आज संसदमा आर्थिक सर्वेक्षण पेश भएको छ। आज बुधबारको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।
सर्वेक्षण पेश गर्दै अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२/८३ मा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको बताए। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान गरिएको मन्त्री वाग्लेले बताए।
बजेट सार्वजनिक गर्नु भन्दा अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिन्छ । आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ ।
सर्वेक्षणमा समग्र आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शिर्षक रहन्छन् । त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन, आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् । सर्वेक्षणमा यी शीर्षकसँग सम्बन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् ।
अर्थमन्त्री वाग्लेले भोलि बिहिबार सार्वजनिक संस्थानको पछिल्लो अवस्थाको प्रतिवेदन सार्वजनिक गर्ने छन् भने पर्सि शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेश हुने छ।
५६ बुँदामा हेर्नुस् आर्थिक सर्वेक्षणको सारांश
१. विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्यपूर्वी एशियामा जारी द्वन्द्वका कारण सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान छ। उपभोक्ता मुद्रास्फीति ६.० प्रतिशत माथि रहने जोखिम रहेको छ।
२. नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२/८३ मा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान छ।
३. कुल गार्हस्थ्य उत्पादन (GDP) को संरचनामा कृषि र गैरकृषि क्षेत्रको योगदान क्रमशः २४.० प्रतिशत र ७६.० प्रतिशत रहने अनुमान छ । पछिल्लो दशकको प्रवृत्ति हेर्दा कृषि क्षेत्रको योगदान घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको छ ।
४.चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीयक र सेवा क्षेत्रको योगदान क्रमश: २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ ।
५. चालु आर्थिक वर्षमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमश: १.५८ प्रतिशत र ४.५४ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.०५ प्रतिशत र ४.१२ प्रतिशत रहेको थियो ।
६. चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन रु. ६६ खर्ब ९ करोड रहने अनुमान छ । यसमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत योगदान रहने अनुमान छ ।
७. नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च रहेको छ । चालु वर्षको कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९०.३ प्रतिशत रहने अनुमान छ । कुल उपभोगमा निजी क्षेत्र, सरकारी क्षेत्र र गैरसरकारी क्षेत्रको हिस्सा क्रमशः ९१.२६ प्रतिशत, ६.६२ प्रतिशत र २.१२ प्रतिशत रहने अनुमान छ ।
८. चालु आर्थिक वर्षमा अमेरिकी डलरमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ तथा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ पुग्ने अनुमान छ । प्रदेशगत रुपमा तुलना गर्दा चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान छ ।
९. सार्वजनिक वित्तका अधिकांश परिसूचक मिश्रित अवस्थामा रहेका छन् । चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च १०.४ प्रतिशत र सङ्घीय राजस्व ३.२ प्रतिशतले बढेको छ। यस अवधिमा सङ्घीय सरकारको वित्त सन्तुलन रु.५८ अर्ब १ करोड र प्राथमिक सन्तुलन रु.९ अर्ब ३९ करोडले घाटामा रहेका छन् ।
१०. आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय इकाइको एकीकृत राजस्व सङ्कलन रु. १२ खर्ब ८१ अर्ब ७० करोड रहेको छ । सङ्कलित राजस्वमध्ये सङ्घको ९२.१ प्रतिशत र प्रदेश तथा स्थानीय तहको ७.९ प्रतिशत हिस्सा रहेको छ । यस अवधिमा सङ्घीय इकाइबाट भएको एकीकृत खर्च रु.१७ खर्ब ७५ अर्ब ४७ करोडमध्ये चालु पुँजीगत र वित्तीय व्यवस्थातर्फको खर्चको हिस्सा क्रमशः ५३.२ प्रतिशत, २८.० प्रतिशत र १८.८ प्रतिशत रहेको छ ।
