नेपाली कांग्रेसले आगामी पुस मै नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २६ देखि २८ सम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पार्टी भित्रको एउटा समूहले विशेष महाधिवेशन माग गरेपनि केन्द्रीय कार्यसमितिको बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो ।
कार्यतालिका अनुसार मङ्सिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने उल्लेख छ। त्यस्तै जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म तोकिएको छ । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने भनिएको छ ।
क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते तोकिएको छ । नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था गर्ने भनिएको छ ।
त्यस्तै विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ गते, गाउँ नगर र वडा अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते तथा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते तोकिएको छ। प्रदेश अधिवेशन २३ र २४ गते गर्ने र महाधिवेशन पुस २६, २७ र २८ गते गर्ने कार्यतालिका छ ।
हालका सभापति शेर बहादुर देउवाले १५ औ महाधिवेशनपछि आफु नेतृत्वमा नरहने प्रष्ट पारिसकेका छन् ।









