Monday, August 24, 2026
spot_img
spot_img

धान दिवसलाई गिज्याइरहेको भन्सारको तथ्याङ्क, ११ महिनामै ३० अर्बको धान चामल आयात

spot_img

असार १५ गते धुमधामले धान दिवस मनाइयो । २३औँ धान दिवसको अवसरमा ड्रोनबाट मल छरियो भने मेशिनले धान रापियो । प्रविधिलाई प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले यसो गरेका हुन् ।

यति मात्रै होइन, धान दिवसकै अवसर पारेर आयोजित रोपाइँ महोत्सवमा यसवर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारा घन्किए । तर, कृषि प्रधान देशले आयात गरेको धान र चामलको परिणामले भने सरकारले नै घोषणा गरेर मनाउन थालिएको धान दिवस र सरकारी निकायहरुले आयोजना गर्ने रोपाइँ महोत्सवलाई गिज्याइरहेको छ ।

१७ अर्बको धान र सवा अर्बको बीउ आयात

चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनासम्म धान र धानको विउ आयातमा अर्बौ रुपैयाँ बाहिरिएिको छ । साउनदेखि जेठ सम्मको तथ्याङ्क अनुसार भारतबाट ४६ करोड ११ लाख ८ हजार ५९९ किलो धान आयात भएको छ । भन्सार विभागका अनुसार उक्त परिणाममा आयात भएको धानको मूल्य १७ अर्ब २३ करोड ७२ लाख २६ हजार रुपैयाँ छ ।

यति मात्रै होइन, धानको बीउ पनि ठूलो मात्रामा आयात हुने गरेको तथ्याङ्कले देखाउँछ । ११ महिनामा चीनबाट ३ लाख २४ हजार ७० किलो धानको बीउ आयात भएको छ । जसको मूल्य १५ करोड ६७ लाख ७२ हजार बराबर रहेको भन्सारको तथ्याङ्क छ ।

यस्तै, भारतबाट सोही अवधिमा २६ लाख ६९ हजार ३०१ किलोग्राम धानको बीउ आयात भएको छ । यसको मूल्य १ अर्ब १४ करोड २५ लाख ३२ हजार बराबर छ । यस्तै, भियतनामबाट १ लाख २१ हजार मूल्य बराबरको १४८ किलो धानको बीउ आयात भएको भन्सारको तथ्याङ्कमा देखिन्छ ।

यी बाहेक अन्य मुलुकहरुबाट पनि सामान्य परिणाममा धानको बीउ आयात भएको छ । ११ महिनामा आयात भएको धानको बीउको कुल मूल्य करिब १ अर्ब २९ करोड ९५ लाख रुपैयाँ बराबर रहेको छ ।

चामल आयातको पनि कहालीलाग्दो तथ्याङ्क

धान र धानको बीउ मात्रै होइन, नेपालले विभिन्न मुलुकबाट तयारी चामल पनि किन्दै आएको छ । नेपालले चीन, भारत, थाइल्याण्ड लगायतका देशबाट बाहिरी बोक्रा निकालिएको (खैरो) चामल आयात गर्दै आएको छ । ११ महिनामा चीनबाट ४ लाख ३७ हजार मूल्य बराबरको ४ हजार ३७३ किलो, भारतबाट ३८ हजार बराबरको ५६४ किलो, थाइल्याण्डबाट ३ लाख ८७ हजार बराबरको २६ हजार १०८ किलो यस्तो चामल आयात भएको छ । इन्डोनेशिया र सिंगापूरबाट पनि यस्तो चामल आयात हुने देखिन्छ ।

यस्तै, चीनबाट ४ हजार ४९० किलो कुटिएको बासमती चामल आयात भएको छ । यसको मूल्य ४ लाख ४९ हजार छ । भातबाट ७ अर्ब ८६ करोड २६ लाख ६९ हजार बराबरको ६ करोड ७६ लाख ६२ हजार ७८६ किलो बासमती चामल आयात भएको छ । कतारबाट पनि केही मात्रामा चामल आयात भएको छ ।

यसैबीच, अन्य चामलको आयातको आँकडाले त झन नेपाल कृषि प्रधान देश हो भन्ने भनाईलाई नै चुनौति दिएको छ । यस अवधिमा चीनबाट ६७ लाख २७ हजार बराबरको ६६ हजार ८१० किलो तयारी चामल आयत भएको छ । भारतबाट ११ अर्ब १ करोड ३ लाख ५५ हजार मूल्य बराबरको १७ करोड ३ लाख ५५ हजार ८७२ किलो अन्य चामल आयात भएको छ ।

इटलीबाट १३ लाख २९ हजार र थाइल्याण्डबाट ४१ लाख २६ हजार बराबरको चामल भित्रिएको छ । एन्डोरा नामक देशबाट समेत केही मात्रामा चामल आयात भएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ । तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मात्रै करिब ११ अर्ब २ करोड २५ लाख बराबरको चामल मात्रै आयात भएको छ ।

उत्पादन बढाउने लक्ष्य तर, प्रयास कमजोर

सरकारले धानको उत्पादन बढाउँदै आत्मनिर्भर बन्ने लिएको छ । १५औँ पञ्चवर्षीय योजनाले योजना समाप्तिसम्म धानको उत्पादकत्व ४.५ मेट्रिक टन प्रतिहेक्टर पु¥याउने लक्ष्य लिएको थियो । योजनाको अन्त्यसम्म करिब ४.३ टन प्रतिहेक्टर मात्र पुग्यो ।

सरकारी तथ्याङ्क अनुसार धानको उत्पादन क्रमशः बढ्दो चाहिँ छ । आर्थिक वर्ष २०७८/०७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन धान फलेको थियो । अर्को वर्ष २०७९/०८० मा धान उत्पादन बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन पुग्यो । २०८०/०८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको देखिन्छ । त्यसपछि आर्थिक वर्ष २०८१/०८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान फलेको सरकारी तथ्याङ्क छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा धानको उत्पादन घटेर करिब ५७ हजार मेट्रिक टनमा सिमित देखिएको छ ।

आगामी आर्थिक वर्षमा झन धानको उत्पादन घट्ने प्रक्षेपण भइरहेको छ । कमजोर मनसुन, मलको अभाव जस्ता कारणहरुले खाद्यान्नको उत्पादन घट्ने विश्वब्यापी अनुमान भइरहेकाले नेपालमा पनि आउँदो वर्ष धानको उत्पादन घट्न सक्ने देखिएको छ । यसले खाद्य सुरक्षामै संकट उत्पन्न गराउन सक्ने विश्वब्यापी चेतावनी आइरहेको छ ।

यसैगरी, धानको उत्पादन बढाउने लक्ष्य लिएपनि त्यस अनुसारको प्रयास नहुँदा उत्पादन र उत्पादकत्व बढ्न नसकेको कृषि विज्ञहरु बताउँछन् । जलवायु परिवर्तन, मलको आपुर्ति समस्या, सीमित सिँचाइ, उन्नत बीउको न्यून प्रयोग र खेतीयोग्य जमिनको खण्डीकरणका कारण उत्पादन कमजोर भइरहेको र यी समस्या समाधानमा सरकारी प्रयास कमजोर देखिएको विज्ञहरुको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुमसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट...

कठोर सरकारी नीतिले पन्चकन्यालाई सास्ती, भत्काउँदै आफैँले बनाएको करोडौंको संरचना

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र दोस्रो उद्योगका रुपमा...
spot_img