–२ को प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साइमेक्स इंकले नेपाल ल्याउने बिवाईडी एट्टो २ को ग्राउण्ड क्लियरेन्स २० एमएम भएपनि यसले दिने रेन्ज भने तुलनात्मक रुपमा कम छ ।
प्रोटोन ईमास–७
यहीँ सेग्मेन्टमा प्रोटोन ईमास–७ पनि छ । ४९ किलोवाट आवरको ब्याट्री प्याकमा आउने यो ईभीले ३४५ किलोमिटर रेन्ज दिने कम्पनी क्लेम छ । यसको ग्राउण्ड क्लियरेन्स जम्मा १७३ एमएम मात्र भएकाले खाल्डाखुल्डी वा कच्ची बाटोमा चलाउँदा अधिक सावधानी अपनाउनुपर्ने हुन्छ ।
१६० किलोवाटको मोटर पावर भएको यसको प्राइम भेरियन्टको मूल्य नेपाली बजारमा ४९.९९ लाखबाट सुरु छ ।









