धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

spot_img
spot_img

 नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन गरेका छन्। नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त वार्ड स्थापना गरिएको हो।

नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा राम कण्ठ माकजुले संयुक्त रूपमा नबिल बर्न केयर वार्डको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा दुवै संस्थाका वरिष्ठ अधिकारी, स्वास्थ्यकर्मी, सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत सहयोग प्राप्त यस वार्डले जलनका बिरामीलाई गुणस्तरीय, विशेषज्ञतायुक्त तथा बिरामी केन्द्रित उपचार सेवा प्रदान गर्न धुलिखेल अस्पतालको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। यस पहलमार्फत यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा सञ्चालन गरिएका निःशुल्क जलन शल्यक्रिया शिविरमार्फत नबिल केयरले गर्दै आएको सहयोगलाई थप विस्तार गरेको छ।

नेपालमा जलनका घटना अझै पनि महत्वपूर्ण जनस्वास्थ्य चुनौतीका रूपमा रहेका छन्। यस्ता घटनाबाट प्रभावित व्यक्तिलाई तत्काल उपचारका साथै विशिष्टीकृत चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक सहयोगको आवश्यकता पर्दछ। नबिल बर्न केयर वार्डको स्थापनाले यस्ता सेवामा बिरामीको पहुँच सहज बनाउनुका साथै नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा’ भन्ने मूल मान्यताबाट निर्देशित धुलिखेल अस्पतालले लामो समयदेखि सर्वसुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नबिल बैंकका संचालक समितिको अध्यक्ष चौधरीले समाजका महत्वपूर्ण आवश्यकता सम्बोधन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। उनले अर्थपूर्ण संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रतिको दायित्व निर्वाह गर्न बैंक प्रतिबद्ध रहेको बताए।

“नबिल बैंकमा हामी कुनै पनि संस्थाको वास्तविक सफलता केवल आर्थिक उपलब्धिले मात्र नभई समाजमा सिर्जना गरेको सकारात्मक प्रभावबाट पनि मापन गरिनुपर्छ भन्ने विश्वास राख्छौं। जलनका बिरामीले लामो र चुनौतीपूर्ण स्वास्थ्यलाभको यात्रा तय गर्नुपर्ने हुन्छ। सीमित स्वास्थ्य पूर्वाधारका कारण कुनै पनि परिवार गुणस्तरीय उपचार सेवाबाट वञ्चित हुनुहुँदैन। यस सहकार्यमार्फत हामी नेपाली समाजलाई दीर्घकालसम्म लाभ पुर्‍याउने स्वास्थ्य पूर्वाधारको विकासमा योगदान गरिरहेका छौं,” उनले भने।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले जलन सम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहकार्य आवश्यक रहेको बताए।

“विशिष्टीकृत जलन उपचार सेवामा पहुँच अझै पनि धेरै नेपालीका लागि चुनौतीपूर्ण रहेको अवस्थामा धुलिखेल अस्पतालसँगको सहकार्यमार्फत हामी जलन उपचार सेवालाई थप सुदृढ गर्दै उपचार आवश्यक भएका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न चाहन्छौं,” सिइओ ज्ञवालीले भने, “यो वार्ड नबिल केयरअन्तर्गत सञ्चालन भइरहेका हाम्रा निरन्तर प्रयासहरूको महत्वपूर्ण कडी हो। यसअघि सञ्चालन गरिएका जलन शल्यक्रिया शिविरहरूले देशका विभिन्न क्षेत्रका करिब पाँच सय जलन प्रभावित व्यक्तिलाई उपचार प्राप्त गर्ने अवसर तथा नयाँ जीवनको आशा प्रदान गरेका छन्। यो सुविधा बिरामी तथा उहाँहरूका परिवारका लागि उपचार, आशा र सम्मानको केन्द्र बन्ने विश्वास लिएका छौं।”

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. राम कण्ठ माकाजु श्रेष्ठले नबिल बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

“विशेषज्ञ जलन उपचार सेवाको पहुँच विस्तार गर्ने दिशामा आजको कार्यक्रम एउटा महत्वपूर्ण कदम हो। सामुदायिक अस्पतालका रूपमा, धुलिखेल अस्पतालले त्यस्ता ग्रामीण समुदायलाई सेवा प्रदान गर्दै आएको छ जहाँ विशेषज्ञ उपचार सेवा सहज रूपमा उपलब्ध नहुन सक्छ। नबिल बैंकसँगको सहकार्यमा हामी नेपालमा समग्र जलन उपचार सेवाको उत्कृष्ट नमुना बन्न सक्ने एक विशिष्टीकृत सुविधा विकास गर्दैछौं। यस अर्थपूर्ण साझेदारीले प्रत्येक जलन पीडितलाई गुणस्तरीय उपचार प्राप्त गर्ने अवसर दिलाउनुका साथै नयाँ सिराबाट जीवन सुरु गर्न मदत पुग्नेछ भन्ने हाम्रो विश्वास छ,” श्रेष्ठले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीबाट पर्यटन व्यवसायी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहको हिजो सम्पन्न भारतको राजकीय भ्रमणबाट नेपालमा...

नेपाल–भारत व्यापारलाई लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ: अध्यक्ष अग्रवाल

नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि...

बुढानीलकण्ठमा ९२ कोठाको IBIS Styles Hotel विकास तथा व्यवस्थापनका लागि सम्झौता

नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति विस्तार...

यसपटकको हिउँदमा हिमालय क्षेत्रमा बढी वर्षा र हिमपातको सम्भावना

यस वर्षको हिउँदमा हिन्दुकुश हिमालय क्षेत्रका धेरै देशमा सामान्यभन्दा...

सुनकोशी–मरिण डाईभर्सनको ठेक्का रद्द सम्बन्धि कागजात उपलब्ध गराउन लेखा समितिको निर्देशन

सुनकोशी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलब्ध गराउन...

कोरला नाकामा हिउँ पर्न थाल्यो, साढे २ महिना चीनसँगको व्यापार कसरी सञ्चालन होला ?

नेपाल–चीनको व्यापारका लागि वैकल्पिक नाकाका रूपमा प्रयोग भइरहेको मुस्ताङको...