नेपाल निर्यात परिषदको आयोजनामा ‘१०औँ निर्यात दिवस’ मनाइने भएको छ । परिषदले आफ्नो २८औं वार्षिक साधारणसभाको अवसर पारेर १०औं निर्यात दिवस मनाउने भएको हो ।
परिषदले शुक्रबार साधारणसभा तथा निर्यात दिवसबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष नरेशलाल श्रेष्ठले पौष २० र २१ गते छाँया सेन्टरमा निर्यात दिवस मनाइने बताएका हुन् । दिवसका अवसरमा आयोजना गरिने प्रदर्शनीमा नेपालमा उत्पादित हस्तकला, कृषि लगायतका सामाग्रीहरु राखिनेछ । यो दिवसबाट नेपाली उत्पादनहरुको अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारका लागि योगदान पुग्ने विश्वास लिइएको छ ।
नेपालबाट हाल विदेशमा सूर्यमुखी तेल, फलाम, गलैँचा, तयारी पोशाक, जुटका सामग्री, जुस, अलैँची, चिया, उनी फेल्ट, पश्मिना, चाउचाउ, सिमेन्ट, सोयाविन तेल, पाम तेल, छुर्पी, नेपाली कागज, हस्तकला सामग्री, कफीलगायत सामान निर्यात हुँदै आएको र अब भविष्यमा नयाँ नयाँ वस्तुहरु पहिचान गर्नुपर्ने आवश्यकता रहेको बताए ।
अध्यक्ष श्रेष्ठले निर्यात पूर्वाधारको अभाव, उत्पादन लागत उच्च र उच्च ढुवानी लागत कोल्डस्टोरको अभाव, राजनीतिक अस्थिरता र निर्यात प्रवद्र्धनमा सरकारी सहजीकरणमा कमीका कारण नेपालबाट अपेक्षाकृत निर्यात हुन नसकिरहेको बताए । उनले भविष्यमा सरकारले निर्यात प्रोत्साहनका नीतिहरु अख्तियारी गर्नुपर्ने आवश्यकता पनि औल्याए ।