११. २०८२ फागुनसम्म कुल सार्वजनिक ऋण रु.२८ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ । यसमध्ये आन्तरिक ऋण ४६.८ प्रतिशत र बाह्य ऋण ५३.२ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा २०८१ फागुनमा सरकारको सार्वजनिक ऋण ४३.२ प्रतिशत रहेकोमा २०८२ फागुनमा ४३.६ प्रतिशत रहेको छ ।
१२. आर्थिक वर्ष २०८१/८२ मा तीन तहका सरकार बीच भएको अनुदान हस्तान्तरण ३.७ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ७३ अर्ब ९८ करोड पुगेको छ । गत आर्थिक वर्षमा यस्तो हस्तान्तरण १४.९ प्रतिशतले सङ्कुचन भई रु. ३ खर्ब ६० अर्ब ६३ करोड रहेको थियो ।
१३. आर्थिक वर्ष २०८१/८२ मा अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा र २ बन्द अवस्थामा रहेका छन् । अघिल्लो आर्थिक वर्षमा २८ वटा नाफामा, १५ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका थिए ।
१४. २०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको शेयर लगानी रु. ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी रु. ४ खर्ब २८ अर्ब ३१ करोड गरी कुल रु.७ खर्ब ९८ अर्ब ५६ करोड रहेको छ ।
१५. मुद्रास्फीति बाञ्छित सीमामा रहेको छ । चालु आर्थक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.७२ प्रतिशत रहेको थियो ।
१६. वित्तीय पहुँच विस्तार हुँदै गएको छ । २०८२ फागुनसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या ६ करोड २० लाख ६० हजार २ सय २२ पुगेको छ भने कर्जा खाताको सङ्ख्या २० लाख ४० हजार १ सय ४८ पुगेको छ । मोबाइल बैकिङ्ग प्रयोगकर्ता २ करोड ९४ लाख र इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २३ लाख ७४ हजार पुगेका छन् ।
१७. २०८२ फागुन मसान्तमा जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी र कुल पुँजीको अनुपात क्रमशः ९.६१ प्रतिशत र १२.६४ प्रतिशत रहेको छ । यस अवधिमा कर्जा निक्षेप अनुपात ७४.०७ प्रतिशत कुल निक्षेपमा कुल कर्जाको अंश ८०.०७ प्रतिशत र बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात ५.४२ प्रतिशत पुगेको छ ।
१८. बैङ्क तथा वित्तीय संस्थामा अधिक तरलता रहेता पनि निजी क्षेत्रतर्फको कर्जा प्रवाह सुस्त छ । चालु आर्थिक वर्षको फागुनसम्म बैङ्क तथा वित्तीय संस्थाको निक्षेप ६.६४ प्रतिशतले वृद्धि भई रु.७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले वृद्धि भई रु.५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको छ।
१९. डिजिटल भुक्तानीतर्फ उल्लेख्य सुधार भएको छ । २०८२ फागुनसम्म क्युआरमा आधारित कारोबार रु.१ खर्ब २५ अर्ब भन्दा बढी पुगेको छ ।
२०. २०८२ फागुन मसान्तमा नेप्से सूचकाङ्क २८२०.४५ विन्दु कायम भएको छ । यस अवधिमा कुल बजार पुँजीकरण रु.४७ खर्ब ४४ अर्ब पुगेको छ । डिम्याट खाता खोल्नेको सङ्ख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कुल जनसङ्ख्याको करिब २६.० प्रतिशत हो ।
२१. चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई रु.१० खर्ब ९८ अर्ब १४ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले बढेको थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.९ प्रतिशत पुगेको छ।
२२. चालु आर्थिक वर्षको फागुनसम्म विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई रु. १४ खर्ब ४९ अर्ब ७० करोड पुगेको छ । विप्रेषण आप्रवाहमा भएको उच्च वृद्धिका कारण शोधनान्तर स्थिति रु.६ खर्ब ५८ अर्बले बचतमा रहेको छ भने चालु खाता रु.५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ ।
२३. विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । २०८२ फागुनसम्म कुल सञ्चिति रु.३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ । यस्तो सञ्चिति १८. ५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
२४. सामाजिक क्षेत्रका परिसूचकमा सकारात्मक सुधार हुँदै गएको छ । निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ । उपभोगमा आधारित जिनी गुणक ०.३० र लैङ्गिक विकास सूचकाङ्क ०.८८५ रहेको छ।
