बैंक तथा वित्तीय संस्थाहरुको लागि नाफा–नोक्सान प्रस्तुत गर्न छिट्टै नै नयाँ व्यवस्था आउने भएको छ । नेपाल लेखामान बोर्डले NFRS 18: Presentation and Disclosure in Financial Statements सम्बन्धि व्यवस्थाको मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले NFRS 18 वित्तीय विवरणमा प्रस्तुति तथा खुलासा सम्बन्धी लेखामानको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव तथा प्रतिक्रिया आह्वान गरेको हो।
NFRS हरू अन्तर्राष्ट्रिय लेखामान बोर्डले जारी गर्ने मानसँग सामञ्जस्य कायम गर्दै लेखामान बोर्ड नेपालले जारी गर्ने गर्दछ । बोर्डका अनुसार NFRS 18 को मुख्य उद्देश्य वित्तीय विवरणमा कम्पनीको वित्तीय कार्यसम्पादन, विशेषगरी नाफा–नोक्सान, अझ स्पष्ट, व्यवस्थित र तुलनायोग्य ढङ्गले प्रस्तुत गर्नु हो।
NFRS 18 लागू भएपछि कम्पनीहरूले आम्दानी तथा खर्चलाई नयाँ संरचनाअनुसार वर्गीकरण गर्नुपर्नेछ। विशेषगरी सञ्चालन (Operating), लगानी (Investing) र वित्तीय (Financing) लगायतका वर्गमा आम्दानी तथा खर्चको प्रस्तुति गरिनेछ। प्रस्तावित व्यवस्था लागू भएपछि बैंकहरुको सञ्चालन नाफा बढ्न सक्छ । किनभने NFRS 18 को प्रस्तावित व्यवस्था अनुसार विभिन्न वित्तीय उपकरणमा गरेको लगानीबाट भएको आम्दानीलाई मुख्य व्यवसायबाट भएको आम्दानीको रुपमा राख्नु पर्ने छ।
प्रणाली र कार्यप्रणालीमा पनि प्रभाव
NFRS 18 को कार्यान्वयनले कम्पनीहरूको chart of accounts, accounting system, ERP, financial reporting format, internal reporting तथा consolidation process मा समेत परिवर्तन आवश्यक पर्न सक्छ। विशेषगरी आम्दानी तथा खर्चको नयाँ वर्गीकरण र तुलनात्मक तथ्याङ्क तयार गर्न प्रारम्भिक चरणमा थप तयारी र लागत आवश्यक हुन सक्छ।
त्यसैगरी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लगानीसम्बन्धी व्यवसाय तथा अन्य क्षेत्रका निकायहरूमा आफ्नो मुख्य व्यावसायिक गतिविधिको प्रकृतिअनुसार आम्दानी तथा खर्चको वर्गीकरणका विषयमा थप विचार र व्यावसायिक निर्णय आवश्यक पर्न सक्छ। NFRS 18 को प्रभाव कम्पनीको हालको लेखा प्रस्तुति र व्यवसायको प्रकृतिअनुसार फरक–फरक हुनेछ।
बैंकहरुको हकमा कर्मचारी बोनस र संस्थागत सामाजिक उत्तरदायित्वका खर्चहरु निर्धारणको सम्बन्धमा भने NFRS 18 लागू भएपछि नेपाल राष्ट्र बैंकले आवश्यक निर्देशन जारी गर्नु पर्ने देखिन्छ ।
लेखा शिक्षा तथा पाठ्यक्रममा समेत प्रभाव
NFRS 18 लागू भएपछि नाफा–नोक्सान विवरणको प्रस्तुतीकरण तथा आम्दानी र खर्चको वर्गीकरणमा महत्वपूर्ण परिवर्तन हुने भएकाले यसको प्रभाव लेखा शिक्षा तथा पाठ्यक्रममा समेत पर्न सक्छ। विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्यापन हुने लेखासम्बन्धी पाठ्यक्रम, पाठ्यपुस्तक तथा अध्ययन सामग्रीमा नयाँ प्रस्तुतीकरण व्यवस्था, वर्गीकरण र परिभाषित उप–योगहरूलाई समेट्न आवश्यक संशोधन गर्नुपर्ने हुन सक्छ। त्यसैगरी लेखा शिक्षक, विद्यार्थी, लेखा व्यवसायी तथा अन्य सरोकारवालालाई नयाँ व्यवस्थाबारे आवश्यक अभिमुखीकरण तथा क्षमता विकासको आवश्यकता पर्न सक्छ।
सार्वजनिक सुझावका लागि आह्वान
लेखामान बोर्ड–नेपालले NFRS 18 को मस्यौदामाथि कम्पनी तथा अन्य निकाय, लेखापरीक्षक, लगानीकर्ता, क्षेत्रगत नियामक, पेशागत संस्था, शिक्षाविद् तथा वित्तीय विवरणका अन्य प्रयोगकर्ता सबैबाट सुझाव तथा प्रतिक्रिया आह्वान गरेको छ। प्राप्त सुझाव तथा प्रतिक्रियालाई NFRS 18 लाई नेपालको आर्थिक तथा व्यावसायिक परिवेशमा व्यावहारिक, प्रभावकारी र प्रयोगकर्ताका लागि उपयोगी बनाउन बोर्डले मस्यौदा अन्तिम रूप दिने छ । बोर्डले आगामी मङ्सिर ८ गतेभित्र बोर्डको सचिवालयमा वा बोर्डको इमेल ठेगाना [email protected] मा सुझाव पठाउन भनेको छ ।
बोर्डका अध्यक्ष रमेश धितालले पछि NFRS 18 को कार्यान्वयन सुरु हुने बेलामा भन्दा अहिले नै वास्तविक तथा रचनात्मक सुझाव दिन सबै सरोकारवालामा आग्रह गरेका छन्। प्राप्त सुझावहरुको गहन अध्ययन गरेर उपयुक्त सुझावलाई NFRS 18 मा समावेश गरिने बताएका छन् ।
बोर्डले NFRS 19 को मस्यौदा पनि सार्वजनिक गर्दै सुझाव माग गरेको छ । NFRS 19 भने Subsidiaries without Public Accountability: Disclosures सँग सम्बन्धित छ।










