नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै अब जेठ ८ गते शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनाव गर्ने बाटो खुलेको छ ।
हेमराज ढकाल, किशोर प्रधान, नरेन्द्र खड्का र प्रल्हाद दाहालले सोमबार दायर गरेको रिटमा अदालतले बुधबार सुनुवाई गर्दै कारण देखाउ आदेश र अल्पकालिन अन्तरिम आदेश दिएर दूबै पक्षलाई बिहिबार बोलाएको थियो । बिहिबार न्यायाधीशद्वय लालबहादुर कुँवर र दीपक खनालको इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।
निवेदकहरुको माग अनुसार अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेसँगै अब शुक्रबार महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन गर्ने बाटो खुलेको छ । निर्वाचन अगाडि शुक्रबार बिहान ९ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका आकांक्षीहरुलाई मनोनय दर्ताको समय पनि सोही दिनलाई तोकिएको छ ।
यसअघि बैशाख २१ र २२ गते महासंघको ६० औँ साधारणसभा तथा निर्वाचन सम्पन्न भइसकेको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष कार्यसमितिले चयन गर्ने प्रावधान छ । वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य, हेमराज ढकाल, भरतराज आचार्य, रामचन्द्र सांघाई र किशोर प्रधान आकांक्षी छन् ।
यस्तै, कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेल, मनिषलाल प्रधान र भक्त हमालको चर्चा भइरहेको छ ।












