नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा र निर्वाचन अब बैशाख २१ र २२ मा हुने पक्का भएको छ । यसअघि विवाद भएपछि चैत २९ र ३० का लागि तय भएको साधारणसभा अदालतको आदेशबाट स्थगित भएको थियो । त्यसपछि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विवाद समाधान गर्दै महासंघको ६० औं वार्षिक साधारणसभा तथा निर्वाचन बैशाख २१ र २२ गतेका लागि तय गरेको हो ।
१८ वटा वस्तुगत संघहरुको सदस्यता विवाद अदालतसम्म पुगेपछि नियमित तालिका अनुसार साधारणसभा हुन सकेन । महासंघको कार्यकारिणी समितिले १८ वटा वस्तुगत संघहरुको सदस्यता कायम राख्ने तर मतदान अधिकार भने नदिने निर्णय गरेपछि विवादको गाँठो फुकेको हो ।
महासंघमा यसपटक निर्वाचनमा दुई प्यानल खडा भएका छन् । अध्यक्ष चन्द्र ढकाल र भावी अध्यक्ष अन्जन श्रेष्ठको समूहबीच घोषित रुपमै प्रतिस्पर्धा देखिएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा भने हालसम्म हेमराज ढकाल बाहेकले उम्मेदवारी घोषणा गरेका छैनन् । वस्तुगत उपाध्यक्षमा शिव प्रसाद घिमिरे अन्जन श्रेष्ठको समूहबाट उम्मेदवार बन्दा ढकाल समूहबाट नरेशलाल श्रेष्ठ उम्मेदवार छन् ।
एसोसियट तर्फको उपाध्यक्षमा अन्जन टिमबाट प्रबलजंग पाण्डे र ढकाल समूहबाट ज्योत्सना श्रेष्ठ उम्मेदवार छन् । जिल्ला नगरतर्फ ढकाल समूहबाट उमेश डालमिया र कल्पना गैह्रे उम्मेदवार बन्दा अन्जन समूहबाट दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उम्मेदवार बनेका छन् ।













