प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अर्थतन्त्र र उद्यम व्यवसायसँग सम्बन्धित मुद्दाहरुमा केन्द्रित भएको भन्दै नेपालको निजी क्षेत्र उत्साहित देखिएको छ । भएका सहमतिहरु कार्यान्वयन हुँदै जाँदा नेपालको ऊर्जा, पर्यटन, पूर्वाधार र समग्र अर्थतन्त्रको विकासका लागि यो भ्रमण महत्वपूर्ण सावित हुँदै जाने निजी क्षेत्रका प्रतिनिधिहरुको बुझाई छ ।
‘बि–टू–बी’मार्फत विद्युत व्यापार बढ्छ भन्ने देखियोः गणेश कार्की
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का निवर्तमान अध्यक्षसमेत रहका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका सल्लाहकार गणेश कार्कीले यसपटकको प्रधानमन्त्रीको भारत भ्रमणले ‘दुइ देशका निजी क्षेत्रले आपसमा सम्झौता गरेर व्यवसाय विस्तार गर्न सक्छन्’ भन्ने देखाएको बताएका छन् । नेपालमा लगानी गर्न भारतीय लगानीकर्ताहरुले चासो बढाइरहेको भन्दै उनले नेपालबाट विद्युतको निकासीका लागि पनि दुइ देशका निजी क्षेत्रले आपसमा सम्झौता गरेर जान सक्छन् भन्ने सन्देश दिएको बताएका हुन् ।
‘भारतले यसअघि नै १० हजार मेगावाट विद्युत नेपालबाट लिने भनिसकेको छ, यसपाली त्यसमा यति थपेर यतिवर्षभित्र किन्ने भन्ने त आएन’ उनी भन्छन्, ‘तर, निजी क्षेत्रमार्फत व्यापार बढ्छ भन्ने चाहिँ देखियो । किनकी, नेपालको निजी क्षेत्रले आफैँ विद्युत व्यापारको अनुमति पाउँनासाथ नेपालबाट ऊर्जा आयात गर्न तयार रहेका धेरै लगानीकर्ता भेटिए ।’ साथै, यसका लागि नेपाल सरकारले ऐन संशोधनको प्रक्रियासमेत अघि बढाएकाले चाँडै यसको नतिजा देखिने उनको विश्वास छ ।
यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा घोषित २४० अर्बको प्याकेजमा अधिकांश हिस्सा ऊर्जा पूर्वाधारमा खर्च गर्ने विषय समावेश हुनुले यसको कार्यान्वयन हुँदै जाँदा नेपालको पूर्वाधार विकासदेखि रोजगारीसम्म योगदान पुग्ने कार्कीको विश्वास छ । पञ्चेश्वर परियोजना अघि बढाइने सहमति हुनु, ६६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाको निर्माण थालिनु, रेल सेवा विस्तार हुनु, हवाई रुटको विस्तार सहमति जुट्नु लगायतका कुराहरुले नेपालको अर्थतन्त्रमा ‘भाइब्रेन्ट क्रियट’ गर्ने उनको बुझाई छ ।
हामी उत्साहित नै छौँः वीरेन्द्रराज पाण्डे
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमण राम्रो भएको बताएका छन् । उनले भैरहवाबाट दोहोरो एयर रुट प्राप्त हुने कुरा, थप दुइवटा बन्दरगाहको प्रयोग गर्न पाउने कुरा र थपिएको अयोध्या–जनकपूर रेल सेवा सञ्चालनले सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।
त्यस्तै, तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास, २४० अर्बको आर्थिक सहयोग प्याकेजको घोषणा लगायतका धेरै विषय आर्थिक दृष्टिकोणले उपलब्धिमूलक भएको अध्यक्ष पाण्डेको भनाइ छ । ‘अब विगतको अनुभवबाट सिकेर यसपटक भएका सम्झौता र सहमतिहरुको प्रभावकारी कार्यान्वयनका लागि नेपालको तर्फबाट प्रयास बढाउँदै जानुपर्छ’ उनले भने, ‘समग्रमा भन्नुपर्दा भ्रमणले नेपाली निजी क्षेत्रलाई उत्साहित नै बनाएको छ ।’
नयाँ आयामको रुपरेखा तयार भयोः कमलेश कुमार अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले प्रधानमन्त्री शाहको भारत भ्रमणबाट नेपाल–भारत आर्थिक सम्बन्ध नयाँ आयामा प्रवेश गर्ने रुपरेखा तयार भएको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा घोषित २४० अर्बको आर्थिक सहायता प्याकेजमध्ये ५६ अर्ब अनुदान प्राप्त हुने घोषणा हुनु, व्यापार सहजीकरण र नेपाली वस्तुको निकासी प्रवद्र्धनका कुरा (एन्टी डम्पिङ शुल्क जस्ता कुरा संशोधन हुने गरी) समावेश हुनु नेपाली अर्थतन्त्रका लागि सकारात्मक भएको उनको भनाइ छ ।
