आज आइतबार बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीले विकास हाइड्रोपावरको प्रसारणलाइनमा क्षति पुगेको छ । कम्पनीका अनुसार प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ। आयोजना भने पूर्णरुपमा सुरक्षित छ।
हालसम्म क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रसारण लाइनमा भएको क्षतिको अवस्था, मर्मतसम्भारमा लाग्ने समय तथा आयोजना पुनः सञ्चालन गर्न सकिने समयबारे अहिले नै निश्चित रूपमा भन्न सकिने अवस्था छैन। यसका कारण आयोजना सञ्चालन अनिश्चितकालका लागि प्रभावित भएको छ।
विशेषगरी सोतीदेखि आर्खेत सम्मको तल्लो भूभागमा रहेको हाम्रो प्रसारण लाइन बुढीगण्डकी नदीको किनारैकिनार फैलिएको हुँदा बाढीबाट थप क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ।
दशैँ नजिकिँदै गरेको अवस्थामा जनशक्ति परिचालन, आवश्यक सामग्रीको व्यवस्थापन, क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने कार्य थप चुनौतीपूर्ण हुन सक्ने देखिएको कम्पनीले जनाएको छ। यद्यपि, क्षतिको विस्तृत मूल्याङ्कन गरी आवश्यक मर्मत तथा पुनः सञ्चालनका लागि यथाशीघ्र पहल गरिने कम्पनीले उल्लेख गरेको छ।