२५. राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत २०८२ फागुनसम्म विभिन्न बालीका २१ सुपरजोन, २०६ जोन, १ हजार ६ सय ९९ ब्लक र ९ हजार ३ सय ९३ पकेट सञ्चालनमा रहेका छन् ।
२६. सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । २०८२ फागुनसम्म कृषियोग्य जमिनको ४४.६ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.६ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ।
२७. वन क्षेत्रको विस्तार हुँदै गएको छ । नेपालको कुल भू-भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकेको छ । विश्वको कुल भू-भागको ३२.० प्रतिशत (४.१४ अर्ब हेक्टर) भू-भाग वनले ढाकेको छ ।
२८. भूमिसुधार अन्तर्गत १३५ मालपोत कार्यालयमा अनलाइन प्रणाली (LRIMS) लागू भएको छ। विभिन्न ११४ भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाईन प्रविधिमार्फत् जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्नसक्ने प्रणाली सञ्चालनमा छ ।
२९. २०८२ फागुनसम्म कुल ३२ हजार ३ सय २५ सहकारी संस्थामा आवद्ध सदस्य संख्या १ करोड १ लाख पुगेको छ । यस्ता संस्थाबाट रु. १० खर्ब २९ अर्ब बचत परिचालन भएको छ ।
३०. चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागबाट रु. ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्ड नेपालबाट रु. १ खर्ब २ अर्ब २६ करोड गरी रु. ४ खर्ब ९२ अर्ब बराबरको लगानी स्वीकृत भएको छ । यससँगै २०८२ फागुनसम्म उद्योग क्षेत्रमा रु.५४ खर्ब ४४ अर्ब ६ करोड बराबरको कुल लगानी स्वीकृत भएको छ ।
३१. चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागमा ९२१ थप उद्योग दर्ता भई २०८२ फागुनसम्म दर्ता भएको उद्योगको सङ्ख्या ११ हजार १ सय ४० पुगेको छ । दर्ता भएका यस्ता उद्योगबाट करिब ७ लाख ८५ हजार रोजगारी सिर्जना हुने अनुमान छ ।
३२. २०८२ फागुनसम्म उद्योग विभागमा कुल ७ हजार ९ सय ५१ परियोजनामा रु. ६ खर्ब २५ अर्ब ५८ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । स्वीकृत वैदेशिक लगानीमध्ये सबैभन्दा बढी सेवा उद्योगमा २८.३ प्रतिशत र सबैभन्दा कम खनिज उद्योगमा १.३ प्रतिशत रहेको छ ।
३३ . २०८२ फागुनसम्म दर्ता भएका कम्पनीको सङ्ख्या ३ लाख ६९ हजार ६ सय ४६ पुगेको छ। दर्ता भएका कम्पनीमध्ये प्राइभेट लिमिटेड कम्पनी सबैभन्दा बढी ९७.५ प्रतिशत र अन्य कम्पनी २.५ प्रतिशत रहेका छन् ।
३४. विद्युतको प्रयोग बढेसँगै पेट्रोलियम पदार्थको खपत केही घटेको छ । चालु आर्थिक वर्षको फागुनसम्म पेट्रोल र डिजेलको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः १०.० प्रतिशत र ९.९ प्रतिशतले घटेको छ ।
३५. पर्यटन क्षेत्रको पुनरुत्थान हुँदै गएको छ । सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिएका छन्। पर्यटकको औसत बसाईं अवधि १६.३४ दिन पुगेको छ । प्रति पर्यटक प्रति दिन औसत खर्च ३३.०८ अमेरिकी डलर रहेको छ ।
३६. मुलुकभर ३५ विमानस्थल सञ्चालनमा रहेका छन् भने ३२ अन्तर्राष्ट्रिय र २० आन्तरिक वायुसेवा कम्पनीले हवाई सेवा प्रदान गरिरहेका छन् ।
३७. जनता आवास कार्यक्रमअन्तर्गत २०८२ फागुनसम्म ४७ हजार ७ सय २० आवास निर्माण भएका छन्। आवास क्षेत्रमा सुरक्षित आवास कार्यक्रमअन्तर्गत ९४ हजार ६ सय ३१ फुसको छाना भएका घर जस्तापाताले विस्थापन गरिएको छ ।भूकम्पपश्चातको पुननिर्माण अन्तर्गत ७ लाख ७३ हजार ९ सय ८७ निजी आवासको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
३८. २०८२ फागुनसम्म ९९.१ प्रतिशत जनसंख्यामा विद्युत पँहुच पुगेको छ । यस अवधिसम्म कुल जडित विद्युत क्षमता ४ हजार १ सय ५ मेगावाट रहेको छ । यसमध्ये जलविद्युत जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट रहेको छ । चालु आर्थिक वर्षमा भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा विद्युत निर्यात गरिएको छ ।
