सरकारले ३ दिनसम्म काठमाडौँ उपत्यका भित्रिन र बाहिरिन रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने / बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको हो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यही असोज १८ – २० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षा हुनसक्ने संभावना रहेको छ ।
उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणले अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरु रेडियो, टेलीभिजन, अनलाइन संचार माध्यम, सामाजिक संजाल लगायतबाट प्राप्त गर्न समेत सूचित गरेको छ।