यसैगरी, थप दुइवटा बन्दरगाह (पारादीप र कान्डला) सम्म पहुँच प्राप्त हुँदा त्यसले नेपाली व्यवसायीहरुले तयारी वस्तु र कच्चापदार्थ आयात गर्दा लजिस्टिक कस्ट घट्ने भएकाले यो पनि सकारात्मक रहेको अध्यक्ष अग्रवाल बताउँछन् । भैरहवा क्षेत्रबाट दुइतर्फी हवाई रुट खुला हुँदा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा मद्दत पुग्ने, जनकपूर–अयोध्या रेल सेवा सुरु भएकाले यसबाट धार्मिक पर्यटन विस्तारमा सघाउ पुग्ने देखिएको बताउँदै उनले सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन शिलान्यास हुनु, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना शिलान्यास हुनु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
साथै, आफूहरुले भारतीय लगानीकर्तासँग औपचारिक र अनौपचारिक छलफल गर्दा भारतीय लगानीकर्ताहरु नेपालका खानी, जलविद्युत, मेडिकल शिक्षा, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आकर्षित देखिएको भन्दै अग्रवालले अब नेपालले यसका लागि नीतिगत र कानूनी सुधार गर्दै जानुपर्ने आवश्यकता पनि औल्याएका छन् ।
छोटो भ्रमणले पनि सकारात्मक सन्देश दियोः नरेशलाल श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले भ्रमण छोटो भएपनि छलफल र उपलब्धिका दृष्टिकोणले सकारात्मक सन्देश दिन सफल भएको बताएका छन् । उनले जनकपूरदेखि अयोध्यासम्म रेल सेवा सुरु भएकाले यसले नेपालको पर्यटन क्षेत्रलाई ‘भाइब्रेन्ट’ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
साथै, थप दुइवटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सहमति हुनु सकारात्मक भएपनि यो विषयलाई तत्काल प्राविधिक अध्ययन गरेर दुइ देशका अधिकारीहरुले टुङ्ग्याउनुपर्ने आवश्यकता उनले औल्याएका छन् । यसैगरी, भैरहवा हुँदै प्रवेश गर्ने एयर रुटका सम्बन्धमा पनि भएको सहमतिलाई चाँडै प्राविधिक अध्ययन सकेर अन्तिम रुप दिनुपर्ने उनको भनाइ छ ।
‘हामीले ट्यारिफ लगायतका विषयमा पनि स्पष्ट सहमति हुन सकोस् भन्ने चाहेका थियौँ, तर त्यो भएन’ उपाध्यक्ष श्रेष्ठले भने, ‘नेपाल सरकारले नै नेपाली निजी क्षेत्र, भारतीय लगानीकर्ता र राजनीतिक नेतृत्वलाई सँगै राखेर छलफल गराएको भए अझ राम्रो हुन्थ्यो । भ्रमण अवधि छोटो भएर होला, त्यो सम्भव भएन । यद्यपी, निजी क्षेत्रले ‘नेपाल–भारत बिजनेश फोरम’ आयोजना गरेर छलफल चलायो । त्यसले पनि राम्रै सन्देश प्रवाह गरेको छ ।’
समग्र अर्थतन्त्रमा नयाँ आशा पलायोः अर्जनु कुमार श्रेष्ठ
एनआरएनएका पूर्वउपाध्यक्षसमेत रहेका औषधि उद्यमी अर्जनु कुमार श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपाली उद्यम–व्यवसायको नयाँ आशा जागृत गराएको बताएका छन् । भारतीय प्रधानमन्त्रीबाटै अनुदान र सहुलियत ऋण गरी पूर्वाधारको विकासमा खर्चिने गरी २४ हजार करोडको विकास सहायता घोषणा हुनु भ्रमणको मुख्य लाभमध्ये एक भएको उनको भनाइ छ ।
साथै, नयाँ बन्दरगाहसम्मको पहुँच स्थापित हुने गरी भएको समझदारीले नेपालले तेस्रो मुलुकबाट गर्ने आयातको खर्च घट्ने र रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सर्वेक्षण टुङ्गो लगाउने विषयले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने श्रेष्ठको विश्वास छ ।
भैरहवा क्षेत्रबाट हवाईमार्ग दुईतर्फी बनाउने, ६६९ मेगावाटको लोअर अरुण जलविद्युत् आयोजनाको शिलान्यास लगायतका धेरै कुराहरुले भ्रमण उपलब्धिमूलक भएको देखाउने उनको भनाइ छ । यसैगरी, सूचना प्रविधि, कृषि, एकिकृत जाँचचौकी निर्माण, औद्योगिक पार्क निर्माण जस्ता उपलब्धिले नेपालको दीगो आर्थिक विकासमा योगदान पुग्ने उद्यमी श्रेष्ठको विश्वास छ ।









