आँट, उर्जा, हिम्मत, सकारात्मक सोच र कार्यशैलीले मानिसलाई सफलको बाटोमा डोहोर्याइरहेको हुन्छ । अझ महत्वपूर्ण कुरा, मानिसले साँच्चै लगनशीलताका साथ काम गर्ने सपना देखेको छ भने पैसा अभावका कारण काम रोकिँदैन । यो भनाइका उदाहरण हुन् स्किनर रसाईली र कुशल गजमेर ।
एकछिन एउटा कुरा सोचौँ त, गहनाको व्यवसाय सुरु गर्न कति लगानी चाहिएला ? ५ लाख, १० लाख, २० लाख, ५० लाख कति ? अब अर्को कुरा सोचौँ, केही हजारले गहनाको व्यवसाय सम्भव छ ? पक्कै पनि, सुनचाँदीका गरगहनाको व्यवसाय हजारबाट आरम्भ हुन सक्ने व्यवसाय होइन । अझ लाखमा पनि थोरै लाखले पुग्दैन ।
तर, हिम्मत र कार्यकौशलता हुने हो भने जम्मा ५० हजार रुपैयाँ लगानीबाट व्यवसाय आरम्भ गरेर पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् स्किनर रसाईली र कुशल गजमेर । जसले सन् २०१७ बाट जम्माजम्मी ५० हजार रुपैयाँको जोहो गरेर काम थालेका थिए । आज आइपुग्दा ह्वाईट फेदर्स ज्वेलरी वार्षिक ४० करोड बराबरको कारोबार गर्ने एउटा ‘ब्राण्डेड ज्वेलरी हाउस’ बनिसकेको छ । जसको ‘पोर्टफोलियो’ २० करोड हाराहारीको छ ।
व्यवसायिक यात्राको आरम्भ
स्किनर रसाईली भारतको दिल्लीमा अध्ययन गर्थे । बुबा झापामा शिक्षक थिए । स्किनरलाई व्यवसायिक क्षेत्रमा कार्य गर्ने हुटहुटी थियो, त्यसैले चार्टड एकाउन्टेण्टको अध्ययन गरेका थिए । अध्ययन सकिएपछि नेपाल फर्किएर कुनै नयाँ कामको सुरुवात गर्ने सोच बनाएका थिए । तर, सोही समयमा भाइलाई क्यान्सर देखियो । भाइको उपचारमा केन्द्रित भए । बुबाको एक्लो कमाईले आर्जन गरेको सम्पत्ति र आफूले अलिअलि गरेको कमाई खर्च गरेर भाइको उपचार गरे ।
त्यसपछि अब के गर्ने ? उनी दिनरात यसैमा घोत्लिन थाले । यसै क्रममा आफ्ना फुपु दिदीका छोरा कुशल गजमेरसँग व्यवसायिक विषयमा छलफल हुन थाल्यो । कुशलका बुबाको झापामा सुनचाँदीको पसल थियो, कुशलसँग थोरबहुत यो क्षेत्रको अनुभव थियो । कुशल पनि आईटी हुँदै एमबीए सम्मको अध्ययन गरेर बसेका थिए । निरन्तर छलफल भएपश्चात दुइ भाइबीच चाँदीको व्यवसाय गर्ने सल्लाह भयो ।
व्यवसाय त गर्ने, तर पूँजी कसरी जुटाउने ? परिवारसँग पनि खासै ठूलो आयस्रोत थिएन । दुइ भाइले गोजी (खातापाता) टकटक्याउँदा मुस्किलले ५० हजार रुपैयाँ जति जम्मा भयो । ठूलो लगानी लाग्ने गहना व्यवसायका लागि ५० हजार भनेको कुनै ठूलो पूँजी नै होइन । यतिबाटै भएपनि अघि बढौँ भनेर उनीहरु त्यहीँ पैसा बोकेर सप्लायर्ससँग धाउन थाले ।
एउटा सप्लायर्सले उनीहरुलाई विश्वास गरेर सुरुवातमा ३ लाख ५० हजारको सामान दिन राजी भए । त्यसपछि त्यहीँ सामान झोलामा बोकेर उनीहरु सुनचाँदीका पसल पसलमा डुल्न थाले । पहिलो डिल एउटा पसलमा २० हजार बराबरको गरे । बराह ज्वेलरीमा पनि उनीहरु यसैगरि पुगे, बराह ज्वेलरीले १० किलो चाँदीको अर्डर लियो ।
