शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
सम्झौतामा शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडका अध्यक्ष कविन श्रेष्ठ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी तथा सञ्चालक प्रशान्त तातेडको समेत उपस्थिति रहेको थियो ।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । पूर्वी नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले विराटनगरको धरान रोडस्थित अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल गत ३० अप्रिल २०२६ देखि सञ्चालन गर्दै आएको छ ।
भारतको प्रतिष्ठित Lemon Tree Hotels समूह अन्तर्गतको Carnation Hotels Pvt. Ltd सँगको व्यवस्थापन साझेदारीमा सञ्चालित यो होटल विराटनगरको पहिलो अन्तर्राष्ट्रिय ब्राण्डअन्तर्गत सञ्चालित पाँचतारे होटलको रूपमा स्थापित भएको छ ।
होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमका लागि विश्वस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । आधुनिक सुविधा, अन्तर्राष्ट्रिय सेवा मापदण्ड तथा उत्कृष्ट व्यवस्थापनमार्फत होटलले पूर्वी नेपालको पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधिको विस्तार तथा आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीले भविष्यमा क्यासिनो सञ्चालन गर्ने योजना रहेको समेत जानकारी गराएको छ ।












