अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि नेपाल विद्युत प्राधिकरणले उच्च सतर्कता अपनाइएको जनाएको छ । प्राधिकरणले विद्युत् आपूर्ति नियमित राख्न र प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत सेवा यथाशीघ्र पुनःस्थापना गर्न उच्च सतर्कताका साथ आवश्यक तयारी र समन्वयलाई तीव्र बनाइएको बताएको छ ।
हाल देशभरको विद्युत् आपूर्तिको अवस्था, प्रसारण तथा वितरण संरचनाको स्थिति र प्रभावित क्षेत्रबारे निरन्तर जानकारी लिने तथा अनुगमन गर्ने कार्य भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको सचिवालयले जनाएको छ । सम्भावित क्षति तथा विद्युत् आपूर्ति अवरोधलाई तत्काल सुचारु गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तयारी अवस्थामा राखी सोही बमोजिम कार्य सुरु गरिएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, ग्रिड सञ्चालन विभागका प्रमुखको सहभागितामा सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख र दुईवटा डिभिजन कार्यालयका प्रमुखहरूसँग जुममार्फत (भर्चुअल माध्यमबाट) विद्युतीय संरचनामा पुगेको क्षति र विद्युत आपूर्तिका अवस्थामा छलफल गरी जानकारी लिएका छन् । छलफलका क्रममा विभिन्न प्रदेश तथा क्षेत्रमा भइरहेको वर्षा, बाढीपहिरोबाट विद्युत् संरचनामा परेको प्रभाव, विद्युत् आपूर्तिको वर्तमान अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिइएको थियो ।
प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा सुचारु गर्न आवश्यक जनशक्ति, उपकरण र सामग्रीको तयारी तथा परिचालन गर्न कार्यकारी निर्देशक श्रेष्ठले कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
साथै, कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडरमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था र क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी सुरक्षित रूपमा मर्मत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन पनि निर्देशन दिएका छन् । प्रभावित क्षेत्रको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री परिचालन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा सम्भव भएसम्म वैकल्पिक व्यवस्थाबाट आपूर्ति सञ्चालन गर्ने र अवरुद्ध सेवा यथाशीघ्र पुनःस्थापना गर्ने गरी प्राधिकरणले आफ्ना सबै सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई परिचालन गरिसकेको कार्यकारी निर्देशक श्रेष्ठले जनाएका छन् । प्राकृतिक विपद्का कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राखेर मात्र मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ ।
प्राधिकरणबाट विद्युत् आपूर्ति प्रणालीको अवस्था केन्द्रीय तहबाट निरन्तर अनुगमन तथा समन्वय गरिरहेको र उपभोक्तालाई सम्भव भएसम्म नियमित विद्युत् सेवा उपलब्ध गराउन तथा अवरुद्ध सेवा छिटोभन्दा छिटो पुनःस्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गरिएको बताइएको छ ।