‘हामी एउटा झोला मात्रै बोकेर बजार बजार डुल्थ्यौँ, हामीसँग सप्लायर्सले दिएको चाँदीबाहेक अरु केही थिएन’, स्किनर ति पलको स्मरण गर्छन्, ‘दोस्रो डिल बराह ज्वेलरीसँग भयो, १३ लाख बराबरको सामान अर्डर आएपछि हामी यति खुशी भयौँ कि, त्यसको कुनै सीमा नै रहेन ।’

यसैगरि काम गर्दै जाँदा एउटा पसलले १ सय किलो चाँदीका मुर्तिको अर्डर लियो । सफलतापूर्वक अर्डर पुर्याउँदै, थप अर्डरहरु लिँदै दुइ भाइले केही महिना बिताए । त्यसपछि अब आफ्नै कार्यालय पनि खोल्नुपर्छ भन्ने भयो । दशैँको समयमा न्यूरोडस्थित खिँचापोखरीमा कार्यालय खोले । त्यहाँ कर्पोरेट कार्यालय राखे ।
‘सप्लाईको अर्डर पनि लिँदै गयौँ, माग अनुसारका सामान पनि दिँदै गयौँ, बुबा र फुपुको जग्गा धितो राखेर १६ लाख जति ऋण लियौँ, लगानी थप्यौँ, अलिअलि कमायौँ पनि, कमाएको पनि यसैमा लगानी गर्यौँ’, स्किनर भन्छन्, ‘८/१० जना कर्मचारी थप्यौँ, क्यान्सरको ट्रिटमेन्ट सकिएपछि मेरो भाइ पनि जोडिनुभयो । सुरु गरेको ६ महिना जतिमा ४/५ करोडको लगानी पुर्यायौँ ।’
यसरी ५० हजार रुपैयाँ साथमा बोकेर सुरु गरेको व्यवसायले राम्रै आकार लिन थाल्यो । सप्लायर्स र पसल दूबैतिर विश्वास बढिरह्यो, जसका कारण पैसा नभएपनि इच्छाशक्ति र इमानदारीता भयो भने आँटेको काम गर्न सकिन्छ भन्ने उदाहरण स्थापित भयो । यसले कुशल र स्किनरलाई ठूलो हौसला मिल्यो ।
अनलाइनमा जाने पहिलो ज्वेलरी हाउस
छोटो समयमा कारोबार र विश्वासका हिसाबले अग्रणी बन्ने क्रममा रहेको ह्वाईट फेदर्स ज्वेलरीले सम्भवत: नेपालमै पहिलोपटक अनलाइनमार्फत अर्डर लिएर गहना डेलिभरीको सुरुवात गर्यो । सन् २०१७ कै अन्त्यतिर अनलाइन प्लेटफर्म ‘केमू’सँग जोडियो ।
गहना भनेको आफैँले हेरेर, छोएर, छामेर किन्नुपर्छ भन्ने सोच रहेको नेपाल जस्तो देशमा अनलाइनमार्फत अर्डर लिने र दिने कुरा चुनौतिपूर्ण नै थियो । खासगरि, भनेको जस्तो सामान आउँदैन कि, कतै ठगीमा पो परिन्छ कि भन्ने उपभोक्ताको आशंकाका बीचमा पनि ह्वाईट फेदर्सले यसमा आँट गरेको थियो । सुरुवातमा चाँदीका गहनाबाट अनलाइन डेलिभरी आरम्भ गरिएको स्किनर बताउँछन् ।
‘यसका लागि केमूसहित सोसियल मिडिया प्लेटफर्म प्रयोग गर्यौँ, टिकटक आएपछि त्यसको पनि उपयोग गर्यौँ’ उनी सम्झिन्छन्, ‘दैनिक सयभन्दा बढीको अर्डर आउन थाल्यो, राती ३ बजेसम्म बसेर हामीले म्यासेज रिप्लाई गथ्र्यौँ र सामान प्याकिङ गथ्र्यौँ ।’

उपभोक्ताहरुले पसल कहाँ छ, कसरी आउन सकिन्छ भन्ने जिज्ञासा राख्न थाले । त्यसपछि उपभोक्ताको विश्वासका लागि गहना पनि राख्ने योजना बन्न थाल्यो । त्यतिबेला नै ह्वाईट फेदर्सको कार्यालय भएको भवनका केही कोठा खाली भए । अनि तिनै कोठा कम्पनीले भाडामा लियो । त्यहाँ गहना राखेर भौतिक रुपमै उपस्थित हुने ग्राहकलाई देखाउने र अर्डर लिने काम हुन थाल्यो ।
