राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । अदालतको आदेश बमोजिम आवश्यक प्रक्रिया पुरा गरेर उनी आज शुक्रबार साँझ रिहा भएका हुन् ।
उच्च अदालत बुटवलले बिहिबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोहि बमोजिम आवश्यक प्रक्रिया पुरा गर्न काठमाडौँ स्थित नक्खु कारागारमा रहेका उनी आज शुक्रबार भैरहवा पुगेका थिए। उनी काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे रुपन्देही पुगेका थिए ।
उनलाई सुरुमा रुपन्देही कारागार मै राखिएको थियो । सोहि अनुसार रिहा हुनको लागि आवश्यक कागजी प्रक्रिया पुरा गर्न उनलाई रुपन्देही नै जानु परेको हो।
बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् । रूपन्देही जिल्ला अदालतले उच्च अदालतको आदेशअनुसार केही शर्त र बैंक जमानतको कागज गरेर लामिछानेलाई रिहा गरिएको जनाएको छ ।









