भन्सार विभागले सबै भन्सार कार्यालयहरुमा Online Valuation Database System लागू गरेको छ । यसअघि वीरगञ्ज भन्सारमा मात्रै लागू भएको यो प्रणाली अब सबै भन्सार कार्यालयहरुमा कार्यान्वयनमा आएको हो ।
भन्सार विभागको आयोजनामा शुक्रबार अर्थमन्त्री मेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा आयोजित दुई दिने ‘भन्सार व्यवस्थापन गोष्ठी’का अवसरमा बाँकी १८ वटै भन्सार कार्यालयहरुमा Online Valuation Database System लागू गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंक पाण्डेले जानकारी दिए । अन्तर्राष्ट्रिय व्यापारको लागत घटाउन तथा व्यापार सहजीकरण गर्न सबै भन्सार कार्यालयहरुमा अनलाइन प्रणाली लागू गरिएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री खनालले लामो समयपछि भन्सारमा GATT Valuation System पूर्ण रूपमा लागु भएको र अब सन्दर्भ मूल्यको सट्टा कारोबार मूल्य (Transaction Value) लाई लागु गरिएको बताए । वस्तुको मूल्य बजारले निर्धारण गर्ने हुँदा प्रक्रियागत सरलीकरणमा जोड दिँदै उनले निजी क्षेत्र (उद्यमी व्यवसायी)ले नक्कली बिल बिजक जारी गर्नुपर्ने बाध्यताको अन्त गर्दै व्यवसायीहरु यो परिवर्तन अनुरुप वास्तविक कारोवार र सहि कागजात मात्र पेश गरी इमान्दार हुनुपर्ने समेत बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले नयाँ प्रणालीको स्वागत गर्दै भन्सार ऐन, २०८२ का कतिपय दण्ड र जरिवानाका प्रावधानहरूमा पुनरावलोकन गर्न, चोरी पैठारी नियन्त्रण गर्न र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउन माग गरेका छन् ।