ताल्चा लाग्ने अवस्थाबाट पुनर्जीवन
काम राम्रै हुँदै थियो, कुशल र स्किनरले दिनरात र भोकतिर्खा नभनी खटेर विश्वासिलो गहना पसलका रुपमा ह्वाईट फेदर्सलाई उभ्याउन सफल भइसकेका थिए । व्यवसायिक योजना बनाउँदै, त्यसलाई कार्यान्वयन गर्दै जाने क्रममा ह्वाईट फेदर्सले होलसेल बजारमा ‘एग्रेशिभ’ उपस्थिति जनाउन थाल्यो । यसैका लागि ५ सयभन्दा बढी पसल जोडिए, काम गर्ने कर्मचारी पनि थपिए ।
तर, अवस्था यस्तो आयो कि, बजारमा गएको सामानको पैसा नै उठ्न सकेन । कल्पना गरौँ त, लाखौँको सामान उधारोमा गएको छ तर, कम्पनीको खातामा पैसा नै आउँदैन भने भर्खर भर्खर व्यवसायमा हात हालेका दुइ युवाको मनोविज्ञान कस्तो भयो होला ? यसबाट स्किनर र कुशल विक्षिप्त बने ।
‘हामीले कुनै पनि गलत काम गरेका थिएनौँ, तर हामीसँग क्रेडिट पोलिसी नहुँदा हामीलाई नै मर्का पर्यो, पसलहरुसँगको विश्वासबाहेक अरु कुनै पनि क्रेडिट पोलिसीको विज्ञता र ब्याक अप थिएन’ कुशल ति दिन सम्झिन्छन्, ‘बजारमा क्रेडिट गएको छ, कम्पनीमा वा आफ्नो साथमा नगद नै छैन । बजारमा गएको सामानको पैसा आउला भनेर कुर्नुबाहेक अर्को विकल्प भएन । तर, त्यति नै बेला कोभिड आयो, लकडाउन भयो । हामीबाट सामान लगेका पसलका सञ्चालकहरु हिडे, सम्पर्क नै हुन छोड्यो ।’

यसले स्किनर र कुशललाई अब ऋण (उधारो सामान लिएको ठाउँ, कम्पनीको भाडा, स्टाफ खर्च लगायत सबै) भाग लगाएर कार्यालय बन्द गरौँ भन्ने मोडमा ल्याइदियो । दुइ भाइबीच कुनै मनमुटाव थिएन, लेनदेनमा विवाद थिएन तर, राम्रै हुन्छ भनेर गरिएको कर्मले स्किनर र कुशलबीच मात्रै होइन, दुइ परिवारबीच नै अविश्वास पो पैदा हुने हो कि भन्ने डर देखियो ।
‘भोली कार्यालय बन्द हुँदैछ भन्ने भएपछि म धेरै रोएँ, आफूले मेहनत गरेर हुर्काएको व्यवसाय एउटै झड्काले ढल्दैछ भन्ने भएपछि सम्हालिन सकिनँ’ स्किनर थप्छन्, ‘त्यसपछि कुशललाई फोन गरेर बानेश्वरमा बोलाएँ । हामीबीच निकै लामो कुराकानी भयो । विगत बिर्सिएर अब नयाँ तरिकाले अघि बढौँ भन्नेमा हामी एकमत भयौँ । त्यसपछि भोलिपल्ट बन्द गर्ने तयारी गरिएको व्यवसायले पुनर्जीवन पायो, हामीले पनि ठूलो पाठ सिक्यौँ ।’
यसपछि ह्वाईट फेदर्सलाई चाँदी हुँदै हिराका गहनामा फोकस गरिएको स्किनरको भनाइ छ । कार्यालय रहेकै भवनको पहिलो तल्लामा शोरुम बनाइयो । त्यहीँबाट बिक्री पनि बढ्न थाल्यो । अर्डर पनि आइरह्यो । त्यसयता कम्पनीले पछाडी फर्किनु परेको छैन ।
यतिसम्म की, ह्वाईट फेदर्स ज्वेलरीमा काम गर्ने कर्मचारी मात्रै ४० जनाभन्दा बढी छन् । अमेरिका, बेलायत र अष्ट्रेलियामा चाँदीका हस्तकलाका सामानहरु निर्यात पनि भइरहेका छन् । वार्षिक २ देखि ३ करोड बराबरका नेपाली हस्तकलाका सामान निर्यात भइरहेको स्किनर बताउँछन् ।
साथै, ह्वाईट फेदर्सले विभिन्न चाडपर्वका अवसरमा अफरहरु पनि निकाल्न थाल्यो । यो अभियान आज पनि चलिरहेकै छ, यसले अभूतपूर्व सफलता हासिल गरेको छ ।
