जेन जी पुस्ताको आन्दोलनमा नरसंहार मच्चाएका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली अहिले विस्थापित भएका छन् । एमाले अध्यक्षसमेत रहेका ओली अहिले काठमाडौंको शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा बसेका छन् ।
मंगलबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनलाई सेनाले तत्कालै हेलिकोप्टरबाट शिवपुरी लगेको सुरक्षा स्रोतले बताएको छ । उनलाई आफ्नो निवासबाट विस्थापित भएपछि सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि शिवपुरीमै राखिएका छन् । हालै मात्रै विज्ञप्ति जारी गरेका उनले राजनीतिक दलसँग अनौपचारिक संवादसमेत सुरु गरेका छन् ।
पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि शिवपुरीमै छन् । ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका कांग्रेस नेता प्रकाशमान सिंह, एमाले उपाध्यक्ष विष्णु पौडेल पनि शिवपुरीमै रहेको सेना स्रोतले जानकारी दिएको छ ।
पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले भने निवास बुढानिलकण्ठमै कुटाइ खाएका थिए । उनीहरुको अहिले उपचार भइरहेको र स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।
ओली नेतृत्वको सरकारका मन्त्री र पूर्वमन्त्रीहरूलाई सेनाले भने महाराजगन्जस्थित भैरवनाथ गणमा राखेको छ ।









