सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । नव गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको पहिलो बैठकले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार प्रतिवेदनले सुरक्षा निकायको हकमा गरेका सिफारिस बारे भने अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको छ। सिफारिस गरिएका अन्यको हकमा भने गृह मन्त्रालयमार्फत प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लगिने छ ।
अघिल्लो सरकारले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ गर्न पूर्व न्यायधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। सो आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक भैसकेको छ। प्रतिवेदनले जेन्जी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृह मन्त्री रमेश लेखक, र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई जेल सहितको कारवाही सिफारिस गरिएको छ ।
सुरक्षा निकायको हकमा थप अध्ययन गर्ने निर्णय सरकारले गरेको छ । दोषी ठहर गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृह मन्त्री रमेश लेखकमाथि गरिएका सिफारिस भने तत्काल कार्यान्वयनको लागि अघि बढ्न सक्ने देखिएको छ ।