३९. भौतिक पूर्वाधार क्षेत्रमा सार्वजनिक लगानी क्रमशः बढ्दै गएसँगै सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व १३८.७ मिटर प्रति वर्ग किलोमिटर पुगेको छ । मुलुकभर कुल १ लाख ४ हजार ९ सय ६ किलोमिटर सडक विस्तार भएको छ । डिजिटल टेलिभिजनको पहुँच ८२.० प्रतिशत घरधुरीमा पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व १०३.२ पुगेको छ ।
४०. सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या ८ हजार ९ सय ७६ पुगेको छ । प्रति लाख जीवि जन्ममा हुने मातृ मृत्यूदर १५१ मा झरेको छ । प्रति हजार जीवित जन्ममा हुने शिशु मृत्यूदर २७ र पाँच वर्षमुनिको बाल मृत्यूदर ३१ रहेको छ।
४१. स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भएको छ । २०८२ फागुनसम्म यस कार्यक्रममा आवद्ध हुने नागरिकको संख्या २१ लाख ४८ हजार भन्दा बढी रहेको छ ।
४२. औषधि उत्पादनमा नेपालमा हालसम्म २२ हजार ३ सय ५ ब्राण्डका औषधि दर्ता भएका छन्। जसमध्ये १३ हजार ५ सय ९४ स्वदेशी ब्राण्डका रहेका छन् ।
४३. विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत ३३ हजार ५ सय ८१ जनाले क्यान्सर, मुटु र मृगौला रोगीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्।
४४. आधारभूत खानेपानीको पहुँच ९७.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ भने सुरक्षित खानेपानीको पहुँच २९.० प्रतिशतमा मात्र सीमित छ ।
४५. शैक्षिक सत्र २०८२ मा आधारभूत तह (कक्षा १-८) को खुद भर्नादर ९७.८ प्रतिशत र माध्यमिक तह (कक्षा ९-१२) को खुद भर्नादर ५१.६ रहेको छ । खुद भर्नादरमा लैङ्गिक समता सूचकाङ्क आधारभूत तहको १.०२ प्रतिशत र माध्यामिक तहको ०.९ रहेको छ।
४६. सन् २०२५ मा नेपालको मानव विकास सूचकाङ्क (HDI) ०.६२२ रहेको छ । नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । युवा ( १५-२४ वर्ष ) साक्षरता दर ९४.२ प्रतिशत रहेको छ ।
४७. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३६ लाख ४१ हजार पुगेको छ। यसमध्ये ७० वर्ष माथिका जेष्ठ नागरिक ४६. १४ प्रतिशत रहेका छन् ।
४८. योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक सूचीकृत भएका छन्। यसमध्ये वैदेशिक रोजगारमा जानेको हिस्सा ७५.९ प्रतिशत रहेको छ ।
४९. राष्ट्रिय परिचयपत्र वितरण गर्ने प्रयोजनको लागि हालसम्म २ करोड १ लाख नागरिकको विवरण सङ्कलन गरिएको छ । जसमध्ये ४० लाख ३३ हजार परिचयपत्र वितरण गरिएको छ ।
५०. वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ६९ लाख नाघेको छ । चालु वर्षमा मात्र २ लाख ७३ हजार नयाँ र २ लाख ५१ हजार पुनः श्रम स्वीकृति जारी भएका छन्। विद्युतीय राहदानी (e-Passport) वितरणको संख्या ५५ लाख १६ हजार थान पुगेको छ ।
५१. चालु आर्थिक वर्षको फागुनसम्म अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये ६०.१ प्रतिशत र हेलो सरकार विद्युतीय गुनासो व्यवस्थापन पोर्टलमा दर्ता भएका उजुरीमध्ये ४३.९ प्रतिशत फछ्यौट भएका छन् ।
५२. चालु आर्थिक वर्षको फागुनसम्म स्थानीय तहको कुल खर्च रु. १ खर्ब ९० अर्ब ६३ करोडमध्ये बागमती प्रदेशका स्थानीय तहको खर्च भार सबैभन्दा बढी ०.२४ र कर्णालीको सबैभन्दा कम ०.०८ रहेको छ ।
५३. विश्व मौसम विज्ञान संगठन (WMO) को प्रतिवेदन २०२३ / २०२४ अनुसार पृथ्वीको औसत तापक्रम पूर्व औद्योगिकस्तर (१८५०-१९००) भन्दा १.४५°C ( ०.१२°C) ले बढेको छ ।
५४. जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न कार्बन व्यापारबाट नेपालले आम्दानी प्राप्त गर्न सुरुवात गरेको छ । २०८२ फागुनसम्म करिब ३.६ करोड अमेरिकी डलर कार्बन व्यापारबाट राजस्व प्राप्त भएको छ ।
५५. सन् २०२५ मा दिगो विकास लक्ष्य सूचकाङ्कमा ६८.५८ स्कोर हासिल गरी नेपाल १६७ औं राष्ट्रमध्ये ८५ औं स्थानमा रहेको छ । नेपालको सन्दर्भमा दिगो विकास लक्ष्यसँग सम्बन्धित “स्पिलओभर स्कोर ” ९४.८५ रहेको छ । दिगो विकास लक्ष्य (SDG ) प्राप्तिका लागि बाँकी अवधिमा नेपालले वार्षिक औसत ७ खर्ब ५५ अर्ब थप लगानी गर्नुपर्ने देखिएको छ ।
५६. सन् २०२५ मा सम्पन्न सार्वभौम क्रेडिट रेटिङ्गमा नेपालको अवस्था “BB- ” & Outlook Stable रहेको छ । यसले लगानीकर्तामा सकारात्मक सन्देश दिएको छ ।












