दशैँका लागि काठमाडौँबाट बाहिरिने यात्रु बढेसँगै जहाजको टिकट पाउन मुस्किल रहेको र पाइहाले पनि महँगो मूल्य तिर्नुपर्ने अवस्था रहेको गुनासो वर्षैपिच्छे आइरहन्छ । हरेक वर्षजसो काठमाडौँ–धनगढी र काठमाडौँ–दिल्लीको टिकट मूल्यबीच तुलना गरेर ‘धनगढी जानभन्दा दिल्ली जान सस्तो’ भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखिन्छ ।
अहिले काठमाडौँबाट देशका विभिन्न गन्तव्यमा जानका लागि दशैँको टीकाको दिन सम्मको हवाई टिकट पाइँदैन । झन यसपालि बाढी र पहिरोका कारण स्थलमार्गबाट यात्रा जोखिमपूर्ण र अनिश्चित हुने अनुमान गरेर हवाई टिकट बुक गर्ने यात्रुहरु बढेका छन् ।
जहाजको संख्या कम हो ?
हरेक वर्ष एउटै प्रकृतिको समस्या दोहोरिने गर्दा यात्रुहरुमा जहाजको संख्या कम भएर यस्तो समस्या देखिएको हो कि भन्ने अनुमान पनि छ । तर, एयरलाइन्स अपरेटर्स एसोसियशनका अध्यक्ष प्रताप जंग पाण्डेका अनुसार अहिलेको चाप ‘सिजनेवल’ हो । ‘चाडवाडको बेला चाप हुन्छ, सिजनेवल डिमाण्ड हो’ उनी भन्छन्, ‘जहाजको संख्या कम भएर सिर्जना भएको समस्या होइन ।’
उनका अनुसार यसवर्ष बाटो अवरुद्द, बाटो बन्द जस्ता समस्याका कारण पनि वायुसेवा कम्पनीहरुमा टिकटको चाप परेको हो । दशैँका बेलामा यस्तो चाप अधिक रहने र तिहारका बेलामा सामान्यभन्दा केही मात्रामा मात्रै बढ्ने हुन्छ । ‘चाडवाडको बेलामा इस्यू भएको टिकट हेरेर जहाज नै थप्ने भन्ने हुँदैन, वर्षभरीमा एक÷दुइ हप्ता मात्रै हो यस्तो’ अध्यक्ष पाण्डे थप्छन्, ‘दशैँको टीकाको दिनसम्म काठमाडौँबाट जाने बढी हुन्छन्, आउँदा जहाजहरु खाली आउनुपर्छ । टीकाको दिनपछि फर्किने बढी हुन्छन्, यताबाट जाने यात्रु हुँदैनन् ।’
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुल पनि चाडवाडको बेलामा हुने यात्रु चापलाई हेरेर एयरलाइन्स कम्पनीहरुले आफ्नो बिजनेश मोडल नबनाउने बताउँछन् । अहिले भइरहेकै जहाजले पनि पर्याप्त उडान गर्न नपाइरहेको भन्दै उनले दशैँका बेला टिकट नपाउने वा महँगो मूल्य तिर्नुपर्ने विषय जहाजको संख्यासँग मात्रै निर्भर नरहेको उनको भनाइ छ । क्यानका अनुसार नेपालमा अहिले ट्रंक रुटमा उड्ने ३१ वटा र छाटो रन–वे भएका विमानस्थलमा उड्ने ११ वटा जहाजहरु छन् ।
एयरपोर्टको सिमित क्षमता नै प्रमुख कारक
क्यानका सूचना अधिकारी भुलका अनुसार सामान्य अवस्थामा काठमाडौँ विमानस्थलबाट दैनिक १२ हजार प्यासेन्जर उड्छन् भने दशैँका बेला दैनिक १५ देखि १६ हजार यात्रुहरुले सेवा लिन्छन् । मुख्य चाडपर्वका बेला सामान्य अवस्थाको तुलनामा यात्रुको चाप ४० प्रतिशतसम्म बढ्ने गरेको तर, एयरपोर्टको क्षमताका कारण एयरलाइन्स कम्पनीहरुलाई उनीहरुले मागेजति उडान अनुमति दिन नसकिएको उनको भनाइ छ । सूचना अधिकारी भुलले एयरपोर्टको क्षमता विस्तारको कुरा विमानस्थलको टर्मिनल भवन बनाउने मात्रै नभई ‘एयर नेभिगेशन क्यापासिटी’ पनि बढाउनुपर्ने आवश्यकता औल्याएका छन् ।
१० वर्ष पहिलाको दरमा टिकट
अहिले एयरलाइन्सको टिकट महँगो भएको चर्चा पनि भइरहेको छ । तर, एयरलाइन्स कम्पनीहरुका कारण टिकट महँगो नभएको क्यानका सूचना अधिकारी भुलले प्रष्ट पारेका छन् । उनका अनुसार एयरलाइन्सको टिकटमा लागत दर, इन्धनको मूल्य, एयरपोर्ट ट्याक्स र मूल्य अभिवृद्धि करको मुख्य भूमीका हुन्छ ।
‘२०७३ सालमा सरकारले लागत दर तोकिदिएको छ, १० वर्ष भइसक्दा पनि रिभ्यू भएको छैन । जबकी त्यतिबेला डलरको मूल्य ९०÷९५ रुपैयाँ जति थियो, अहिले १५० नाघिसकेको छ’ भुलले भने, ‘दशैँ तिहारमा यात्रुको चाप बढ्छ भन्ने भएपछि राज्यले भ्याट छुट दिए भयो । निगमले इन्धनको मूल्यमा छुट दिए हुन्थ्यो । एयरपोर्ट ट्याक्स छुट गरिदिँदा हुन्थ्यो । राज्यले चाहिँ केही पनि सपोर्ट नगर्ने, अनि टिकट महँगो भयो भनेर मात्रै हुँदैन । सस्तोमा टिकट बेच्नु भनेर नियमानुसार भन्न पनि सकिँदैन ।’
क्यानका अनुसार १९ सिटभन्दा ठूलो क्षमताको जहाजमा न्यूनतम् र अधिकतम् भनेर टिकटको मूल्य तोकिएको छ । यहीँ न्यूनतम् र अधिकतम् सिलिङको बीचमा रहेर एयरलाइन्स कम्पनीले मूल्य तोकेका हुन्छन् । ‘१०० रुपैयाँको टिकट इस्यू हुँदा एयरलाइन्स कम्पनीले पाउने भनेको ३० रुपैयाँ मात्रै हो, ७० रुपैयाँ सरकार, एयरपोर्ट र आयल निगमले पाउने हो’ भुल थप्छन्, ‘काठमाडौँ–दिल्लीको अपर फेयर १ लाख ५० हजार छ, तर न्यूनतम् फेयरलाई देखाएर काठमाडौँ–धनगढीको अपर फेयरसँग तुलना गरेर हल्ला भइरहेको छ । जुन सान्दर्भिक होइन ।’









