नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वागत तथा बिदाईको लागि ३ जना मात्र आउँनको लागि आग्रह गरेको छ । एक जना यात्रुको लागि दशौँ आफन्तजन स्वागत तथा बिदाइको लागि विमानस्थलमा आउने गरेको र विमानस्थलको हाताभित्रको सीमित स्थानका कारण अत्यधिक भिडभाड हुने गरेको भन्दै विमानस्थलले एक जना यात्रुको लागि बढीमा ३ जना मात्र आफन्तजन आई स्वागत तथा विदाइ गरी अत्यधिक भिडभाड नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेको हो ।
विमानस्थलका अनुसार हाल यस विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेकोले हवाई यात्रुहरूको संख्यामा पनि वृद्धि भइरहेको छ । यस्तो भिडभाडको चापले विमानस्थलमा सुरक्षा चुनौती थमिनुका साथै स्वदेशी तथा विदेशी हवाई यात्रुहरूको आवागमनमा असुविधा भइरहेकोले विमानस्थल व्यवस्थापनमा समेत प्रतिकूल असर परिरहेको छ ।
यस्तो अवस्थामा अत्यधिक भिडभाडलाई निरुत्साहित गर्न आवश्यक देखिएको हुँदा एक जना यात्रुको लागि बढीमा ३ जना मात्र आफन्तजन आई स्वागत तथा विदाइ गरी सहयोग गरिदिन विमानस्थलले आग्रह गरेको हो ।













