विश्वकै धनी व्यक्ति एलन मस्कका दुई सबैभन्दा ठूला कम्पनी टेस्ला (Tesla) र स्पेसएक्स (SpaceX) मर्ज हुने सम्भावनाले विश्व व्यापार जगत् तरंगित भएको छ। ब्लुमबर्गका अनुसार यो सम्झौता यही डिसेम्बरमै घोषणा हुन सक्छ र यो इतिहासकै सबैभन्दा ठूलो सम्झौता हुनेछ। यद्यपि केही रिपोर्टले घोषणा २०२७ को सुरुसम्म सर्न सक्ने सङ्केत गरेका छन्। अक्टोबरमा मस्कले आफैँले दुवै कम्पनी गाभ्ने सम्भावना अध्ययन भइरहेको बताएका थिए।
जुनमा सेयर बजारमा सूचीकृत भएपछि स्पेसएक्सको बजार मूल्य १.९ खर्ब डलर नाघेको छ भने टेस्ला करिब १.५ खर्ब डलरको छ। फाइनान्सियल टाइम्सका अनुसार गाभिएपछिको कम्पनीको मूल्य कम्तीमा ३.५ खर्ब डलर हुनेछ। एक वाल स्ट्रिट विश्लेषकका अनुसार टेस्ला सेयरधनीले प्रिमियम माग गर्ने भएकाले सम्झौताको मूल्य करिब ५ खर्ब डलरसम्म पुग्न सक्छ। अहिलेसम्मका सबैभन्दा ठूला कम्पनी गाभ्ने सम्झौता केही सय अर्ब डलरका हुन्। त्यसैले यो सम्झौता पुरानो कीर्तिमानभन्दा कयौँ गुणा ठूलो हुनेछ।
दुवै कम्पनीमा नियन्त्रणको केन्द्रमा एलन मस्क नै छन्। टेस्लामा मस्कसँग करिब २० प्रतिशत सेयर छ। स्पेसएक्सामा मस्कसँग करिब ४८ प्रतिशत सेयर छ। विशेष मताधिकार भएका सेयरका कारण उनीसँग करिब ८५ प्रतिशत मतको नियन्त्रण छ। बाँकी हिस्सा सर्वसाधारण लगानीकर्ता, ठूला संस्थागत लगानीकर्ता र अन्य सेयरधनीसँग छ।
टेस्ला विद्युतीय गाडी (EV) बनाउने विश्वप्रसिद्ध कम्पनी हो। यसले ब्याट्री भण्डारण प्रणाली र सोलार ऊर्जा उत्पादन पनि बेच्छ। हाल कम्पनीले आफैँ चल्ने गाडी (Autonomous driving), रोबोट्याक्सी र मानवाकार रोबोट “अप्टिमस” मा ठूलो लगानी गरिरहेको छ।
स्पेसएक्स रकेट र अन्तरिक्ष प्रविधिको कम्पनी हो। यसले पुनः प्रयोग गर्न मिल्ने रकेट (फाल्कन ९) बाट उपग्रह र अन्तरिक्षयात्री अन्तरिक्षमा पुर्याउने,
स्टारलिङ्क उपग्रहमार्फत इन्टरनेट सेवा दिने, मङ्गल ग्रहसम्म पुग्ने उद्देश्यले विशाल “स्टारशिप” रकेट बनाउने लगायतका काम गर्छ। स्पेसएक्सले सूचीकरणअघि मस्कको कृत्रिम बुद्धिमत्ता (AI) कम्पनी xAI पनि किनिसकेको छ। मर्जरपछिको कम्पनी विश्वको सबैभन्दा बढी बजार मूल्य भएको कम्पनी बन्न सक्छ।
रिपोर्ट र विश्लेषकका अनुसार टेस्लाको गाडी र रोबोटमा चल्ने AI सफ्टवेयर र स्पेसएक्स/xAI को AI प्रविधि एकै छातामुनि ल्याउने योजना छ। स्पेसएक्सले अन्तरिक्षमा डेटा सेन्टर बनाएर AI को कम्प्युटिङ लागत घटाउने योजना बनाएको छ। धेरै कम्पनी चलाउँदा मस्कको ध्यान र स्रोत बाँडिन्छ भन्ने चिन्ता लगानीकर्ताबीच पुरानै हो। मस्कको साम्राज्य एकीकरण गर्न पनि मर्जरको योजना अघि सारिएको हो ।
मर्जरको लागि दुवै कम्पनीले पाँच संचालक र तीन लगानी बैंक (स्पेसएक्सका लागि मोर्गन स्टेनली र गोल्डम्यान स्याक्स, टेस्लाका लागि एभरकोर) नियुक्त गरेका छन्। वार्ता सम्झौतामा प्रत्यक्ष आर्थिक स्वार्थ नभएका संचालकहरु रहेका विशेष समितिले गरिरहेका छन्।
मर्जरमा के बाधक छ ?
टेस्ला सेयरधनीको मत: टेस्लाको विधानअनुसार कुल बाँकी सेयरको बहुमतले स्वीकृति दिनुपर्छ, र २०२५ मा यही नियमले xAI मा लगानीको एउटा गैर-बाध्यकारी प्रस्ताव असफल बनाएको थियो।
नियामक चिन्ता: टेस्लाले चीनमा गाडी बनाउँछ र बेच्छ, जबकि स्पेसएक्स अमेरिकी राष्ट्रिय सुरक्षासँग जोडिएको छ। रक्षा विभाग र नासासँगका सम्झौताको पनि समीक्षा हुन सक्छ। बैंक अफ अमेरिकाका विश्लेषकका अनुसार चीन मुख्य नियामकीय जोखिम हो।
नियन्त्रणको प्रश्न: टेस्लामा “एक सेयर, एक मत” छ, तर स्पेसएक्समा मस्कको नियन्त्रण सुरक्षित छ। सेयर साट्दा टेस्ला लगानीकर्ताले यही नियन्त्रण संरचना स्वीकार गर्नुपर्छ।
स्वार्थ बाझिने सवाल: टेस्लाका निर्देशक इरा एरेनप्रिस फेब्रुअरीदेखि स्पेसएक्सको बोर्डमा पनि छन्, जसले स्वतन्त्र निर्णयबारे प्रश्न उठाएको छ।









