नेपाली खाद्य उद्योगमा आफ्नो उपस्थिति विस्तार गर्दै अमुदी फुड्स लिमिटेडले उत्पादन विविधीकरण, उत्पादन क्षमता विस्तार र पूँजी सुदृढीकरणलाई प्राथमिकतामा राख्दै व्यावसायिक योजना अघि सारेको छ ।
२०६९ मा स्थापना भएको अमुदी फुड्सको कार्यालय काठमाडौंको कोटेश्वरमा तथा कारखाना भरतपुर–१२, चितवनमा रहेको छ । हाल कम्पनीमा ११५ जना कर्मचारी कार्यरत छन् । सार्वजनिक लिमिटेड कम्पनीका रूपमा अघि बढिरहेको अमुदी फुड्सले U-n-Me ब्रान्डअन्तर्गत विभिन्न स्न्याक्स, दालमोठ तथा नुडल्स उत्पादन गर्दै आएको छ ।
कम्पनीले उच्च गुणस्तरीय तथा स्वच्छ खाद्य उत्पादनमार्फत ग्राहकको सन्तुष्टि र दीर्घकालीन विश्वास निर्माण गर्ने लक्ष्य लिएको छ । साथै, नेपालकै विश्वसनीय र नवीन खाद्य ब्रान्डका रूपमा स्थापित हुँदै नेपाली स्वादलाई अझ फराकिलो बजारसम्म पुर्याउने कम्पनीको दीर्घकालीन दृष्टिकोण रहेको छ।
उत्पादनदेखि बजारसम्म विस्तारको तयारी
हाल U-n-Me ब्रान्डअन्तर्गत Cheese Rings, Potato Cracker, Pomess, Cheese Balls, Akabare, Fire Balls, Balls, Grand र Tangy Tomato लगायतका स्न्याक्स उत्पादन हुँदै आएका छन् । यसका अतिरिक्त Mixed Dalmoth, Plain Bhujia, Salted Peanut, Any Time Dalmoth, Moong Dal र Aaloo Bhujia लगायतका उत्पादन पनि कम्पनीको पोर्टफोलियोमा छन् ।
कम्पनीले नुडल्स उत्पादन प्लान्ट स्थापना गरी उत्पादन क्षमता र उत्पादन पोर्टफोलियो विस्तार गर्ने तयारी गरेको छ । यसका लागि जग्गा तथा जग्गा विकास, भवन तथा संरचना, मेसिनरी तथा उपकरण र कार्यशील पूँजीमा लगानी गर्ने योजना अघि सारिएको छ ।
बढ्दो कारोबार र दीर्घकालीन वित्तीय लक्ष्य
कम्पनीले प्रस्तुत गरेको वित्तीय प्रक्षेपणमा आगामी वर्षहरूमा बिक्री तथा नाफा विस्तार गर्ने लक्ष्य देखिन्छ । आर्थिक वर्ष २०८२/०८३ मा करिब ८.४१ करोडको बिक्री आम्दानीबाट आर्थिक वर्ष २०८६/०८७ सम्म रु. ६८.४१ करोड बिक्री आम्दानी पुर्याउने प्रक्षेपण गरिएको छ । सो अवधिमा खुद नाफा पनि रु. २८.८ लाखबाट रु. ५.३२ करोड पुर्याउने लक्ष्य राखिएको छ ।
आर्थिक वर्ष २०८३/८४ को वित्तीय विवरणमा समावेश रु. १४ करोडको जग्गा बिक्रीबाट प्राप्त एकपटकको आम्दानीका कारण उक्त वर्षको EPS असामान्य रूपमा उच्च देखिएको कम्पनीले नै स्पष्ट पारेको छ । नियमित व्यवसायबाट हुने आम्दानी र एकपटकको आम्दानीलाई छुट्टाछुट्टै हेर्नु कम्पनीको वास्तविक व्यावसायिक प्रगति बुझ्न महत्वपूर्ण हुनेछ ।
IPO मार्फत सार्वजनिक सहभागितातर्फ
अमुदी फुड्सले पूँजी संरचनालाई थप बलियो बनाउँदै सार्वजनिक लगानीकर्तालाई सहभागी गराउने तयारी पनि अघि बढाएको छ । कम्पनीको प्रस्तावित पूँजी संरचनाअनुसार कुल जारी पूँजी रु. ४२ करोड रहने र त्यसमा प्रवर्द्धक समूहको रु. ३२ करोड तथा सर्वसाधारणका लागि रु. १० करोड बराबरको शेयर रहने योजना छ ।
IPO प्रक्रियाका लागि Global IME Capital लाई Issue Manager नियुक्त गरिसकिएको, Care Ratings Nepal सँग Rating सम्बन्धी सम्झौता भएको तथा Underwriter, Prospectus र Company Registrar सम्बन्धी कामहरू प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । नयाँ नुडल्स प्लान्ट, उत्पादन विविधीकरण तथा प्रस्तावित IPO ले कम्पनीले उत्पादन बढाउँदै वित्तीय अवस्था पनि मजबुत बन्ने विश्वास गरेको छ ।












