आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस । परम्परागत रुपमा असार १५ लाई दहीचिउरा खाने दिन भनिन्छ ।
हिन्दु संस्कृति अनुसार शुभ कार्यमा दही पिउने चलन छ । असार १५ गते दहीचिउरा खाएर रोपाइँ गरेमा धेरै धान फल्ने विश्वास गरिन्छ । यति मात्रै होइन, दहीचिउरा खाएर रोपाइँ गर्दा शरीरमा जाँगरिलोपन बढ्ने, फुर्तिलो हुने, अल्छी नलाग्ने हुन्छ भन्ने विश्वास गरिन्छ ।
दहीमा कार्बोहाइड्रेड, चिनी र बोसोको मात्रा कम हुन्छ । दहीले पाचनशक्ति बढाउँछ । यसकारण दही खानु स्वास्थ्यका लागि हितकर हुन्छ । चिउरामा काब्रोहाइडेट पाइन्छ ।
दहीमा क्याल्सियम, सोडियम, भिटामिन र पोटासियम पाइन्छ । गर्मीयाममा शरीरमा पानीको मात्रा कम हुने भएकाले दही खाँदा शितलता पनि प्राप्त हुन्छ ।
नेपाल डेरी एसोसिएसनका अनुसार आज देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान छ। ७५ लाख लिटर दहीको मूल्य करिब १ अर्ब हाराहारी हुन आउँछ ।
पछिल्लो समय धान दिवसका साथै रोपाइँ महोत्सव मनाउने संस्कृति पनि सुरु भएको छ । यसवर्ष २३औं राष्ट्रिय धान दिवस हो । आज बिहान र बेलुका दहीको खपत बढी हुने एसोसिएसनले जनाएको छ ।