डिजिटल बजारलाई प्राथमिकतामा राखेर अहिले १० हजार भन्दा बढी गहनाका डिजाइनहरु स्टकमा राखेर उपभोक्ताले आफूलाई मनपर्ने गहना छान्न पाउने व्यवस्था मिलाइएको छ । देशका ७७ ठाउँमा डेलिभरीको प्रबन्ध मिलाइएको छ । वेभसाइड मार्फत चाँडै सयौँ ‘फिचर्स’हरु सार्वजनिक हुँदैछन् ।
किस्ताबन्दीमा गहना खरिद गर्नेहरुका लागि ईएमआई सुविधा पनि आउँदैछ । ‘ट्राइ एट होम’ फिचर्समार्फत ८/१० वटा डिजाइन उपभोक्ताले घरमै मगाएर त्यसमध्ये आफूलाई मन परेको डिजाइनको गहना अर्डर गर्ने सुविधा पनि चाँडै आउँदैछ ।

उपभोक्ताको सेवालाई ध्यानमा राखेर विभिन्न सुविधाहरु ल्याइरहेको छ । यसअघि दशैँ, तिहार र छठ पर्वका अवसरमा ज्याला र जर्तीमा छुटको अफरमार्फत पनि उपभोक्ताको मन जितेको छ ।
‘गरगहनाको व्यवसायमा अवसर छ’
सन् २०१७ बाट आरम्भ भएको ह्वाईट फेदर्स ज्वेलरीले छोटै समयमा निकै हण्डर र ठक्कर खाएको छ । राम्रो गर्दागर्दै पनि परिस्थितिले झण्डै बन्द नै हुने अवस्थासम्म पुगेपनि २८ वर्षीय स्किनर र ३० वर्षीय कुशलले धुलो टक्टक्याएर उठ्ने साहस गरेकै कारण आज उनीहरु अन्य युवाहरुका लागि पनि उदाहरणीय पात्र बनिरहेका छन् ।
स्किनर र कुशल दूबैको परिवार मध्यम वर्गीय परिवार हो । मध्यम वर्गीय परिवारले अक्सर आफ्ना सन्तानहरुले जागिर खाएको हेर्ने रहर गर्छ । स्किनर र कुशलको परिवार पनि आफ्ना सन्तानहरु जागिरे हुन् भन्ने चाहन्थ्यो । तर, यी दुइ भाइले जागिरको सट्टा व्यवसाय रोजे, हण्डर खाए, ठक्कर खाए र, आज सफलताका सिँढीहरुमा उक्लिरहेका छन् ।
‘छोराहरुले जागिर खानुपर्छ भन्ने सोच परिवारको थियो, हाम्रो जस्तो मध्यम वर्गीय परिवारले त्यो सोच्नु स्वभाविक पनि हो, तर हामीले व्यवसाय गर्ने योजना बनाएर हात हाल्यौँ’ स्किनर थप्छन्, ‘स्टार्ट अप लोन खोजेपनि पाएनौँ, रियल स्टार्ट अपले स्टार्ट अप लोन पाइरहेको छैन । तर पनि हामी आत्तिएनौँ, सम्हालिएर हिडरहेका छौँ । यो क्षेत्रमा अवसरहरु धेरै छन् ।’
उनका अनुसार कहिले विदेश जाऔँ, कहिले देश छोडौँ भन्ने चिन्तनले युवाहरुलाई सताउँदा देशले जनशक्ति गुमाइरहेको छ । युवाहरुमा देशभित्रै नयाँ नयाँ क्षेत्रमा काम गरौँ भन्ने चिन्तन हुनु आवश्यक रहेको उनको भनाइ छ ।
‘युवा पलायन बढिरहेको छ, युवाहरुमा कतिखेर देश छोडौँ भन्ने भावना विकास हुनु भनेको हामीले स्वदेशभित्रै सम्भावनाका सपनाहरु देखाउन नसकेर हो’ कुरालाई बिट मार्ने क्रममा स्किनर भन्छन्, ‘राज्यले लगानी त गरिदिने होइन, तर वातावरण चाहिँ बनाइदिनुपर्छ । अहिले सरकारले त्यस्तो केही नगरेपनि आफैँले काम गर्दा पनि अवसरहरु चाहिँ प्रशस्त छन् । अझ गहना व्यवसायमा बिग हाउसहरुले लगानी नगरिरहेको हुनाले सानो पूँजीबाटै सुरुवात गर्दा पनि राम्रो गर्न सकिन्छ ।’













